मोबाइल स्वास्थ्य कार्यक्रम सुरु

स्याङ्जा । गर्भवती महिलालाई घरदैलोमा स्वास्थ्यको पहुँच पु¥याउने उद्देश्यले मोबाइल स्वास्थ्य कार्यक्रम फेदीखोला गाउँपालिकाले सुरु गरेको छ ।

पालिकाभित्र रहेका स्वयंसेवीकामार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको मेडिक मोबाइलका प्रोजेक्ट म्यानेजर दुशला अधिकारीले जानकारी दिइन् । अधिकारीले भनिन्, ‘गर्भवती महिलाले समय समयमा चेकजाँच गर्न नजाने समस्या अधिकाशं महिलाहरूमा छ । यो कार्यक्रम लागू भएपछि स्वयंसेविकामार्फत स्वास्थ्य संस्था जाने र सुरक्षित शिशु जन्माउने आमाको संख्यामा वृद्धी भएको छ ।’

गाउँपालिकाको आर्थिक सहयोग र मेडिक मोबाइलको प्राविधिक सहयोगमा सञ्चालन गरिने यो कार्यक्रममा कुनै पनि महिला गर्भवती भएपश्चात सुत्केरी पछिको स्वास्थ्य जाँच गर्ने समयको बारेमा मोबाइल सन्देशमार्फत जानकारी गराइनेछ ।

मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकावासीलाई प्रविधिसँग जोड्दै स्वास्थ्य अवस्था पहिचान गर्ने बताए । जिल्लामै पहिलोपटक फेदिखोला गाउँपालिकाले यो कार्यक्रम सुरु गरेको हो । ६० वर्ष माथिका ७ सय ५७ वृद्धवृद्धालाई घरमै स्वास्थ्यको सेवा प्रदान गर्दै आएको छ । प्रविधिको प्रयोग गर्दै स्वस्थकर समाज निर्माण गर्ने पालिकाले यस्ता कार्यक्रमको प्रोत्साहन गर्ने सुवेदीले बताए ।

फेदीखोला गाउँपालिकाभित्र ३६ जना स्वयंसेविकामार्फत मोबाइल स्वास्थ्य कार्यक्रम लागू गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खिलप्रसाद पौडेलले जानकारी दिए । ०६९ सालमा बाग्लुङको चार वटा स्वास्थ्य संस्थाबाट सुरु गरिएको यो कार्यक्रम हाल स्याङ्जासहित १५ जिल्लामा लागू गरिएको छ । उक्त कार्यक्रममा स्वयंसेविका र स्वास्थ्य संस्थालाई मोबाइल सेट र सिमकार्ड प्रदान गरिएको थियो । सोही सिममार्फत गर्भवती महिलाले नियमित चेकजाँच गर्ने सन्देशहरू आदानप्रदान गरिनेछ ।

सामाजिक विकाश समिति संयोजक ज्ञानुमाया पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको सञ्चालन विष्णु ब. खड्काले गरेका थिए भने स्वास्थ्य शाखाप्रमुख खिलप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । गर्भवती महिलालाई स्वचालित सूचना प्रेषण गर्दै समयमा उपचार गर्न सचेत बनाउने माध्यम अन्तर्गतको मोबाइल स्वास्थ्य कार्यक्रम स्याङ्जामा सुरु भएको छ ।

प्रतिक्रिया