रुघाखोकीले गाउँ नै थला

हुम्ला । हुम्लामा हिउँदको महिना सुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको संख्या बढेका छन् । गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको संख्या झन बढ्दै गएको छ ।

सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको संख्या बढेको छ । करिब ५ सय घरधुरी रहेको सो गाउँमा यतिबेला रुघाखोकीका बिरामीले गाउँ नै थला परेको छ । जिल्लाकै बढी जनसंख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन् । रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेव नर भण्डारीले जानकारी दिए ।

स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए । उनले भने, ‘रुघाखोकी सरुवा रोग हो, ठेहेमा घरहरू एकापसमा जोडिएर बनेकाले एकजनालाई लागेको रोग गाउँमै फैलिएको छ ।’ अहिले स्वास्थ्यचौकीमा बिरामीको चाप बढी भएकाले जिल्ला अस्पताल सिमकोटबाट ल्याइएको औषधि विरतण गरिएको भण्डारीले जानकारी दिए ।

‘स्वास्थ्यचौकीमा अहिले औषधि थोरै छ, बिरामीको चाप बढ्दै जाँदा औषधि पनि अभाव हुने देखिएको छ’, उनले भने । ठेहे स्वास्थ्यचौकीमा अहिले एक जना अहेब र कार्यालय सहयोगी मात्रै रहेको भण्डारीले जानकारी दिए । दैनिक ४५ देखि ५० जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको उनले बताए । यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ ।

रुघाखोकीका बिरामीले अस्पतालका शै्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिए । उहाँका अनुसार मौसमी रुघाखोकीले बिरामीको संख्या बढ्दै गएको छ । जिल्लाका तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ ।

प्रतिक्रिया