मत-विमत

बहिर्गमित मन्त्रीको ओली भोज बहिष्कार

प्रा.डा. बद्रीविशाल पोखरेल २०७६ मंसिर १३ गते ८:३८ मा प्रकाशित

प्रा.डा. बद्रीविशाल पोखरेल

मन्त्रीमण्डल पुनर्गठनअघि र पछि बारबार प्रदीप नेपाल, भीम रावल र युवराज ज्ञवालीलगायत केही नेता उत्तेजनात्मक प्रतिक्रियामा व्यस्त देखिन्छन् । उहिले नै नेता प्रदीप नेपाललाई जे बोल्न पनि छुट छ भनिन्थ्यो । नभन्दै बहिगर्मित मन्त्री गोकर्ण विष्टका पक्षमा टिप्पणी गर्दै नेपालले ओली सरकारमा दलाल पुँजीवादको पकड रहेको भन्न भ्याए ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केही उपल्लै तहका केही नेताले सरकार र पार्टीका ससाना छिद्र खोजीखोजी खिल्ली उडाउने काममा अर्जुनदृष्टि लगाएको देख्दा नेतालाई कार्यकर्ताहरूले कसरी नेता मान्दा हुन् भन्ने प्रश्न उठ्न थालेको छ । नेताका प्रतिक्रियावादीलाई खपत हुने खालका तिनका मिडियाबाजी र रुन्चेपिन्चे ¥याइँ¥याइँ बारबार सुन्दा कानै पाक्ने अवस्था उत्पन्न भएको हो ।

कमरेड कार्की उर्फ पार्थले कान्तिपुर एफएम हेडलाइनरमा त केही दिनअघि ओली सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकाल भन्दा कमजोर रहेकोसम्म भन्न भ्याएका थिए । तर, तिनै नेता कम्युनिस्ट आन्दोलन, अनुशासन र आदर्श मिडियामा फलाकिरहन्छन् । मन्त्रीमण्डल पुनर्गठन अघि र पछि बारबार प्रदीप नेपाल, भीम रावल र युवराज ज्ञवालीलगायत केही नेता उत्तेजनात्मक प्रतिक्रियामा व्यस्त देखिन्छन् । उहिले नै नेता प्रदीप नेपाललाई जे बोल्न पनि छुट छ भनिन्थ्यो । नभन्दै बहिगर्मित मन्त्री गोकर्ण विष्टका पक्षमा टिप्पणी गर्दै नेपालले ओली सरकारमा दलाल पुँजीवादको पकड रहेको भन्न भ्याए ।

रोगको पहिचान नगरी र राम्ररी निक्र्यौल नै नगरी टिप्पणी गर्न हतार हुन्छ भन्ने नेपालले कहिल्यै बुझेनन् । एक समय वरिष्ठ नेता वामदेव गौतमलाई आफूखुसी खुल्ला सभामा आक्षेपपूर्ण संगीन आरोप लगाएका थिए तथापि नेपाल भने मन्त्री बनेका उनै गौतमका पिए भएका थिए । अर्का नेता युवराज ज्ञवाली कुप्रचारबाट सतहीरूपमा प्रभावित जनताको हुलिया दिँदै सदाबहार पार्टी र सरकारका कटु आलोचक रहेका छन् । सगरमाथा टेलिभिजनको एक कार्य क्रममा नेकपालाई अहिले लोकतान्त्रिक पार्टी नै नभएको सम्म पनि भन्न तिनले भ्याए । पार्टीको उपल्लो तहका नेता ज्ञवालीलाई सरकार र पार्टीका बारेमा जिम्मेवार नेताका हैसियतले वेलाको बोली र मौकाको काम गर्न कसले सिकाइदिने हो ?

यसरी कतिपय मिडियाले क्षणिक रूपमा आफूलाई फुक्र्याएर वार्तामा बोलाएकै भरमा बोलेर आफ्नै कन्दनीसमेत खुस्किएको थाहा नपाउने नेता देख्दा सरम लाग्छ । नयाँ मन्त्रीहरूलाई पूर्वमन्त्री लालबाबु पण्डितले मात्र बहानाबाजी गर्दै खोटीमन राखेर शुभकामना दिने नयाँ संस्कृतिलाई पूर्णतः बहिष्कार गरे । प्रधानमन्त्री ओलीले नयाँ तथा पुराना मन्त्रीहरूलाई संयुक्त रूपमा मैत्रीभोजमा आमन्त्रण गरे पनि पुराना वा बहिर्गमित मन्त्रीले भोज बहिष्कार गरेको समाचार भाइरल भएको छ । बोलाउने कुरामा नै त्रुटि भएछ कि सद्भावलाई दुर्भाव देख्ने मति हाबी भएको बुझ्न सकिएन ।

अघिल्लो सरकारका कारण देशको ढिकुटी करिब–करिब रित्तो भएपछि सरकारले सार्वजनिक श्वेतपत्र जारी नै गर्नु पर्ने अवस्थाका समयमा आजै र अहिल्यै घोषणापत्रअनुसार ज्येष्ठ नागरिक भत्ता वितरण नगरिएकामा इटहरीतिर आएर रोइलो गर्ने टुप्पै तहका नेता पनि देखिए । तिनले भत्ता दिन नसकिने स्थितिसम्म पनि कार्यकर्ता सामु बताएनन् । यस लेखकले उमेरको हिसाबले ५५ वर्ष कटेका उपर्यक्त नेताहरूका अद्वन्द्ववादी, अवस्तुवादी र अराजक खालका बोली वचन, बानी र व्यहोरामा अब सुधार आउला भन्ने कम आशा गरेको छ । वषौँदेखि लागेको बानी त्याग्न सजिलो हुँदैन । तर, पूर्वमन्त्री नेतृ थममाया थापाले प्रधानमन्त्रीसित मन्त्रालय सम्बन्धी कामका बारेमा सुझाब र सल्लाह लिन जाँदा समय नपाएको भन्ने गुनासो भने स्वाभाविक लाग्छ ।

प्रायः नेकपाका नेता, बुद्धिजीवी र स्रष्टालगायतहरूमा सिर्जनात्मक रूपमा आ–आफ्ना जिम्मेवारी विषय, विधा, क्षेत्र, मन्त्रालयका काम गर्ने क्षमताको अभाव देखिएको छ । तिनले पाइला पाइलामा उपल्लो नेताको आदेश पर्खिएर समय खेर फाल्छन् । यसले पनि काममा समस्या सिर्जना गरेको देखिन्छ । अहिले यतिवेला नेता भीम रावल अत्यधिक चर्चामा रहेर प्रतिक्रियावादी खपतका लागि बोलिरहेका छन् । मंसिर ८ गते बिहान जनता जान्न चाहन्छन् ऋषि धमलासितको एफएम रेडियो वार्तामा नेपाली कांग्रेसका सभापतिले लिपुलेक वा कालापानीसम्बन्धी विषयमा प्रधानमन्त्री ओलीलक्षित निहित निकृष्ट तथा भद्दा आक्षेपलाई रावलले देउवाले प्रमाणित गरिदिए ओलीलाई हामीले के गर्नुपर्छ गछौँ पो भनिदिए । यसलाई बरु नेकाकै नेता शेखर कोइरालाले प्रतिवाद स्वरूप दुःख व्यक्त गरे । केपी शर्मा ओली नै संयोजक रहेको अध्ययन कार्यदलले कालापानी अतिक्रमित भएको र भारतीय सेनाले त्यहाँ अड्डा जमाएको विषयलाई उजागर गरेको थियो । यो विषय प्रतिवाद गर्नुपर्ने विषय हो कि देउवासित प्रमाणपत्र माग्ने विषय हो ।

एउटा उपल्लो तहको जानिफकार नेताले लवीगत चरम दूराग्रहबस बारबार राष्ट्रियताको संरक्षण र संवद्र्धनमा परिक्षित डाँडाको घामजून हुन लागेको उदाहरणीय नेतृत्वप्रति यस खालको घृणित आशंका सुहाउने कुरा हो ? हुँदाहुँदा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले त महामहिम राष्ट्रपति सम्मलाई नेकपा पार्टीलाई निर्देर्शित र नियमन गरेकोसम्मको भद्दा आरोप तथा बिच्कनापन देखाए । बेतुकी विरोधको यही परम्पराको प्रतिदानस्वरूप इटहरी उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना कार्यक्रममा पश्चिमदेखि आएर कमरेड गैरेले सरकारका नकारहरू भलिभाँती फलाकेका थिए । मन्त्री बनेर सहयोग गर्न गरिएको आग्रह अस्वीकार गर्ने डा. शिवमाया तुम्बाहाम्फेको घमण्ड देख्दा आठौँ आश्चर्य लाग्यो ।

