चौधरीको ‘दुलारी’ विमोचित

काठमाडौं । लेखक मुना चौधरीद्वारा लिखित दोस्रो उपन्यास ‘दुलारी’ बजारमा आएको छ । कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा साहित्यकार नयनराज पाण्डे तथा समाजशास्त्री प्रियंका कापरले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

साहित्यकार पाण्डेले मधेसको अवस्थालाई नजिकबाट नियाल्न पुस्तक सफल भएको जिकिर गरे । उनले भने, ‘यो एउटा अग्लो उपन्यास हो भन्न मलाई कुनै आपत्ति छैन । मधेसलाई आत्मसात नगरिकन, मधेसको भाषा, संस्कृति, भूगोल र पीडालाई नबुझिकन खाली मुद्दामात्रै उठाउँछु भन्ने आशयमा एक दुई वर्षयता लेखिएका उपन्यासले निराशा मात्रै दिएको पाइन्छ । तर लेखकले ‘दुलारी’ मार्फत मधेस तराईको अवस्थालाई चित्रण गरेको छ ।’

पुस्तकमा मधेसको विविधतालाई लेखकले मिहिन ढंगले प्रस्तुत गरेको जिकिर गर्दै पाण्डेले भने, ‘दलित समुदायको महिला पात्रलाई केन्द्रमा राखेर मधेसको समाजलाई यति मिहिन ढंगले लेखिएको यो पहिलो उपन्यास हो भन्ने लाग्छ ।’ उनले मधेसी समाजलाई लेखकले निकै गहिरो गरी उधिनेको बताए । उनले थपे, ‘मैले पनि मधेसबारे लेखेको छु । तर, त्यहाँको जनजीवनलाई, संस्कृतिलाई, पीडालाई, गरिबीलाई, संघर्षलाई यति मिहिन ढंगबाट उठाउन सकेको छु जस्तो लाग्दैन ।’

त्यसैगरी समाजशास्त्री कापरले लेखकले स–साना विषयलाई समेत कलातमकरुपमा पनि पुस्तकमा चर्चा गरेको बताइन् । उनले भनिन्, ‘साहित्यिक चेत भएका र नभएका दुवै किसिमका पाठकलाई पुस्तक पठनीय छ । उपन्यास पढुञ्जेल मुख्य पात्र दुलारीलाई पढिरहेको होइन, प्रत्यक्ष हेरिरहेको अनुभव हुन्छ ।’

लेखक चौधरीले पुस्तक लेखनको अनुभव सुनाउँदै मधेसी समाज र त्यसभित्रका सामाजिक, राजनीतिक, जातीय तथा वर्गीय विषयलाई समेट्ने कोसिस गरेको बताइन् । उनले पुस्तक लेखनमा आफूलाई सबैको सहयोग गरेको बताउँदै भनिन्, ‘त्यसले मलाई अगाडि बढ्न सहयोग पुगेको छ ।’ उनले आफू हुर्कने बेलामा देखेको गाउँठाउँका विषयलाई उपन्यासमा उतारेको सुनाइन् । चौधरीको यसअघि ‘जयवर्धन सलहेश’ प्रकाशित छ । यी दुवै पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया