भेटिएनन् हराएका मूर्ति

दैलेख । दैलेख जिल्लाको दुल्लू नगरपालिका–९ चामुण्डाविन्द्रासैनी–६ को बिचमा पर्ने पादुका मन्दिरमा राखिएका बहुमूल्य २ वटा मूर्तिहरु हराएको एक हप्ता बितेको छ ।

गएको शनिबार पादुकाका पूजारी देबीनाथ योगीले रातिमा मूर्ति हराएको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान जारी राखेको छ । मूर्ति हराएको सुचना पाएपछि पादुका पुगेर आएका इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोराले मुख्य पूजा हुने ठाउँ भैरब मन्दिर नजिक राखिएका अन्दाजी ७ केजी तौलको बाघको एक वटा मूर्ति र गाधीघरको भित्तामा रहेको ६ केजी तौलको गणेशको एक मूर्ति हराएको बताए । मन्दिर हातामा अलपत्र छरिएका र सूरक्षित घेरबार समेत नहुँदा मूर्ति हराएको बोहोराको भनाइ छ ।

मध्य–पहाडी लोकमार्गसँगै जोडिएर रहेको पादुका मन्दिर क्षेत्रमा को आए–गए रेकर्ड व्यवस्थित गर्न नसकिएको कारण बहुमूल्य मूर्ति र सम्पत्तिहरु सुरक्षामा चुनौती थपिएको दुल्लू नगरपालिका नगर प्रमुख घनश्याम भण्डारीले बताए । उनका अनुसार हराएका मूर्ति खोजिको लागि जिल्ला प्रशासन कार्यालय दैलेखको टोली सहित पादुकाका अन्र्तक्रिया कार्यक्रम गरी हराएका मूर्ति खोजि गर्ने निर्णय गरिएको छ ।

दैलेखका अन्य विभिन्न स्थानमा रहेको ऐतिहासिक तथा पुरातात्विक सम्पतिको संरक्षणमा स्थानीय सरकारको श्रोतले नभ्याउने र सरकारको ध्यानार्षण गराउँदा सुनुवाई नभएको नगर प्रमुख भण्डारीले टिप्पणी गरे । एकपछि अर्को बहुमूल्य मूर्ति चोरी हुनुको कारण, त्यसको खोजी र बाँकी सम्पदाको सुरक्षा प्रभावकारिताको लागि सरोकारवालासँग समन्वय गरी काम अगाडी बढाएको जिप्रका दैलेखले जनाएको छ ।

पर्यटकिय गन्तव्यको सूचिमा सुचिकृत समेत गरिएको उक्त क्षेत्रमा हाल चिन सरकार र नेपाल सरकारले पेट्रोलियम सम्भाव्यता अध्ययनको लागि चिनको जिवोलोजिकल सर्वेको टोलीले पेट्रोलिएम पदार्थ अन्वेषणको मध्य चरणमा पु¥याएको छ । चाईनिज प्राबिधिक, नेपाली भूगर्भविद् तथा सयौं कामदारहरुको चहल–पहल बढेसँगै धार्मिक, साँस्कृतिक सम्पदाहरू जोखिममा परेका छन् ।
सतिदेवीको महत्वपूर्ण अंग पतन भएको पिठ

सत्य यूगमा देवादिदेव महादेवले देवी सतिको मृत शरिरलाई काँधमा बोकेर त्रिलोक वैराग्य यात्रामा हिडेको बेला देवी सतिको अंग पतन भएको ५२ वटा शक्ति पिठ मध्ये ५ शक्ति पिठ दैलेखमा पर्दछ । जसलाई पुराणहरुमा पञ्चकोशी तिर्थको नामले चिनिन्छ । सतिदेवीको शरिरको महत्वपूर्ण अंग शिर, पाउ, कोठार, नावी तथा अस्तु खसेको स्थानमा अझै पनि ज्वाला अग्नी सदियौदेखि जल्दै आएको छ ।

जसलाई ज्वालादेवीको रुपमा हजारौ बर्षदेखि पुज्दै आईएको छ । बैष्णवपुराण, ज्वालापूराण, स्वस्थानि वर्तकथा, गरुणपुराणमा यस क्षेत्रको धार्मिक महिमालाई उल्लेख गरिएको छ । सयौंदेखि पुज्दै आएका सम्पदाहरुलाई जोगाई राख्न स्थानिय सरकारले पहल गर्नुपर्ने दुल्लु नगरपालिका–९ का स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया