पेप्सीकोलामा आन्तरिक टर्मिनल !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन पेप्सीकोला पट्टी सार्ने तयारी सुरु भएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको सो विमानस्थलको चापलाई कम गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ प्रस्ताव तयार पारेको हो ।

सन् २००९ बाट सुरु भएको आयोजना अहिलेसम्म पूरा नभएपछि मन्त्रालयले आयोजनाको डिजाइन नै परिवर्तन गर्ने प्रस्तावअघि बढाइएको हो । प्रस्तावअनुसार आन्तरिक र अन्तर्राष्ट्रिय उडानको भवन र पार्किङ भिन्नाभिन्नै स्थानमा बनाइने भएको छ । हाल रहेको आन्तरिक टर्मिनललाई पेप्सीकोलापट्टीको भागमा सारिने भएको छ ।

अहिले राडार रहेको क्षेत्रमा आन्तरिक टर्मिनल र सोही छेउको खाली जग्गामा पार्किङ बनाइने प्रस्तावमा उल्लेख छ । आन्तरिक उडानमा जानेले सोही भवन प्रयोग गर्नुपर्नेहुन्छ भने बाहिरिने पनि सोही क्षेत्रबाट हुनेछ । साथै हेलिकप्टर सेवापनि सोही क्षेत्रबाट उपलब्ध गराउने तयारी मन्त्रालयको रहेको छ ।

आन्तरिक टर्मिनललाई पेप्सीकोलापट्टीको भागमा सारिने भएको छ । अहिले राडार रहेको क्षेत्रमा आन्तरिक टर्मिनल र सोही छेउको खाली जग्गामा पार्किङ बनाइने प्रस्तावमा उल्लेख छ । आन्तरिक उडानमा जानेले सोही भवन प्रयोग गर्नुपर्नेहुन्छ भने बाहिरिने पनि सोही क्षेत्रबाट हुनेछ

यता, अन्तर्राष्ट्रिय टर्मिनललाई भने विस्तार गरिने भएको छ । अहिले कर्पोरेट रहेको भवनदेखि आन्तरिक टर्मिनलसम्ममा अत्याधुनिक भवन बनाउने मन्त्रालयको प्रस्तावमा उल्लेख छ । हाल रहेको भवनलाई आगमन कक्षमात्र बनाउने र नयाँ भवनलाई प्रस्थान कक्ष, भिभिआइपी कक्ष र कर्पोरेट भवन बनाइने भएको छ ।

जसले गर्दा अन्तर्राष्ट्रिय उडानमा रहने विमानको पार्किङ पनि ठूलो हुने र धेरै जहाज अट्नेछन् । नेपाली सेना र नेपाल एयरलाइन्सको ह्यांगरलाई अलिकति व्यवस्थापन गर्दामात्र यो काम सहजै हुने र प्रसस्त ठाँउ उपलब्ध हुने नागरिक उड्डयन प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

सन् २००९ देखि सुरु भएको आयोजना भूकम्पपछि अघि बढ्न नसकेपछि आयोजनामा ऋण दिने सम्झौता गरेको एसियाली विकास बैंकले ऋण नवीकरण गरेको छैन । विमानस्थल विस्तारको जिम्मा पाएको स्पानिस कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले सम्झौताअनुसार काम गर्न नसकेपछि ठेक्का रद्द गरिएको थियो । सो कम्पनीले तीन वर्षमा केवल १६ प्रतिशतमात्र काम गर्दै क्षतिपूर्तिको माग गरेको थियो ।

एसियाली विकास बैंकले आफैँले तयार पारेको ‘मास्टर प्लान’अनुसारको काम गर्ने भन्दै लगानी गर्न तयार भएको थियो । तर त्यसमा पर्यटन मन्त्री योगेश भट्टराईले असहमति जनाएका छन् । एडिबीले नेपाली सेनाको ब्यारेक हटाएर आन्तरिक टर्मिनल त्यहाँ सार्ने र अहिलेको अन्तर्राष्ट्रिय टर्मिनललाई माथिसम्म विस्तार गर्ने योजना बनाएको थियो । यसअनुसार काम गर्दा लागत धेरै लाग्ने भन्दै मन्त्री भट्टराईले अस्वीकार गरिदिएका छन् । ब्यारेक सार्दा त्यसको लागत धेरै पर्ने मन्त्रीको धारणा छ ।

यद्यपि पछिल्लो समय मन्त्रालयको प्रस्तावमा एडिबी सकरात्मक देखिएको छ । मन्त्रालयका अधिकारीहरू आन्तरिक रूपमा एडिबीसँग छलफल गरिरहेका छन् । मन्त्रालयले ल्याएको नयाँ प्रस्तावअनुसार काम गर्न करिब २० अर्बजति लागत लाग्ने अनुमान गरिएको छ । यसअघिको योजना अनुसार भने करिब ६० अर्ब रुपैयाँ लाग्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एडिबीले पनि प्रस्ताव सकरात्मक देखिएको भन्दै केही समयपछि ऋण सम्झौता हुन सक्ने जानकारी दिएको छ । ऋण स्वीकृत भएमा चार वर्षभित्र काम सकिसक्ने योजना बन्नेछ ।

मुख्य काम नभएपछि स्पानिस कम्पनीलाई हटाएर विस्तारको कामलाई चार भागमा विभाजन गरी छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिइएको छ । जसमा विमानस्थलको दक्षिण तिरको कोटेश्वरतर्फको ३ सय मिटर धावनमार्ग विस्तार गर्ने, टर्मिनल भवन बढाउने र अर्को एनसिलरी भवन विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेको छ । यी बाहेक प्राधिकरणले आफ्नो आन्तरिक स्रोतबाट समेत थप चारवटा विमान पार्किङ स्थल निर्माणको काम गरेको छ । योसँगै विमानस्थलमा पार्किङ वेको सख्या १५ पुग्नेछ । यद्यपि यो अहिले निर्माणको अन्तिम चरणमा रहेका छन् ।

प्रतिक्रिया