स्वास्थ्यको सबै बेथिति अन्त्य हुन्छः ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । उनले अस्पतालको बेथिति अन्त्य गरी सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा १०ः००-५ः०० को ड्युटीे परिपाटीलाई हटाउन सुझाव आएको भन्दै उनले भने, ‘स्वास्थ्य सेवा दिने जिम्मा लिएर यस्ता काम गर्नेलाई कारबाही गरिन्छ, सरकारी अस्पतालमा १० बजे हाजिर गरेर नाफाका लागि खोलिएका आफ्ना निजी क्लिनिक चलाउने बेथितिको अन्त्य हुन्छ ।’

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपागंता दिवस कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका हुन् ।

औषधि महंगो भएर किन्न नसकेपछि धेरै बिरामी व्यक्तिहरु रोगसँग लड्न नपाएको कुरा आफूले सुनेको उल्लेख गर्दै अब औषधि उपचारका सेवा नपाएर, आर्थिक अभावका कारण कोही पनि मर्न नपरोस् र स्वास्थ्य सेवाबाट कोही बञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको उनले बताए । स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपाटीलाई पूर्णरुपमा नियन्त्रण गरिने बताए ।

उनले कमिसनका आधारमा औजार किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकम फोकटमा सकिएको जानकारी पाएपछि उनले यस्ता कुराको पनि अन्त्य गरिने बताए । स्थानीय तहमा हस्तान्तरण भएका अस्पताललाई सहयोग गर्ने दायित्वबाट सरकारपछि नहट्ने उनले बताए । उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पताललाई छारेरोग विशेषज्ञ अस्पतालसहित सम्पूर्ण रोगको गुणस्तरीय उपचार गर्नेगरी सेवा विस्तार गर्दै गएको बताए ।

उनले मध्यपुरथिमि क्षेत्रमा रहेका सबै अपांगता भएकाको शिक्षा, स्वास्थ्य र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिका प्रतिबद्ध रहेको भन्दै सबै अपांगता भएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था नगरपालिकाले गर्ने घोषणा गरे । कार्यक्रममा अभिभावक स्वावलम्बन समूहलाई रोटरी क्लब अफ मध्यपुरले दिएको पाँचवटा ह्वीलचियर प्रदान गरिएको थियो ।

प्रतिक्रिया