अस्पतालमा प्रधानमन्त्रीको खटपटी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहानदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका उनको सोही अस्पतालमा शल्यक्रिया गरिएको छ ।  अप्रेसनपछि सेमि भेन्टिलेटर मंगलबार उनको दिन अर्धचेत अवस्थामा बित्यो । तर, बुधबार बिहानैबाट उनको शरीरमा चमक भरिन थालेको थियो । बुधबार अपरान्हसम्म आइपुग्दा झोल पदार्थ पिएका र पारिवारिक भेटघाट गरेको प्रधानमन्त्री बिहिबारदेखि भने चिकित्सकलाई नै आश्चर्य र हैरानमा पार्न थालेका छन् । आधा ठिक हुँदादेखि नै उनले बेडबाटै सक्रियता देखाउन थालेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहानैदेखि सामान्य हिँडडुल गर्न थालेका छन् भने जाउलो र दाल समेत खाएको चिकित्सक स्रोतले जानकारी दिएको छ ।

बिहीबार बिहानदेखि प्रधानमन्त्रीले देशको पछिल्लो अवस्थाका बारेमा जानकारी लिन थालेका छन् । मोबाइल समेत पाएपछि त उनले टिवट््रबाटै सन्देश समेत प्रवाह गर्दै सबै शुभचिन्तकलाई धन्यवाद समेत दिए । ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ’, बिहीबार बिहान टिवट् गर्दै उनले भनेका छन्, ‘स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ बुधबारै आईसियुको बेडबाट उठेर मेचमा बसेका ओलीले बिहीबार बिहानदेखि अझै सक्रियता बढाएका छन् । बुधबार बेलुका करिब ५ घण्टा लगाएर डायलाइसिस पनि गरिएको थियो । डायलाइसिस गरिएपछि मध्यरातमा स्वास्थ्यमा समस्या देखिएपछि केही गम्भीर बनेका प्रधानमन्त्री ओलीको अवस्था बिहान सुधार भएको थियो । मनमोहनका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले निकालेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आउँदै गरेको उल्लेख गरेका छन् ।

दिउँसो प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल सार्नेबारे समेत छलफल भएको थियो । यद्यपी चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई सेन्टरमै राख्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सक्रियता र आत्मबल देखेर उपचारमा संलग्न चिकित्ससमेत चकित परेका छन् । ‘प्रधानमन्त्रीज्यू बुधबार बोल्न थाल्नुभएको हो । तर, बुधबार नै उहाँ बेडबाट उठेर एकैचोटी ऐया ऐया भन्दै सोफामा बस्नुभयो,’ एक चिकित्सकले भने,‘हामी त उहाँको आत्मबल देखेर चकित भएका छौँ । यति धेरै आत्मबल भएको बिरामी त मैले अहिलेसम्म देखेकै थिइनँ ।’ चिकित्सकका अनुसार अहिले प्रधानमन्त्री ओलीलाई ज्वरो पनि कम भएको छ भने प्रेसर समेत यथास्थितिमै छ । प्रधानमन्त्री ओलीले राजधानीका सडकको बारेमा चासो व्यक्त गरेका छन् । अहिले राजधानीका सडकमा रहेका खाल्डाखुल्डी पिच गर्ने क्रम सुरु भएकाले यसमा चासो राखेको स्रोतले जानकारी दिएको छ ।

उपचारका संलग्न उनका निजी चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीले बिहीबार बिहानैदेखि देशको राजनीतिक अवस्था र बाहिरको माहोलबारे चासो राखिरहेका छन् । ‘यति जटिल अवस्थामा पनि प्रधानमन्त्रीले बिहानै उठेर मेरोबारेमा बाहिर के आएको छ भनेर सोधिरहनु भएको छ’, उनले भने, ‘हामीले भेन्टिलेटरमा राखेकाले अलिक बढी चिन्ता र चासो भएको भनेर बतायौँ ।’ सायमीका अनुसार प्रधानमन्त्रीले चिकित्सकहरूसँगको कुराकानीमा आफ्नोबारेमा भएका कुनै पनि कुरा नलुकाउन निर्देशन समेत दिएका छन् । ‘मेरो बारेमा जे छ केही नलुकाउनु भन्नु भएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सायमीले भने, ‘पूरा ठीक हुन अझै समय लाग्ने अवस्थामा प्रधानमन्त्रीले पुरानै शैलीमा सक्रियता देखाउन खोज्दा हामी पनि अचम्मित छौँ ।’ बिहीबार बिहान प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र अर्का सल्लाहकार डा. राजन भट्टराईसहितको टोली प्रधानमन्त्रीलाई भेट्न पुगेको थियो । उनीहरूसँग पनि डाक्टरहरूमार्फत् नै प्रधानमन्त्रीले आफ्नोबारे बाहिर के कुरा हुँदैछ भनेर सोधीखोजी गरेका थिए ।

प्रतिक्रिया