स्वदेश नेपाल डटकममा वयोवृद्ध नेता कमल कोइरालाले ओलीले अरुण जलविद्युत् आयोजना मोदीको पाउमा सुम्पिएर कसरी राष्ट्रवादी हुन सकिन्छ सम्म भनेको थाहा भयो । उनले त एक मिडियामार्फत पूर्वराजा महेन्द्रलाई पो ठूलो राष्ट्रवादी भनेका रहेछन् । कार्लमाक्र्सले भनेझैँ हरेक युगमा शाषकका विचार हावी हुन्छन् र त्यसको प्रभाव नेता, जेता र बुद्धिजीवीमा पनि जबर्जस्त परेको हुन्छ भनेझैँ यही प्रभावका कारण केही माक्र्सवादी नेता सामन्तवादको पाउमा अझै लम्पसार नपर्लान् भन्न नसकिने अवस्था देखियो । सदियौँदेखि अनेक असमान र अपमान सहेर रहेको मुलुकले हिजोको आजै कुम जोरेर बस्न नसकेको भनेर तिनतमासे बोली बोल्न त सकिन्छ । त्यसमा पनि भारतसित सदासर्वदा पाखुरा सुर्केर नै बस्नुपर्छ भन्ने पनि होइन र छैन । राष्ट्रहरू र छिमेकीसित गिभ एन्ट टेक हुन्छ । सदियौँ देखिको अपमानलाई आजको भोलि छुमन्तर तरिकाले समाधान गर्न सकन्न भन्ने पनि नबझ्ुने नेतालाई कसरी अनुभवी, ज्येष्ठ र वरिष्ठ भन्ने होला ।

हरेक विषयमा मात्रात्मक हुँदै गुणात्मक उपलब्धि हासिल हुन्छ । यो खाली बोक्ने, घोक्ने र खोक्ने विषय हो.र ? टिप्पणी नै गरे पनि अलिकति धैर्य गरेर त गर्नु । छिनछिनमा उठ्ने र फुट्ने पानीका फोका सरहका टिप्पणीको के अर्थ छ ? भरतमोहन अधिकारीले मृत्युको आखिरी अवस्थामा पनि बाख्रापालन, पशुपालन व्यवसाय हुन्छ र तिनमा कर लाग्छ भन्ने जान्दाजान्दै पनि एउटा लेखमा एउटा बाख्रो देखाएर बाख्रामा ओली सरकारले कर लगाएको धारावाहिक लेख लेखेका थिए । त्यसैले रगतको थोपाथोपामा मिश्रित आग्रह, आक्षेप र द्वेषपूर्ण मति र मनस्थिति रगत सुकेपछि मात्रै मर्दोरहेछ जस्तो लाग्छ । तर पनि नेता भीम रावल अहिले प्रतिक्रियावादीलाई हँसाउने गरी मिडिया खपतमा गरिरहेका छन् । उनले आफू मन्त्री हुँदा मात्र कार्यकर्ताको मानसम्मान भएको भनेझैँ गरी मन्त्रिपरिषद् पुनर्गठनले कार्यकर्ताको अपमान भएको जिकिर गरेछन् ।

मानिस जन्मजात कम्युनिस्ट हुँदैन । एउटा न एउटा कालखण्ड, समय, परिस्थिति, उमेर र अवस्थामा कुनै पनि मान्छे कम्युनिस्ट हुनसक्छ । कसैले एक समय विभिन्न कारणले संविधान निर्माणमा अवरोध ग¥यो होला, कुनै समय कम्युनिस्ट पार्टीको उछित्तो पनि काढ्यो होला (अहिले कम्युनिस्टको उपल्लो नेताका आवरणमा केही कथित नेताले कम्युनिस्ट पार्टी र सरकारको आवरु राखेर बोलेका छन् ?) तर जे भए अमुक व्यक्ति कम्युनिस्ट पार्टीमा आबद्ध भयो, काम ग¥यो, समय बितायो, प्रतिबद्ध पनि भयो र सभासद भयो । अनि उसले एउटा मन्त्री पाउँदा यत्रो उखर्माउलो ? गर्ने भए हिजै पार्टी प्रवेशका वेला र सभासद् हुँदा विरोध गर्नुपथ्र्यो नि त । बहुमत वा दुईतिहाइ ल्याउन ताली लगाएर पार्टीमा प्रवेश गराउने अनि अहिले एउटा अवसर पायो वा दिइयो भनेर सडकरोइलो गर्ने ? के कुनै पनि मानिसले सुध्रिएर र सप्रिएर जिउन पनि नपाइने ? समय क्रममा नेकपामा लागेका र क्रियाशील भएका सबै नेताहरू तपाईंको खेताला मात्र भएर बस्लान् ?

