बिरामी भएपछि अनसन टोली फर्कियो

दार्चुला । अतिक्रमित भूमि कालापानी क्षेत्रमा अनसन बस्न गएका युवाहरू बिरामी परेका छन् । १३ मंसिरतिर जिल्ला सदरमुकाम खलंगाबाट कालापानी, लिपुलेक क्षेत्रमा अनसनका लागि गएका युवाहरू बिरामी परेपछि टोली सदरमुकाम खलंगा फर्किन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले बताए ।

भारतले औपचारिक रूपमै नेपाली भूमि अतिक्रण गरेपछि नेपाली भूमि फिर्ताका लागि कालापानी, लिपुलेक क्षेत्रमा गई अनसन बस्ने भन्दै हिँडेका युवाहरू व्याँस गाउँपालिका–१ गागा क्षेत्रबाट अगाडि जान सकेका छैनन् । भारतद्वारा अतिक्रमित भूमि कालापानीमा क्षेत्रमा भारतीय सैनिकले नेपालीलाई प्रवेशसमेत गर्न दिँदैन । तर, तीन जना युवाको टोली भने लिपुलेकमा अनसन बस्न भन्दै काठमाडाैंबाट आएका थिए । उनीहरू व्याँस गाउँपालिका–१ को गागा क्षेत्रबाट फर्किन लागेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

छातीमा समस्या देखिएको भन्ने खबर आएकाले चिसो लागेको हुन सक्ने र स्थिति सामान्य रहेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बताए । दुम्लिङ प्रहरी चौकीबाट उनीहरूको साथमा एक जना प्रहरी हवल्दार र एक जना प्रहरी जवान गएका थिए । अनसनका लागि काठमाडौंबाट केएन बस्याल, सेफर्ड लिम्बु र रमित बलामी गरी तीन जनाको टोली आएको थियो ।

तीन जना युवामध्ये दुई जनाको अवस्था सामान्य रहेको र एक जना बिरामी परेको प्रहरीले जानकारी गराएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । ‘तीन जना युवाको टोली गएको थियो, तीमध्ये दुई जनाको अवस्थामा सामान्य रहेको र एक जना बिरामी परेको भन्ने जानकारी प्राप्त भएको छ’, प्रजिअ पौडेलले भने ।

उनीहरूको उद्धारका लागि भारतीय बाटो प्रयोगका लागि भारतीय पक्षलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार कालापानी, लिपुलेकका लागि हिँडेका युवाहरूले प्रशासन कार्यालयसँग कुनै समन्वय नै नगरी गएको र प्रहरीबाट उनीहरूको अवस्थाबारे जानकारी गराएपछि मानवताका हिसाबले सहजीकरण गर्न लागेको हो । ‘हामीसँग समन्वय गरेर गएका होइनन्, टोलीहरू केके गर्छन्, निगरानी गर्न प्रहरीलाई भनेका थियौँ’ प्रजिअ पौडेलले भने ।

सीमा क्षेत्रमा रसियन टोली
त्रीदेशीय सीमा क्षेत्रमा रसियन नागरिकको टोली पनि गएको पाइएको छ । १३ मंसिरमा एक जना रसियन नागरिकको नेतृत्वको टोली पनि व्याँस क्षेत्रमा भेटिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरेका छन् । नेपाली भूमि फिर्ताका लागि दबाव दिन अनसनका लागि तीन जना नेपाली युवाको टोली गएकै दिन रसियन नागरिकको नेतृत्वको टोली पनि गएको जनाइएको छ । रसियन नागरिकको साथमा पनि तीन जनाको टोली रहेको छ ।

रसियन नागरिकको टोली भ्रमणका लागि गएको प्रहरी स्रोतको भनाइ छ । साथै उक्त टोली पनि मौसम प्रतिकूलताका कारण व्याँस क्षेत्रबाट अगाडि जान नसक्ने भएपछि हवाई सेवाका लागि मन्त्रालयमा समन्वय गरेको जनाइएको छ । सम्भवतः रसियन नागरिकको टोली शुक्रबार नै फर्किने तयारी गरेको छ ।

प्रतिक्रिया