भरतपुर । चितवनमा पुनर्निर्माणको काम हालसम्म ६८ प्रतिशत पूरा भएको छ । कूल लाभग्राही ७ हजार ४ सय ६० घरधुरीमध्ये चार हजार पाँच सय ९५ ले तेस्रो किस्ताको रकम बुझेको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले जानकारी दिएको छ । कार्यालयका अनुसार अझै ६ सय ७३ को सम्झौता हुनसकेको छैन ।
यस वर्ष जिल्लामा सात सय ४५ घरको पुनर्निर्माण जारी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका इञ्जिनियर सुजन नेपालले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता ६ हजार सात सय ८४, दोस्रो किस्ता पाँच हजार पाँच सय ४० र तेस्रो किस्तावापत चार हजार पाँच सय ९५ घरधुरीले रकम बुझिसकेका छन् ।
भरतपुर महानगरपालिका चार सय २९, रत्ननगर नगरपालिकामा चार सय ५५, खैरहनी नगरपालिकामा तीन सय ८३, राप्ती नगरपालिकामा एक हजार ५०, कालिका नगरपालिकामा चार सय ९४, माडी नगरपालिकामा २२ र इच्छाकामना गाउँपालिकामा एक हजार सात सय ६२ घर निर्माण सम्पन्न भएका छन् । भूकम्पले सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा प्रभावित पारेको थियो । त्यहाँ दुई हजार चार सय ६४ घर भत्किएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
लाभग्राहीलाई तेस्रो किस्तावपत रकम लिइसक्नुपर्ने समयसीमा वि.सं २०७७ असार मसान्तसम्म तोकिएको छ । तर, बस्ती स्तान्तरण, सडक, दक्ष डकर्मीको अभाव र ऐलानी जग्गाका कारण पुनर्निर्माणको काममा केही अवरोध भएको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार, जिल्लामा एक सय एक बस्ती असुरक्षित रहेका छन् । त्यसमध्ये ६२ घरधुरीलाई सुरक्षित बस्तीका लागि जग्गा उपलब्ध गराइएको छ ।
पहिचान भएका एक हजार एक सय ९८ भूमिहीन लाभग्राहीमध्ये ऐलानी जग्गामा बसोबास गर्ने एक हजार एक सय १० लाई सोही स्थानमा घर बनाउने अनुमति दिइएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । जग्गा व्यस्थापन गर्न बाँकी आठ लाभग्राहीलाई अन्यन्त्र घडेरी किन्न प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
पुनःनिर्माण कार्यालयले सांस्कृतिक सम्पदामा क्षति पु¥याएका ३० सम्पदाको पुनर्निर्माण गरेको छ । ५३ क्षतिमध्ये ३० सम्पदाको काम सम्पन्न गरेको हो । अहिले एक सम्पदाको पुनर्निर्माण भइरहेको छ । २२ वटा निर्माण गर्न बाँकी रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिए । ५५ गुम्बाको पुनर्निर्माण गर्ने भनिए पनि अहिलेसम्म सम्झौता हुनसकेको छैन ।
भूकम्पले भत्किएका खुरखुरे–समिटारे–ठकुरीभञ्ज्याङ सडक र बकुलर–जुटपानी–सिद्धी सडकको ३३ किलोमिटर पुनर्निर्माण भइरहेको छ । त्यसअन्तर्गत खुरखुरेबाट ठकुरी भञ्ज्याङ सडकको ९८ प्रतिशत र बकुलरबाट सिद्धिसम्मको ६३ काम भएको जनाइएको छ ।
क्षति भएका १० स्वास्थयचौकीमध्ये एउटा मात्र पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन)का इञ्जिनियर सुभाष न्यौपानेले जानकारी दिए । उनका अनुसार छ भवनको पुनर्निर्माण जारी छ भने पुनर्निर्माण हुन ३ वटा बाँकी छ । पुनर्निर्माण भइरहेकामध्ये स्वास्थ्यचौकी भवन निर्माणका काम ५० प्रतिशत पुगेको छ ।
चार वर्षको अवधिमा ५२ विद्यालयको पुनर्निर्माण भएको छ । तीन सय २० विद्यालय पुनर्निर्माण गर्नुपर्ने छ । त्यसमध्ये एक हजार दुई सय ८० कक्षाकोठा निर्माण गर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वन एकाइ (शिक्षा)का इञ्जिनियर सरोज श्रेष्ठले जानकारी दिए । अहिलेसम्म १६१ कक्षाकोठा मात्र सम्पन्न भएको उनले बताए ।
प्रतिक्रिया