अर्थबजार

उद्यमशीलतासँग जोड्न सके कृषिबाट राम्रो प्रतिफल: कृषिमन्त्री

सौर्य अनलाइन २०७६ मंसिर १३ गते १८:३० मा प्रकाशित

काठमाडौं । नवनियुक्त कृषि बिकास तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित  कार्यक्रममा उनले भने, ‘कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफैँ विकसित हुन सक्नैन, कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण,व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो ।’

गाउँका मान्छेको जुन प्राथमिक उत्पादन छ त्यो उत्पादनको प्रारम्भिक प्रशोधन मात्रै सुरु भइदिने हो भने त्यसले किसानको श्रमलाई उद्यमशीलतातर्फ लैजाने भन्दै मन्त्री भुसालले भने, ‘किसानले दुध उत्पादन गर्ने कुरा महत्वपूर्ण छ, तर दुधलाई कुनै न कुनै रूपले प्रशोधन गर्ने कुरा हाम्रा लागि अझै महत्वपूर्ण छ । हामीले जडिबुटी उमार्ने कुरा महत्वपूर्ण छ, जडिबुटीको कुनै न कुनै रूपले प्रशोधन गर्ने कुरा अझै महत्वपूर्ण छ । कृषि क्रान्ति भनेकै कृषकलाई उद्यममा ल्याउने हो ।’

कृषिलाई उद्यमशीलतासँग जोड्ने सोच बनाएर मन्त्रालयको जिम्मेवारीमा आएको उनले बताए । उनले भने, ‘अहिलेको कृषिले चल्दैन, केही फेरबदल गर्न जरुरी छ । कृषि भनेको हलो मात्रै जोत्ने भन्यौँ हाम्रो बीचमा ठूलो ग्याप रह्यो हाम्रा योजना, सोंच र काम गर्ने शैलीमा कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्दैन । गाँस्न सकिएन भने कृषि आफँै विकसित हुन सक्नैन ।’ महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरू विशेष गरी स्थानीयस्तरमा कृषि र यसको उत्पादनसँग जोडिएको भन्दै यस्ता उद्योगी र गाउँघरमा कृषि कर्म गर्ने किसानहरूको हितमा राज्यको नीति केन्द्रित हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष गिरीले भने, ‘अर्थतन्त्रलाई रोजगारमूलक बनाउनका लागि सबै नेपालीले उद्योग खोल्दैनन केही निश्चित समूह जोसँग उद्योग र उद्यमशीलता छ, जसले जोखिम लिन सक्छन्, जसले लगानी गर्न सक्छन्, जसले निरन्तर रूपमा अगाडि बढाउन सक्छ तिनीहरूले मात्रै उद्योग खोल्छन् र ती उद्योगहरूमा बाँकी नेपालीहरूले रोजगार प्राप्त गर्ने अभियानमा हामी लाग्नुपर्छ ।’ यहाँ नीति निर्माताहरूले सबैलाई रोजगार बनाउने र उद्योग खोलाउने अभियानमा लागेको हुँदा राज्यको ठूलो धनराशी, शक्ति र चिन्तन बोटलनेकमा परेको उनले बताए ।

कृषि व्यवसाय र कृषि उद्यमशीलताको कुरा गर्दा धेरै जसो कृषिका आयोजनाहरू शहरमा बस्नेहरूले खोलेका फर्महरूलाई अनुदान दिनेतर्फ मात्रै केन्द्रित रहेको भन्दै अध्यक्ष गिरीले भने, ‘एक हल गोरु र दुईवटा गाई पाल्ने गाउँको रामबहादुरले कृषि आयोजनाका केही पनि सुविधा प्राप्त गर्न सकेको छैन । जबसम्म रामबहादुरले कृषिबाट प्राप्त हुने सुविधा प्राप्त गर्न सक्दैन तबसम्म कृषि बजारमा प्रचुर मात्रामा आन्तरिक मागलाई धान्नेगरी आयातलाई प्रतिस्थापन गर्ने गरी बजारमा उत्पादन आउन सक्दैन त्यसैले कृषिमा लागेका सक्कली किसानको हितमा काम गर्नुप¥यो ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय