सुटिङमा भारतको रजगज

काठमाडौं । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङ खेलमा कुल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कांस्य गरी कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कांस्य गरी २९ पदक जित्न सफल भयो । त्यस्तै दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कांस्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कुल १० पदक हात पार्न सफल भयो । बंगलादेशले ६ रजत र ४ कांस्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कांस्य गरी कुल ७ पदक हात पारेको छ । माल्दिभ्स, भुटान र नेपाल पदकविहीन रहे ।

सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टिम पाँचौँ हुँदै बाहिरिएको थियो । भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अंकसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलंकाका एलभिस के.ए.आई. र फर्नान्डो टी.डी.एसको जोडी ८ अंकमा रोकिएको थियो ।

कांस्य पदकका लागि भने बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । जसमा बंगलादेशले बाजी मार्न सफल भयो । बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अंकका साथ कांस्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अंकमा रोकिँदै चौथो स्थानमा रहे । विजेता खेलाडीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरे ।

प्रतिक्रिया