साँच्चै पार्टीका पुराना, प्रतिबद्ध, योग्य र अनुभवीहरूले जिम्मेवारी पाउन् ती पछि नपरून् भनेको हो र ? यसो हो भने पहिले कहाँ को बोल्यो ? अहिले नै मुख तिखार्नुचाहिँ किन परेको होला ? सरकारमा देशको समग्र तस्वीर आउनुपर्छ, त्यो समावेशी हुनुपर्छ । नेपालजस्तो देशलाई एकताबद्ध पार्न सकिएन भने देशलाई सुरक्षित गर्न पनि सकिन्न । प्रधानमन्त्री ओलीले नेपालीहरूले नेपालको अस्तित्व रक्षा गर्न अड्न सक्नुपर्छ, लड्नु पर्दैन एकताबद्ध हुनुपर्छ भन्नुभएको छ । हुन पनि नेपालीको बल नै एकता हो । झिँजाले मुढो डढाउँछ, सय थुकी नदी हुन्छ । थोपा थोपा मिलेर सागर बन्छ । सत्यको एकदिन जीत हुन्छ । सानो चित्तले सगर डढ्दैन । कहीँ कसैमा पनि बत्तिस लक्षण हुँदैन रावलजी तपाईं हाम्रै घर परिवार अनेक कमजोरी र समस्याले पिरोलिएका छन् । कोट्याउँदै जाने हो आफ्नै लाज छोप्न गाह्रो पर्न सक्छ ।

पार्टीका शीर्षस्थ बहुआयामिक प्रभावशाली शिखर व्यक्तित्वलाई समयमा नै सन्तुलित सही मूल्यांकन गर्नुहोस् । कृतज्ञ बन्नुहोस्, कृतघ्न नबन्नुहोस् । आज भरमार गाली गरेर भोलिका दिनमा पछुताउने बेहोसी नगर्नुहोस् । विगततिर फर्किने हो भने माओवादी र एमाले एकता नै अमिलो र टर्रो लाग्नसक्छ । वर्तमान हेर्नुपर्छ । प्रचण्ड थैव दुवै गोडाविहीन अपांगता जीवन व्यतित गरिरहेका छन् । अर्को खाल्टो खन्न उद्यत नहुनुहोस् । खोटो विगत सिक्न मात्र काम लाग्छ । त्यसलाई दोहो¥याउने गल्ती कसैले गर्नु हुन्न । अहिले यो लेखक नेकपाका नाकको खोजीमा रहेको छ र त्यस्ता नाक, आवरु र इज्जत भेटेको पनि छ ।

यस्ता नाकहरूमा दीनानाथ शर्मा, लीलामणि पोखरेल, मणि थापा, अग्नि सापकोटा, शक्ति बस्नेत, लालबाबु यादव, विष्णु रिजाल, महेश बस्नेत, राजेन्द्र गौतम, खगेन्द्र राई र सुमन प्याकुरेललगायत पार्टी र सरकारका रक्षा कवच हुन् । यिनले सन्तुलित, शालीन, तथ्य र तर्कपरकरूपमा प्रतिरक्षा गरेको देखिन्छ । दरबार, घरबारका टाट्नामा झुण्डिएकाहरू त पार्टी र सरकारको उछित्तो काढ्ने मात्र होइन जननेता मदन भण्डारीलाई नै केही दिनअघि सराप्तै थिए । देशी विदेशी प्रतिक्रियावादी सबै सरकार र पार्टीविरुद्ध एकमुख भएका वेला आफ्नै आङ कन्याएर छारो उडाउन उद्यत नेता देख्दा उदेक लाग्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय