देउता रिसाउनुभन्दा सरकार रिसाएकै निको

यो प्रथा हाम्रो राष्ट्रपति निवासदेखि मन्त्री निवाससम्म छ । खस आर्यजातीका ९० प्रतिशत महिला सांसदहरूले अझै पनि छाउपडी प्रथालाई निरन्तरता दिइरहेका छन् । अर्थात ताप्लेजुङदेखि कन्चनपुरसम्म र दार्चुलादेखि झापासम्म नै महिनावारी हुँदा बार्ने प्रचलन छ 

नेपालको खस समुदायमा एउटा संस्कारले वषौंदेखि जारा गाडेको छ । त्यो संस्कार हो महिनावारी (रजस्वला ) बार्ने । महिनाबारीलाई भौगोलिक क्षेत्र अनुसार कहीँ नछुनी हुनु भनिन्छ , कहीँ छाउ हुनु भनिन्छ , कहिँ पन्छिुनु भनिन्छ । महीनावारी हुँदा आफूभन्दा मान्यजनलाई छुन हुन्न । मानिस तथा गाई गोरूले प्रयोग गर्ने पानी छुन हुन्न । खाना पकाउन हुन्न । राती सुत्दा सिरक डसना प्रयोग गर्न हुन्न । खाटमा सुत्न मिल्दैन । यतिसम्मकी गाई गोरूलगायत केही जनावरलाई पनि छुनहुन्न । कुनै पनि पूजाआजामा सामेल हुने, मठ मन्दिरमा जाने त कुरै भएन । जनावरलाई मात्रै होइन फुल खेलेका र फल लागेका रूख–बिरूवालाई पनि छुन हुन्न ।

यसरी छोइयो भने महापाप लाग्छ भनिन्छ । अञ्जानबस् छोइएको हुन सक्ने भएकोले त्यसको पापमोचनका लाग वर्षमा एकपटक तिजको वेला पूजा गर्ने प्रचलन छ । तिजको पर्सीपल्ट पर्ने ऋषिपञ्चमीको दिन यो पूजा गरिन्छ । यो पूजामा सर्वसाधरण महिला त सामेल हुन्छन नै मुलुकको निर्णायक तथा नीति निर्माण एवं कार्यान्वयन तहको जिम्मेवारीमा रहेका खस आर्यजातीका प्राय सबै महिलाहरू सामेल हुने गरेका छन् ।

कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट छाउपडीका समाचार धेरै आउने गर्छन् तर यो प्रथा हाम्रो राष्ट्रपति निवासदेखि मन्त्री निबास सम्म छ । खस आर्यजातीका ९० प्रतिशत महिला सांसदहरूले अझै पनि छाउपडी प्रथालाई निरन्तरता दिइरहेका छन् । अर्थात ताप्लेजुङदेखि कन्चनपुर सम्म र दार्चुलादेखि झापासम्म नै महिनावारी हुँदा वार्ने प्रचलन छ ।

शिक्षा तथा चेतनाको पहुँच विस्तारसँगै महिनावारी वार्ने प्रचलनमा भने धेरै नै खुकुलो हुँदै गएको छ । खासगरी सहरी क्षेत्र तथा पुर्वी नेपालमा यस्तो कट्टरतामा क्रमशः कमी हुँदै आएको छ । तर, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाको समाज माहिनावारी बार्ने मामिलामा अहिले पनि १८औँ शताब्दीमै छ ।

शिक्षा तथा चेतनाको विकास जति अघि बढे पनि बालमस्तिस्कमा परेको छाप मेटिँदो रहेनछ । पाप लाग्छ कि भन्ने डार कता कता हुँदो हरेछ । किसोरीहरूको १२ –१३ वर्षको उमेरदेखि महिनावारी सुरू हुन्छ । पहिलो पटक महिनावारी हुँदा घरको धुरीसमेत हेर्न हुन्न भन्दै अर्कै गाउँमा लगेर १५ दिनसम्म कोठामा थुनेर राखिन्छ । छोरामान्छेको अनुहार समेत देख्न हुन्न भनेर लुकाइन्छ । त्यसपछि तिजको पञ्चमीको दिन पूजा तथा व्रत बस्न लगाइन्छ । त्यो पूजाको वेला पण्डितले महिनावारी हुँदा अञ्जानवस बारिएनछ भने पनि महापाप लाग्ने भन्दै उदाहरणका रूपमा एउटा कथा सुनाउँछन् ।

त्यो कथा यस्तो छ –‘धेरै पहिले एउटा गाउँमा किसानका श्रीमान् श्रीमती थिए । एक दिन श्रीमान् खेतमा काम गर्न गएका थिए । श्रीमतीले दिउँसो श्रीमान्का लागि खाजा बनाएर खेत तिर गइन । बीचबाटोमा पुग्दा उनलाई महिनावारी भएको महसुस भयो । यतिकै फर्कँदा श्रीमान् भोकै हुन्छन् भन्ने पीरले उनले खाजा लगेर खान दिइन् । फर्केर घरमा आएपछि मात्रै महिनावारी बारिन । केही वर्षपछि दुवैको निधन भयो ।

महिनावारी हुँदा लापरवाही गरेका कारण श्रीमतीले आफ्नै घरमा कुकुर्नीका रूपमा पुनर्जन्म लिइन् । महिनावारी भएकी श्रीमतीले छोएको खानेकुरा खाएका कारण श्रीमानले आफ्नै घरमा गोरूका रूपमा पुनर्जन्म लिए । एक दिन छोरा बुहारी उनीहरूको श्राद्ध गर्दै थिए । कुकुर्नीको रूपमा जन्मेकी श्रीमती दैलो ठेलामा बसेर भन्छामा खाना पकाएको हेरिरहेकी थिइन । बुहारी पिसाब गर्न बाहिर निस्किइन् । यही वेला एउटा कालो सर्प आएर खानेकुरामा विष झारेर निश्क्यो ।

यो घटना ती कुकुर्नीले बाहेक अरूले देखेका थिएनन् । उनलाई बढो फसाद प¥यो । अब यही खाना मेरा छोरा छोरी र नाती नातिनाले खान्छन्, अनि उनीहरू विष लागेर मर्छन्, के गर्ने होला ? भन्दै उनलाई बडो छटपटी भयो । बोलौँ कुकुरको भाषा कसैले बुझ्दैन, केही नगरौं सबै कुरा चौपट हुनेवाला छ । त्यस पछि कुकुर्नीको जुनी पाएकी उनले भन्छामा गएर खाना छोइदिने निधो गरिन् ।

डराई–डराई लुसक्क गएर खाना छोइदिइन् । श्राद्धको भोजका लागि पकाएको खाना कुकुर्नीले छोइदिएपछि घरमा खैला बैला मच्चियो । आफ्नै छोरा–बुहारीले कुकुर्नीलाई अगुल्टोले भकुरेर ढाड नै भाँचिदिए । कुँइ कुँइ गर्दै उनी गोठमा पुगेर गोरूको रूपमा पुनर्जन्म पाएका आफ्ना श्रीमान् सँग बिलौना गर्दै सबै घटना सुनाइन् । गोरू रूपी श्रीमान्ले पनि आँसु झार्दै भने–‘ के गर्नु बुढी आज मेरै तिथी हो, मलाई नै दिनभरि भोकै जोताए ।’

श्रीमतीले पनि पश्चाताप गर्दै भनिन् के गर्नु बुढा, त्यतिवेला मेरो थोरै लापरवाहीले हजुर गोरू र म कुकुर्नी भएर पुनर्जन्म लिनुप¥यो, त्यतिले पनि नपुगेर यति विधि दुख पाइयो ।’ त्यो परिवारमा एक सानी नातीनीले पशुवाक्य बुझ्दी रहिछन् । गोरू र कुकुर्नीबीचको यो संवाद उनले भोलिपल्ट आफ्ना बाबा– आमालाई सुनाइन् । उनीहरू झल्याँस्स भए ।

महिनावारी बार्न सामान्य लापरवाही गर्दा त अर्कोे जन्ममा यस्तो हविगत हुँदो रहेछ भने जानी जानी नबार्दा कस्तो होला ? भनेर ठूला ठूला पण्डितहरूसँग सोध्न गए । बाल्यकालदेखि नै यस्ता कथा सुनेर हुर्केको पुस्ता हाम्रो समाजमा छ । कलिलो दिमागमा रहेको यो छाप कानुनका दफा तथा धारामा सजाँयाको व्यवस्था गर्दैमा हट्नेवाला पटक्कै छैन । कानुनद्वारा सजायको व्यवस्था गर्नु नराम्रो होइन, तर यतिले मात्रै पुग्दैन ।

यात्रामा निस्कँदा बिरोलोले बाटो काट्यो भने साइत पर्दैन भनेर फर्कने संस्कारमा रहेका हामीहरू महिनावारी बार्ने संस्कारलाई एक्कासी बहिस्कार गर्न सक्छौँ जस्तो लाग्दैन । टाढा नजाउँ, छाउगोठमा राखिएका महिलाको मृत्यु भएका घटना धेरै बाहिर आउन थालेपछि गत महिनादेखि कणाली र सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा छाउगोठ भत्काउने अभियान सरकारले सुरु ग¥यो । प्रहरी तथा सामाजिक अगुवाहरू मिलेले हजारौँ छाउगोठ भत्काइदिएको समाचार पनि आयो । यो समाचारले धेरैलाई सुखद अनुभव गरायो ।

राजधानी काठमाडौंबाटै मिडियाकर्मीहरू भत्काएका छाउगोठको फोटो खिच्न र समाचार बनाउन स्थलगत भ्रमणमा निश्के । तर, त्यहाँको वास्तविकता अर्कै थियो । केही महिलाहरू भत्काइएका छाउगोठ पुननिर्माणमा जुटिरहेका थिए भने केही महिलाहरू भत्केकै छाउगोठमा बसेर महिनावारी वार्दै थिए । उनीहरूको भनाई थियो–‘ देउता रिसाउनुभन्दा सरकार रिसाएकै निको ।’

छाउगोठ भत्काउन सकिए पनि मानसिकता भत्काउन सकिँदो रहेनछ । छाउगोठ नभए पछि खुला आकास मुनी नै बस्न थालेको देखियो । झन् असुरक्षित भए महिलाहरू । काठमाडौंकै महिलाहरूले त बारिरहेका छन् भने उनीहरूले नबार्ने कुरै छैन । अधिकांश गरिव छन् । घरमा एउटा वा दुई वटाभन्दा बढी कोठा छैनन् । कहाँ खाना पकाउने ? कहाँ सुत्ने ? त्यसैले यो समस्या समाधानका लागि सरकारले विकल्प खोज्नुपर्छ ।

पहिलो चरणमा हरेक गाउँमा बीचभागमा पर्ने गरी धेरै कोठा भएको सामुदायिक भवन बनाउनुपर्छ । ता कि महिनावारी बार्ने महिलाहरू त्यहीँ बसुन् । दोस्रो चरणमा हरेक घरमा छुट्टै कोठा निर्माणका लागि सरकारले अनुदान दिनु पर्छ, ताकी ती कोठा केही वर्ष पछि होमस्टे सञ्चालन गर्न प्रयोगमा आउन् ।

तेस्रो चरणमा जानेबुझेका केही पण्डितहरूलाई तालिम तथा पारिश्रमिक दिई महिनावारी भएको वेला बार्नु अधर्म हो भन्ने चेतना जनस्तरसम्म पु¥याउनुपर्छ । चौथो चरणमा छाउपडी बार्ने घरका सदस्यहरूलाई सामाजिक सुरक्षा भत्तालगायत राज्यको सुविधा कटौती गर्ने कानुन बनाउनु पर्छ । यस्तो घरपरिवारका सदस्यलाई चुनावमा उम्मेद्वार हुनसमेत अयोग्य घोषणा गर्नुपर्छ । पाँचौँ चरणमा खोजीखोजी जेल हाल्नुपर्छ ।

प्रतिक्रिया