बेसार खेतीबाट १४ जना परिवार पालिँदै

कालीकोट । लगानी थोरै आम्दानी धेरै, दुःख कष्ट कम, सबैभन्दा सस्तो अनि सजिलो व्यवसायलाई अँगाल्दै रास्कोट नगरपालिका फुकोटका प्रभाकर बरालले बेसार खेती सुरु गरेका छन् । ३४ वर्षका प्रभाकरले अन्नबाली उत्पादन हुने खेतबारीमा बेसार खेती लगाएका हुन् ।

उनका छिमेकीले धान, गहुँ, मकै, कोदो लगायतका बाली लगाए पनि प्रभाकरले एक बिघा जमिनमा बेसार खेती गरी वार्षिक ६ लाख चोखो आम्दानी गरिरहेको बताए । उनले भने, ‘विदेश जानुभन्दा आफ्नो समुदायस्तरमा कुनै नौलो व्यापार, व्यवसाय गरे राम्रो आम्दानी हुने भनी बेसार खेतीमा लागेको हुँ । पहिला सदरमुकाम मान्ममा होटल व्यवसाय गर्थें, होटल व्यवसायबाट त्यति राम्रो आम्दानी नभएपछि पुराना बाली लगाउनुभन्दा बेसार खेती गर्ने सोच गरेँ ।’

३० केजी बेसारको बिउ छरेका प्रभाकरको खेतीमा वार्षिक ६ क्विन्टल बेसार भित्रिन्छ । बेसार ब्यवसाय गरेर बरालले १४ जनाको परिवारलाई धानेका छन् । प्रभाकरका अन्य परिवारले पनि उनलाई सघाएका छन् । सबै घरपरिवार धान, गहुँ लगायतका हिउँदे तथा बर्खे बालीहरू लगाउनुभन्दा बाह्रै महिना हुने बेसार खेती गरेका छन् ।

प्रभाकरले बेसार खेती गरिरहँदा अन्य छिमेकीहरूले पनी सिको गरिरहेका छन् । उनले आफ्नो व्यक्तिगत लगानीमा बेसार खेती सुरु गरेका छन् । रास्कोट नगरपालिकाभित्रै बेसार खेती गर्ने पहिलो व्यक्तिलाई पालिकास्तरबाट पनि सहयोग गर्ने रास्कोट नगरपालिका प्रमुख कासी बरालले बताएका छन् ।

प्रतिक्रिया