‘नन्दी’ को छायांकन दिपायलबाट

डोटी । डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायांकन सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायांकन सुरु भएको हो ।

सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहेका छन् । त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहेका छन् । चलचित्रमा अभिनेत्रीहरू एलिसा चाड र मनीषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र संगमलगायतका कलाकारहरूको सहभागिता रहेको छ ।

चलचित्रको नामकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्माता÷अभिनेता बोहराले जानकारी दिए । भगवान् श्रीरामका पूर्वज राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको उनले बताए । परापूर्वकालमा राजा दिलिपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किंवदन्ती छ । सो गाईद्वारा नै दूधको धारा दिइरहेको ठाउँमा भेटिएको ज्योतिर्लिंगको पूजा, आराधना गरी तपस्या गर्दा राजा दिलिपले मुक्ति पाएको पौराणिक मान्यता रहेको छ ।

सोही ठाउँमा अहिले ‘दिल्पेश्वर मठ’ बनेको छ । यही मठको नामबाट दिपायलको नामकरण भएको मानिन्छ । मठमा अहिले सयौँ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान् श्रीरामको ‘खराउ’ (चप्पल) सुरक्षित राखिएको छ । सोही नन्दिनी गाईको सिङलाई आधार बनाएर कथावस्तु तयार पारी चलचित्र निर्माण हुनलागेको निर्माता बोहराले बताए ।

उनले भने ‘चलचित्रको कथा त्यसै सिङको वरिपरि घुमाएका छौँ, यहाँको ऐतिहासिक पक्षलाई ध्यान दिएर दिपायलको प्रचारप्रसार गर्नेछौँ ।’ चलचित्रको ६० प्रतिशतभन्दा बढी छायांकन दीपायल क्षेत्रमा गरिने जनाइएको छ । त्यसबाहेक, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड क्षेत्रमा पनि छायांकन हुने निर्देशक बाबु थिङले बताए ।

प्रतिक्रिया