अनुभव साट्दै कलाकार गुरुङ

काठमाडौं । जलरङमा चित्र बनाउँदै आएका कलाकार एनबी गुरुङले आफ्नो सिर्जना यात्राको अनुभव बाँडेका छन् । लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीले आयोजना ‘एक्सपिरेन्स सेयरिङ’ मा उनले दुई दशकदेखि कला साधनामा लागेको बताए ।

नेपालमा जलरङमा चित्र बनाउने कलाकारको अवस्था पछिल्लो समय निकै राम्रो रहेको बताउँदै उनले भने, ‘कलाप्रतिको मानिसको रुचि पछिल्लो समय निकै बढेर गएको छ । नेपाली संस्कृति, प्रकृति तथा सामाजिक जनजीवनसँगै अन्य विषयवस्तु समेटिएका कलाकृतिको माग निकै बढेको छ ।’

अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी, नेपाल च्याप्टरका अध्यक्षसमेत रहेका कलाकार गुरुङले अक्टोबर २५ देखि १ नोभेम्बरसम्म चीनको हांगचाउमा गरेको कला यात्राका विविध अनुभव सुनाए । उनले चीनले सरकार कला क्षेत्रमा निकै काम गरेको सुनाए । कलाकारलाई सांस्कृतिक दूतका रूपमा चीन सरकारले विश्वका विभिन्न मुलुकमा लगिरहेको बताउँदै उनले भने, ‘राज्यको संरक्षणमा चिनियाँ कला र कलाकारको निकै सम्मान र प्रगति भएको रहेछ ।’

चिनियाँले सांस्कृतिक क्रान्तिको अभियानका रूपमा कला, साहित्य, संगीत तथा नाटकको विकास गरेको उनले बताए । उनले भने, ‘स्वतन्त्र रूपमा कलाकारहरू आफ्ना विचारहरू अभिव्यक्त गर्दा रहेछन् । उनीहरूका कलामा चीनको सुगन्ध आउँदो रहेछ । आफ्नै परिवेशलाई उनीहरूले जीवन्त राखेका रहेछन् ।’

कलाकार गुरुङका अनुसार कलालाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अभियानमा चीन सरकार लागेको छ । ‘सम्पूर्ण खर्च व्योेहोरेर विश्वका कैयौँ मुलुकका कलाकारलाई पटक–पटक चीनमा बोलाई कला, संस्कृति आदान–प्रदान गर्दै आफ्नो कलात्मक विकास गर्न खोजिरहेका छन्,’ गुरुङले भने, ‘उनीहरूले कला र संस्कृतिमार्फत आफ्नो राष्ट्रलाई विश्वसामु चिनाइरहेका छन् । उनीहरू क्रमशः लगनशील, जिज्ञासु र विकासप्रेमीसमेत रहेको पाएँ ।’

उनले नेपालमा जलरङ बनाउने कलाकारको संख्या पछिल्लो समय निकै उत्साहजनक रूपमा बढेको बताउँदै यसलाई अझ व्यवस्थित बनाउनुपर्ने चुनौती रहेको विचार व्यक्त गरे । नेपाली कलाप्रति विदेशीहरूको अभिरुचि निकै गहिरो रहेको जनाउँदै गुरुङले थपे, ‘कला र संस्कृतिले देशको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने भएकाले राज्यले यसमा लगानी बढाउनुपर्दछ । साथै कलाकारलाई उचित अवसर र सम्मान गर्नुपर्दछ ।’

कार्यक्रममा कलाकार तथा प्राज्ञ बुद्धि गुरुङले एनबीलाई जलरङ र यससँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए । कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, विपिनराज श्रेष्ठ, आशाकाजी मानन्धरलगायतले नेपालमा जलरङी कला र यसको भविष्यका बारेमा चर्चा गरेका थिए । ग्यालरीका कार्यकारी निर्देशक रीता खनालले कलाकारको अनुभव साटासाट गरेर नयाँपुस्तामा उत्साह भर्न कार्यक्रमको आयोजना गरेको बताइन् ।

प्रतिक्रिया