मौलिकता संरक्षणमा चासो

कास्की । नेपालका मौलिक बाजाको संरक्षण अपरिहार्य भएको गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बताएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा हिमाली सांस्कृतिक परिवारको सहकार्यमा भएको ‘गण्डकीका धुनहरू’ कार्यक्रममा उनले मौलिक बाजाका बारेमा युवा पुस्ता गम्भीर बन्नुपर्ने विचार व्यक्त गरे ।

उनले भने, ‘नेपालका मौलिक बाजाको संरक्षण र प्रवद्र्धनमा युवा पुस्ताले चासो नलिने हो भने इतिहासमा समेत मेटिने सम्भावना छ । पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालको मौलिक बाजा लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षणका लागि सबै तह र तप्का गम्भीर भएर लाग्नुपर्दछ ।’ प्रदेश प्रमुख शेरचनले नेपाली मौलिक बाजाको आपm्नै महत्व र इतिहास रहेको उल्लेख गर्दै नेपाली सेना र प्रहरीले पनि आफ्नो मौलिक बाजालाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी दुई दिने प्रदर्शनी तथा कार्यपत्र प्रस्तुति गरिएको थियो । प्रदर्शनीमा ९५ लोपोन्मुख बाजा राखिएको थियो भने तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा पञ्चै बाजाका बारेमा तुलसी प्रभास, हिमालमा प्रचलित बाजा टुंग्नाका बारेमा कर्मा फारम र नवलपुरको थारू बाजाका बारेमा पीताम्बर महतोले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी १२ समूहले गण्डकी प्रदेशभित्रका हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी विभिन्न बाजाका धुनको प्रस्तुति दिएका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ ले मौलिक बाजा र धुनको संरक्षण र विकासका लागि गण्डकीका धुन कार्यक्रम गरिएको बताए , उनले भने, ‘परम्परागत बाजा, गीतसंगीत, कला संरक्षणको लागि प्रतिष्ठानले आवश्यक सहयोग समेत गर्नेछ ।’ पोखरा उद्योग वाणिज्य संघमा आयोजित गण्डकीका लोपोन्मुख बाजाको धुनले पोखरा गुञ्जायमान बनेको थियो । लोपोन्मुख आरबाजा, पात, सारंगी, त्हउदु, टुंग्ना, ह्यांग्जे, ढग्ने, मानर, खैजडी, मृदा, ता र ढल्कीलगायत प्रचलित बाजाको धुनले कार्यक्रम रोचक बनाएको थियो ।

सो अवसरमा लोपोन्मुख मुख बाजा र ढल्कीको प्रस्तुति, झलकमान गन्धर्व सारंगी पाठशाला कास्कीले गाइने धुन, डाँफेचरी, आरबाजा, सारंगी, मादल र मुजुरा तथा नेवाः खल कास्कीको प्रतिनिधित्व गर्दै तेर्सापट्टि तया मचा समितिले नेवारी धुन, मृदा झ्याली, ता, ढल्कीबाजाको धुन प्रस्तुत गरेका थिए । लोपोन्मुख लोकबाजा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्य रहेको कार्यक्रममा दूधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्यालीबाजाको प्रस्तुति, बौद्ध अर्घौ सदन पोखराले लामाबाजा र बौद्ध धुन, तमु प्येल्हु संघले पच्यु, क्याप्री, बोन्पो लमको बाजा धुन, ढ्यांग्रो, शंख र झ्यालीसहित प्रस्तुति दिएको कार्यक्रमका स्थानीय संयोजक तेज केसीले जानकारी दिए ।

सो अवसरमा लाफा मगर समाज घाँसीकुवाले कौडा धुनसँगै खैँजडी, झ्याली र मुजुरा, लेखनाथस्थित सत्सङ्ग भजन कीर्तन समूहले भजन प्रस्तुति, नवलपुर थारू समाजले थारू संस्कृति धुन, मानर र मजुर वाद्यवादनसहित प्रस्तुति, नेपाल दैविक सनातन धर्म संरक्षण समिति, पञ्चै बाजा समूहले लोपोन्मुख धुन र बाजा सनाही, नरसिंहा, दमाहा ढोलकी, ट्याम्कोलगायत प्रस्तुत गरेकामा सबै उमेरका कलाकार नाचगानमा सहभागी भएका थिए ।

प्रतिक्रिया