हस्तकला विधाका दश ज्येष्ठ कलाकार सम्मानित

काठमाडौं । नेपाल हस्तकला महासङ्घले हस्तकला विधामा लामो समय योगदान गरेका १० ज्येष्ठ कलाकारलाई सम्मान गरेको छ । महासङ्घले १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवसरमा आज १० ज्येष्ठ कलाकारलाई धातूको ताम्रपत्र, दोसल्ला र खादाद्धारा सम्मान गरेको हो ।

सम्मानित हुनेमा काष्टकला विधामा ललितपुरका ८४ वर्षीय बद्रीकृष्ण शिल्पकार, सेरामिक्समा भक्तपुरका ८३ वर्षीय न्हुच्छेभगत प्रजापति, धातुपत्रकलामा ललितपुरका ८२ वर्षीय प्रेमकृष्ण ताम्राकार, धातुमूर्तीकलामा ललितपुरका ७९ वर्षीय माईला शाक्य, तामा, पित्तलकलामा ललितपुरका ७८ वर्षीय हेमरत्न बज्राचार्य रहेका छन ।

यस्तै, कृष्टल मुगाकलामा ललितपुरका ७६ वर्षीय कान्छा शाक्य, फिलिग्रीकलामा ललितपुरका ७६ वर्षीय न्हुक्षेनानी शाक्य, चाँदीको धार्मिक कलामा ललितपुरका ७५ वर्षीय हेरारत्न शाक्य, हस्तीहाडकलामा ललितपुरका ७४ वर्षीय पूर्ण विश्वकर्मा स्थापित र चित्रकलामा काठमाडौँका ७३ वर्षीय रत्नबहादुर बज्राचार्य सम्मानित भएको छ । सम्मानित भएका सबै ज्येष्ठकलाकारले नेपालको हस्तकलामा चार दशकभन्दा बढी योगदान दिएको महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले जानकारी दिए ।

प्रतिक्रिया