खोजखबर

उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

सौर्य अनलाइन २०७६ फागुन २ गते १५:०९ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारको क्रममा आज निधन भएको थियो ।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पुर्याएको बताएका छन् ।

विसं २०२६ मा जन्मिनएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै आएका थिए । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनि उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । कांग्रेसको बाह्रौँ र तेह्रौँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए । विसं २०७४ मा उनि कांग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया