युएईका युवराजद्धारा विभिन्न देशका नेताहरुसँग कुराकानी

अबुदाबी । संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गरेका छन् ।  उनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गरेका हुन् । भ्रमणको लागि आएका विडोडोलाई स्वागत गर्दै उनले विभिन्न विषयमा कुराकानी गरेको अधिकारीहरुले जनाएका छन् ।

‘आज मैले इन्डोनेसियाका राष्ट्रपति तथा मेरा साथी जोको विडोडोलाई स्वागत गर्दै दुई पक्षीय कुराकानी गरेका छौँ,’ युवराज शेख मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । उनले साझा चासो र दुई पक्षीय हितको बारेमा पनि कुराकानी गरेको सामाजिक सञ्जालमार्फत् नै जानकारी दिएका छन् । विषेशगरेर अर्थतन्त्र, लगानी, व्यापार र विकासका क्षेत्रका साथै दुई देशको मित्रतालाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको उनले बताएका छन् ।

त्यसैगरी उनले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग पनि आइतबार नै कुराकानी गरेका छन् । फ्रान्सका राष्ट्रपतिसँग भने उनले टेलिफोनमा कुराकानी गर्नुरेका हुन् । ‘मैले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग फोनमा कुराकानी गरेको छु, मलाई उहाँले फोन गर्नुभएको थियो,’ उनको आधिकारिक ट्वीटर हेन्डलमा लेखिएको छ । उनले फ्रान्सका राष्ट्रपतिसँग पनि सहकार्यमा जोड दिँदै आपसी सहयोग र सम्वन्ध विस्तारकै बारेमा कुराकानी भएको बताए ।

साथै महत्वपूर्ण क्षेत्रीय विषय, अन्तर्राष्ट्रिय विकासलगायतका विषयमा पनि आफूहरुले छलफल गरेको युएईका युवराजले उल्लेख गरेका छन् । ‘हामीले हाम्रा साझा चासो र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा र स्थायित्वका बारेमा कुराकानी गरेका छौँ,’ युएईको सुरक्षा निकायको सर्वोच्च उपकमाण्डर समेत रहेका शेख मोहम्मदले ट्वीटरमा लेखेका छन् । उनले यसअघि गत शनिबार नै रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग पनि विविध विषयमा छलफल गरेका थिए । उनीहरुको बीचमा पनि विकसित पछिल्लो घटनाक्रम, दुई पक्षीय सम्वन्ध र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा तथा चासोका विषयमा कुराकानी भएको हो ।

प्रतिक्रिया