कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

काठमाडौँ । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् ।

सुन्धाराथिस्त नेपाली सेनाको अफिसर्स क्लब अगाडिबाट गाडीको कुनै परवाह नगरी बुधबार दिउँसो केही व्यक्तिले बाटो काटे । जेब्राक्रसिङ नभएपनि नागबेली झैँ गाडी छल्दै बाटो काट्नेमा नेपाली सेनासमेत सहभागी भए । सिंहदरबारको मुल गेट नजिक गाडी चल्दाचल्दै एक युवाले जोखिम मोलेरै जेब्राक्रसिङबाट गइन् । उनको देखासिकीमा पछि लागेका दुई युवालाई ट्राफिक प्रहरीले रोक्यो । उनीहरु प्रहरीसँग भनाभनमा लागे । ‘ती दाई गए अनि मिल्ने रहेछ भनेर हामी पनि गएको’, प्रहरीसँग उनले भने । त्यही ठाउँमा बाटो काट्न पर्खिरहेका एक हुल मानिसबारे उनीहरुले ख्यालै गरेनन् ।

बुधबार विहान ११ बजेको समयमा सुन्धारा, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, रत्नपार्कलगायत क्षेत्रमा सञ्चारकर्मी घुम्दा स्वयंसेवकहरु ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सघाइरहेका देखिए । उनीहरुलाई अटेर गरेर कतिपय नियम उल्लङ्घनमा लागेको पनि देखियो । तर, जहाँजहाँ स्वयंसेवक छन्, त्यहाँत्यहाँको अवस्था भने ट्राफिक नियम पालनामा निक्कै प्रभावकारी भेटियो ।

स्वयंसेवकहरुका अनुसार बटुवाहरु कानुन मान्नै चाहँदैनन् । हतारोले जहाँ पायो त्यहाँबाट बाटो काट्न आतुर हुन्छन् । गाडीको कुनै मतबल गर्दैन् । गुडिरहेको गाडीको अन्तरबाट बाटो काट्छन् । जुन दुर्घटनाको कारक बन्न पुग्छ ।

‘जेब्राक्रसिङ हाम्रो हो, जतिखेर पनि बाटो काट्न पाउनुपर्छ भन्ने सोच हुँदोरहेछ, त्यही बाटोमा गाडी पनि गुड्छ भन्ने जान्दाजान्दै हतार गर्दा रहेछन्’, पुतलीसडकमा स्वयंसेवक खटिएकी समिक्षा पुन मगरले भनिन् । सात दिनको समयमा ट्राफिक नियमबारे उनलाई पनि धेरै सिक्ने मौका मिलेको छ ।

अर्की स्वयंसेवक सुमिना डङ्गोलले ट्राफिकको काम कति गाह्रो हुँदोरहेछ भनेर नजिकबाट महसुस गरिएको बताइन् । ‘घरी यता कुदद्नुपर्ने, घरी उता कुद्नुपर्ने, यात्रु, चालक, बटुवासँग विवाद नगरी सुखै नहुने, उभिएरै काम गरिरहनुपर्ने अझ त्यो धूलो, धुँवा, प्रदूषणले स्वास्थ्यमा कति समस्या होला, त्यसको लेखाजोखा छैन’, उनले भनिन् ।

यात्रुहरुलाई पनि छिटो बाटो काट्नुपर्ने सवारी चालकलाई पनि छिटो जानुपर्ने कारण दुर्घटनाको ठूलो जोखिम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न कलेजमा कानुन पढ्दै गरेका विद्यार्थीलाई सहभागी गराएर अहिले उपत्यकाको विभिन्न ३५ स्थानमा ३३५ ट्राफिक स्वयंसेवक खटाएको छ । विहान र बेलुकाको सवारी चाप हुने कार्यालय समयको तीन–तीन घण्टा स्वयंसेवक खटिन्छन् ।

न्यून जनशक्तिका कारण जहाँतहीँ ट्राफिक प्रहरी पुग्न सक्ने अवस्था नरहेकाले समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार युवा, विद्यार्थी र समुदायसँग सहकार्य थालिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । स्वयंसेवक अभियान प्रभावकारी देखिएकाले निरन्तरता दिने योजना बनाएको उनले जानकारी दिए ।

ट्राफिक प्रहरीको अभिलेखमा उपत्यकामा पछिल्लो चार महिनामा सवारीको ठक्करबाट २३ पैदलयात्रुको मृत्यु भएको छ । झण्डै ७०० घाइते भएका छन् । कतिपय घटना पैदलयात्रु कै कारण हुने भएपनि धेरै घटना भने चालकको लापरवाही देखिएको महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । नियम उल्लङ्घनदेखि बढी दुर्घटना सङ्ख्याका हिसाबले मोटरसाइकल छ । गत वर्ष चार हजार सवारी दुर्घटना मध्य तीन हजार ७०० दुर्घटना चालकको लापरवाही देखिन्छ ।

नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिन्छ । त्यसैले स्वयंसेवकलाई ट्राफिक नियमको पालनाका लागि खटाइएको छ । न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई स्वयंसेवकले ठुलो सहयोग गरिरहेका छन् । उनीहरु जेब्राक्रसिङबाट जथाभावी बाटो काट्न दिँदैनन् । पिक एण्ड ड्रपमा छिटो सवारी पठाउन खटिन्छन् । स्काईब्रिजको प्रयोग र लेन अनुसार सवारी चलाउन प्रोत्साहित गर्दै आएका छन् भने गाडीभित्र आरक्षण सिटको दुरुपयोग रोक्नसमेत खटिने गरेका छन् । यसअघि राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा पहिलो चरणको स्वयंसेवक खटिएका थिए । अहिले दोस्रो चरणमा कानुनका विद्यार्थी स्वयंसेवक भएर खटिएका छन् ।

अर्को चरणका लागि पद्मकन्या क्याम्पस, रोटरी क्लबसँग कुरा भइरहेको र त्यसपछि विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिने महाशाखाले जनाइएको छ । ‘यसरी खटिँदा उनीहरुले ट्राफिक प्रहरीको दुःख देख्नेहुँदा ट्राफिक नियममा गम्भिर हुन सिकाउँछ, घर र परिवारमा उनीहरुमार्फत सन्देश पुग्छ, उनीहरु आफैँ पनि सच्चिन्छन्’, महाशाखा प्रमुख ढकालले भने । स्वयंसेवक भएबापत पाउने प्रमाणपत्र हरेक ठाउँमा प्राथमिकता हुने भन्दै ढकालले प्रहरीमा भर्ना हुनकै लागि पनि विशेष ग्राह्यता पाउने बताए ।

उनीहरुले कसरी काम गरेका छन्, समयमा आए की आएनन् भनेर फिल्डमा खटिएको ट्राफिक प्रहरी कमाण्डरले निगरानी गर्ने गर्छ । त्यसैको आधारमा स्वयंसेवकको मुल्याङ्कन हुन्छ । कानुनका विद्यार्थी भएकाले उनीहरु आफैंँले पनि अनुसन्धान गरेर एउटा प्रतिवेदन तयार पार्ने भएकाले नयाँ रणनीति बनाउनसहयोग पुग्ने विश्वास गरिएको छ ।

उपत्यकाको बढी सवारी चाप हुने ३५ स्थानमा स्वयंसेवक खटिएका छन् । यसपटक काठमाडौँ स्कुल अफ ल, चक्रवर्ती अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका ३५५ विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा सहभागी छन् । ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरणअन्तर्गत पाँच सय युवा परिचालन गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले यसलाई देशव्यापी बनाउने योजना अघि सारेका छन् ।

प्रतिक्रिया