‘प्रेम गीत ३’ को पोस्टरमा शिव

काठमाडौं । हाल छायांकनमा रहेको चलचित्र ‘प्रेमगीत ३’ को फस्टलुक्सको पोस्टर सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी २८ चैतमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत चलचित्रको फस्ट लुक्सका रूपमा पोस्टर सार्वजनिक गरेका हुन् । उक्त पोस्टरमा अभिनेता शिव श्रेष्ठलाई राजाको रूपमा प्रस्तुत गरिएको छ । यो चलचित्रको मुख्य अभिनेता प्रदीप खड्का राजकुमारको रूपमा रहेका छन् । शिवलाई पोस्टरमा पनि राजाको रूपमा देख्न सकिन्छ ।

यसअघि चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काको क्यारेक्टर तस्बिर फस्ट लुक्सको रूपमा प्रस्तुत गरिएको थियो । त्यसपछि शिवको क्यारेक्टर पोस्टरका रूपमा ल्याइएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को सफलतापछि ‘प्रेम गीत ३’ निर्माण गरिएको हो । यो चलचित्रको काठमाडौंको कीर्तिपुरस्थित इन्डोर स्टुडियोमा छायांकन गरिएको छ । यसका निर्माता निर्देशक, अभिनेता सन्तोष सेनका अनुसार चलचित्रको ५५ प्रतिशत छायांकन सकिएको छ । त्यस्तै, बाँकी केही छायांकनको लागि चलचित्र युनिट मनाङतर्फ लागेको छ ।

चलचित्रमा अभिनेता प्रदीपसँगै अभिनेत्री क्रिस्टिना गुरूङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरूङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा चक्रबहादुर चन्द र डम्बरविक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान सेन सहनिर्माता रहेका छन् । दुई सय वर्ष पुरानो प्रेमकथामा बन्ने यो चलचित्र छेतेन गुरूङ र सन्तोष सेनले संयुक्त निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया