आत्मघाती गोलले हार्यो युनाइटेड

एजेन्सी, लन्डन । डी सोन बर्नाडको प्रहार आत्मघाती गोलमा परिणत भएपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा काजकस्तानको क्लब एफसी एस्तानासँग नमिठो हार खेपेको छ । एस्तानाको घरेलु मैदानमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युनाइटेड एस्तानासँग २–१ गोलले पराजित भयो । युनाइटेडले सुरुआती अग्रता जोगाउन नसक्दा हार खेपेको थियो । युनाइटेडले १०औँ मिनेटमा जेसे लिंगार्डको गोलबाट अग्रता लिएको थियो । एस्तानाले ५५औँ मिनेटमा बराबरी गोल फर्कायो । एस्तानाका दिमित्री सोमकोले गोल गरे । त्यसपछि ६२औँ मिनेटमा युनाइटेडका डी सोन बर्नाडको प्रहार आत्मघाती गोल भएको थियो । विपक्षी रुकाभिनाको क्रस बललाई क्लियर गर्ने क्रममा बर्नाडको प्रहार आफ्नै पोस्टमा छिरेको थियो । त्यसपछि गोल गर्न नसक्दा युनाइटेड हार खेप्न बाध्य बन्यो ।

हारेपनि समूह ‘एल’ को शीर्ष स्थानमा रहेको युनाइटेडले पाँच खेलबाट १० अंक बनाएको छ । पहिलो जित निकालेको एस्ताना तीन अंकसहित अन्तिममा छ । यही समूहको अर्को खेलमा एजेट अल्कामार र पार्टीजान वियोग्राडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै नौ अंक बनाएको अल्कामार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको वियोग्राडले पाँच अंक बनाएको छ ।

यसैगरी समूह ई को खेलमा आर्सनल घरेलु मैदानमा जर्मन क्लब इन्ट्रयाच फ्रान्कफर्टसँग २–१ गोलले पराजित भएको छ । पियरिक एम्रिक अबुमियाङले ४५औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ५५औँ मिनेटमा इन्ट्रयाचका दची कामडाले बराबरी गोल फर्काए । ६४आँै मिनेटमा दची व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई हराएका थिए । हारे पनि आर्सनल पाँच खेलबाट १० अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । नौ अंक बनाएको इन्ट्रयाच फ्रान्कफर्ट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया