प्रदर्शनीमा भीड

काठमाडौं । सहुलियतरूपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ आयोजित पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेको छ । सहुलियत दरमा पुस्तक उपल्ब्ध गराई पाठकमा पठन संस्कृति विकास गर्ने लक्ष्यका साथ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदर्शनीको आयोजना गरेको हो । प्रतिष्ठानले १ मंसिरदेखि एक महिने पुस्तक प्रदर्शनी सुरु गरेको थियो ।

प्रतिष्ठानको वार्षिक कार्यक्रमअन्तर्गत प्रदर्शनी सुरु गरिएको हो । दैनिक सयौँ पाठक अध्ययन एवं पुस्तक खरिदका लागि आएको कार्यक्रम संयोजक सुधीर ढुंगेलले जानकारी दिए । उनका अनुसार मंसिर २० गतेसम्म ६ लाखभन्दा बढीको पुस्तक बिक्री भइसकेको छ । प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको समाचार सुनेर हेर्न आउँदा केही खरिद गरेको ललितपुर महालक्ष्मी नगरपालिकाबाट आएका श्यामकृष्ण महर्जनले बताए । प्रतिष्ठानबाहेकका प्रकाशनका साहित्यिक पुस्तक पनि समेटिएको भए राम्रो हुने उनको सुझाब छ ।

प्रदर्शनीमा दुईदेखि एक हजार चार सयसम्मका पुस्तक राखिएको छ । प्रतिष्ठानले प्रकाशन गरेका पाँच सय प्रकारका पुस्तक र एक सय प्रकारका पत्रिका सहुलियत मूल्यमा खरिद गर्न सकिने ढुंगेलले सुनाए । प्रदर्शनीमा दुईको ‘काव्य अर्चना’ एक हजार चार सयको ‘प्रज्ञा नेपाली–अंग्रेजी शब्दकोश’ छन् ।

यसैगरी, पछिल्लो समय बजारमा आएका डा. बद्री पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगत्प्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गरेको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बुलगायतले सम्पादन गरेको ‘अन्तर्देशीय नेपाली कथाहरू’ पनि प्रदर्शनीमा छन् ।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्मको सहुलियत दिएर पुस्तक बिक्री भइरहेको छ । मंसिर मसान्तसम्म आयोजित प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्ती अर्थात् पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुंगेलले बताए । प्रदर्शनीमा प्रकाशन मितिदेखि वि.सं ०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका ‘समकालीन साहित्य’, ‘प्रज्ञा’, ‘सयपत्री’, ‘कविता’ लगायत पत्रिका पाँचमै उपलब्ध गराइने जनाइएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट पुस्तक लिन आएकी रमा खड्का देशभरबाट प्रकाशन हुने साहित्यिक पत्रिका प्रतिष्ठानमा खरिद गर्न पाउने व्यवस्था भए पाठकलाई सहज हुने बताउँछिन् । उनले मोफसलबाट समेत उत्कृष्ट साहित्यिक पत्रिका प्रकाशन भइरहेकामा राजधानीका पाठकले सहजरूपमा पाउने व्यवस्था गर्न प्रतिष्ठान तथा साझा प्रकाशनलगायतले सहयोग गर्नुपर्ने जिकिर गरिन् ।

प्रतिक्रिया