भाग्यले बाँचेका बालक

बुटवल । चौराहा हस्पिटलको वेड नम्बर २ मा आमाछोरा रक्ताम्मे भएर लडिरहेका छन् । उनीहरू एक आपसमा हेराहेर गर्दछन् तर पनि खुलेर बोल्न सक्दैनन् । चाहेर पनि उनीहरू पहिलाजस्तो खुलेर हाँस्न बोल्न सक्दैनन् ।  सन्धिखर्क नगरपालिका–७ का साढे दुई वर्षीय रिजन कुँवर र उनकी आमा सपना कँुवर अहिले पनि बुधबारको घटना सम्झेर झसंग हुन्छन् । दुवै जना अर्घाखाँचीको नरपानीमा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका हुन् । उनीहरूको अवस्था अहिले खतरामुक्त रहेपनि आँखै अगाडि १९ जनाको ज्यान जानेगरी भएको सो घटनाबाट झस्कि रहन्छन् । रिजनको टाउकोमा सेतो पट्टी, दाहिने खुट्टा भाँचिएको र हातमा चोट लागेको छ । उनी एकोहोरो आमाको मुखमा हेर्दै रोइरहन्छन् । बसबाट ओर्लिन केही समय जतिको बाटो मात्रै बाँकी हुँदा उनीहरू रहेको बस दुर्घटनामा परेको हो ।

‘बस एकदम कुदेको थियो । म बच्चासँग साथमा थिए । बसका चालक र बस मालिकले अगाडि बसेर के के कुरा गरिरहेका थिए, मैले सुनिनँ’, घटना अगाडिको पल सम्झिदै २३ वर्षीय सपनाले भनिन्, ‘हामी अलि पछाडि थियौँ । तर, घुम्ती आउनसाथ एक्कासी ठूलो आवाज आयो । त्यसपछि मैले केही थाहा पाइनँ । अलिअलि चिच्याएको आवाज सम्झन्छु । म बससँगै तलै खसेको थिएँ रे ।’ उनी होसमा आउँदा बुटवल अस्पतालमा रहेको थाहा पाइन् । उनले दुर्घटनाको कारण बसको तीव्र गति नै रहेको भन्दै भनिन्, ‘भाग्यले बाँचियो । छोरा पनि बाँच्यो ।’

रिजनजस्तै अस्पतालमा कपिलवस्तु कोईली बनगाँईका–३ वर्षीय स्पर्श पोखरेलको पनि उपचार भइरहेको छ । उनको पनि टाउकोमा चोट लागेको छ । आमा विमला पोखरेल पनि घाईते अवस्थामा छिन् । उनको मेडिकल कलेजमा उपचार भइरहेको छ । विमलाको कान्छा छोरा ३ महिनाका शोभाखर पोखरेलको मृत्यु भएको छ । त्यसैगरी सन्धिर्खक नगरपालिका–७ खाँचीकोटका १ वर्षीय गणेश पुरी पनि घाईते अवस्थामा चौराहा अस्पतालमा उपचार भइरहेको छ । उनकी आमा माया पुरीको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

१९ जनाको ज्यान जानेगरी भएको अप्रत्याशित दुर्घटनाले अर्घाखाँची शोकमग्न छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार सन्धिखर्क नगरपालिकाको नरपानीमा बाटोभन्दा नौ सय मिटर तल खसेको थियो । तीव्र गतिमा दौडिरहेको बसले आफ्नो नियन्त्रण गुमाएर सडकबाट तल खसेको थियो । दुर्घटनामा घाइतेहरूको उपचार रुपन्देहीका अस्पतालहरूमा भैरहेको छ । बुटवलस्थित चौराहा अस्पतालमा ९, क्रीमसन अस्पतालमा २, भैरहवा मेडिकल कलेजमा ४ जनाको उपचार चलिरहेको छ जसमा ३ जना विशेष उपचार कक्ष आइसियुमा उपचाररत छन् ।

शोकमग्न अर्घाखाँची
बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश अर्घाखाँचीकै रहेका छन् । गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका वसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेस थापा, सन्धिखर्क–१० का छविलाल गैरे, गुल्मी, धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

परिचय खुलेका अन्य ९ जनामा वाणगंगा नगरपालिकाका ३ महिने सोभाकर पोख्रेल, वाणगंगा–८ चपरगाउँकी २७ वर्षीय सिता बस्नेत, गुल्मीको मदाने गाउँपालिका (२ का ३२ वर्षीय चालक बसन्त भनिने ओमबहादुर, सन्धिखर्क–२ की ५९ वर्षीया सिताकुमारी सार्की, भूमिकास्थान–९ की ५० वर्षीया सिता घिमिरे, भूमिकास्थान–९ की ५० वर्षीया विष्णुमाया गैरे, भूमिकास्थान–७ का ५१ वर्षीय मेघनाथ भण्डारी जैसी, शितगंगा–१ की १५ वर्षीया मञ्जु विक, छत्रदेव–८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा–७ का ४८ वर्षीय लोकबहादुर दर्जी, शितगंगा–७ कै ५५ वर्षीय हरिबहादुर दर्जी, शितगंगा–२ का ३८ वर्षीय सन्तबहादुर बस्नेत रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया