बर्थिङ सेन्टर सञ्चालन

काभ्रे । पनौती नगरपालिकाले वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ । नगरप्रमुख भीम न्यौपानेले बर्थिङ सेन्टर र अहिले सञ्चालनमा ल्याएको ल्याब राम्रोसँग सञ्चालन गर्न निर्देशन दिए । पनौतीको मुख्य बजारमा बढ्दो जनसंख्याको चापलाई ध्यानमा राखेर बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

अहिले पनौतीमा नै अस्पातल निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट ६५ लाख रुपैयाँ रकमसमेत आएको र उक्त रकमले छिट्टै भवन निर्माण हुने प्रमुख न्यौपानेले बताए । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बार्थिङ सेन्टर र ल्याबबाट दिने सबै सेवाहरू निरन्तर दिन आग्रह गर्दै केन्द्र सञ्चालनको क्रममा हुने अवरोध तथा अप्ठ्यारो कार्यमा सबैको साथ÷सहयोग निरन्तर प्रदान गर्नका लागि आग्रह गरे ।

बर्थिङ सेन्टरमा पहिलोपटक बच्चा जन्माउने महिलालाई वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पाँच हजार पाँच सय ५५ नगद दिने घोषणा गरेका छन् । बर्थिङ सेन्टर र प्रयोगशालाका लागि आवश्यक जनशक्ति नगरपालिकाले उपलब्ध गर्ने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।

पूर्वाधार भएको र जनघनत्व बढी भएकाले सो ठाउँमा बर्थिङ सेन्टरको स्थापनासँगै ल्याबमा जोड दिएको उनले बताए । वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापनाले नगर क्षेत्रका महिला थप लाभान्वित हुने बताए । बर्थिङ सेन्टर र प्रयोगशालामा एएनसी प्याकेजअन्तर्गत विभिन्न १८ प्रकारका खकार, रगत र पिसाब परीक्षण गरिने ल्याब प्रमुख दिपेश घिमिरेले जानकारी दिए ।

सो केन्द्रमा हेल्थ असिस्टेन्ट, अहेव, अनमी, ल्याब असिस्टेन्ट गरी नौ स्वास्थ्यकर्मी रहेका जनाइएको छ । अस्पताल भवन निर्माण हुँदै गाउँमा अस्पताल स्थापनाका लागि आवश्यक संरचना निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । चौरीदेउराली गाउँपालिका–५ भालचौरमा १५ शै्ययाको अस्पताल निर्माणका लागि प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माण कार्य सुरु गरिएको हो । साविक धुसेनी शिवालय स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शै्ययाको अस्पताल बन्ने भएको हो ।

त्यसका लागि आवश्यक पर्ने १६ रोपनी जग्गा एक वर्ष अगाडि नै व्यवस्थापन गरिसकिएको र स्वास्थ्य चौकीको नाममा पहिला नै भएको पाँच रोपनी गरी २१ रोपनी जग्गामा सो भवन निर्माण भइरहेको छ ।

धुलिखेल निर्माण सेवाले सो भवन निर्माणको जिम्मा पाएको काम तीव्र गतिमा भइरहेको निर्माण व्यवसायी उद्धव गौतमले बताए । चौरीदेउराली गाउँपालिकाका प्राविधिक कृष्ण भण्डारीले अहिले पहिलो टाइपिङको काम भइरहेको बताए । उनका अनुसार चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको सो भवन अहिलेका लागि एक तलाको बन्नेछ । सो वडाका वडाध्यक्ष राजकुमार गौतमले शिलान्यासलगत्तै निर्माणको काम निरन्तर अगाडि बढिरहेको बताए । अस्पतालका लागि चिकित्सक नियुक्तिको प्रक्रियासमेत अगाडि बढिरहेको जनाएको छ ।

गत कात्तिक २५ गते प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरेको सो भवन अहिले पिलर उठाएर टाइपिङको काम भइरहेको छ । अस्पताल बनेपछि सो गाउँपालिकालगायत आसपास रहेका भुम्लु गाउँपालिका, रामेछाप र दोलखाका बासिन्दालाई समेत सेवा पुग्ने जनाइएको छ ।

प्रतिक्रिया