ज्येष्ठ दलित नागरिकलाई स्वास्थ्य बिमा गर्दै पालिका

इलाम । इलाम नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ दलित नागरिकलाई स्वास्थ्य बिमा गरिदिने भएको छ ।

शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले आगामी १ पुसदेखि लागू गरी पारिवारिक स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको हो । नगर क्षेत्रका ६० देखि ७० वर्षका ज्येष्ठ दलितहरूलाई स्वास्थ्य बिमा गरिदिने निर्णय भएको इलाम नगरपालिकाका प्रवक्ता ठाकुरानारायण श्रेष्ठले जानकारी दिए ।

नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । नगरपालिकाले कार्यविधि बिदा व्यवस्थित गर्ने कार्यविधि स्वीकृत गरी बढीमा ६ दिन स्थानीय सार्वजनिक बिदा दिने भएको छ । ‘इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत गरी बिदा दिने निर्णय गरेको हो । कार्यविधिमा नगरप्रमुख तथा उपप्रमुख पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिका अन्तर्गतका कार्यालयहरू तथा शैक्षिक संस्थाहरू एक दिन शोक बिदा दिइने उल्लेख छ ।

वडाध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यको पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालय वडामा रहेको शैक्षिक संस्थाहरूमा एक दिन शोक बिदा दिने भएको छ । तर, बहालवाला पदाधिकारीहरूको स्वभाविक मृत्यु भएमा मात्र उक्त शोक बिदा दिने व्यवस्था रहेको छ ।

त्यस्तै संघीय तथा प्रदेश सरकारले घोषणा गरेको बिदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा १ वर्षमा ६ दिनभन्दा नबढार्ई कार्यपालिकाबाट निर्णय गरी बिदा दिने कार्यविधिमा उल्लेख छ । बैठकले आगामी २ पुसमा इलाम नगरपालिका १० गोदकस्थित लेप्चा जातिको बसोवास रहेको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । बैठकले आगामी ६ देखि १७ पुससम्म जनताको घरदैलोमा पुगेर जनताका गुनासो संकलन गर्न ‘जनतासँग मेयर कार्यक्रम’ इलामका १२ वटै वडामा सञ्चालन गर्ने भएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ६१ बुँदे सुझावमा यसअघि पनि प्रचलित कानुनसम्मत ढंगबाटै काम भइरहेको र आगामी दिनमा समेत कानुनसम्मत ढंगबाटै कार्यहरू सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुझावहरूलाई कार्यान्वयन पक्षमा दृढताका साथ लागू गर्ने निर्णय गरेको छ । त्यस्तै भ्रमण वर्ष २०२० का क्रियाकलापहरू प्रवद्र्धन र आवश्यक प्रचारप्रसारका लागि इलाम नगरपालिकामा नगरप्रमुख महेश बस्नेतको संयोजकत्वमा समितिको गठन गरेको छ ।

समितिकिा सदस्यमा नगरउपमुख सुशीला नेम्वाङ, सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्य, राष्ट्रिय मान्यताप्राप्त दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, गैसस महासंघका अध्यक्ष, होटल व्यवसायी संघका अध्यक्ष, पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष, मेची पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष, पर्यटन प्रवद्र्धन समिति इलाम नगरपालिकाका अध्यक्ष, नगर आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, यातायात व्यवसायीहरुको तर्पmबाट गृष्म सुब्बा र सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

प्रतिक्रिया