‘भू–स्वर्ग’ खप्तड चिनाउने चासो

सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने खप्तड क्षेत्रलाई देशभित्र र बाहिर चिनाउन यहाँका स्थानीयवासी र संघ संस्था अग्रसर भएका छन् । कुनैवेला निगालोको जंगलका रूपमा चिनिँदै आइएको खप्तड क्षेत्रलाई पछिल्लो समय सुदूरपश्चिमका स्थानीयवासी प्रकृतिले दिएको अनुपम उपहार भन्दै संसारभरि चिनाउन लागिपरेका छन् ।  असाधारण तपस्वी खप्तड बाबाले ५० वर्ष तपस्या गरेपछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’को उपनाम दिएका थिए । उनी आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन् । सन् १८८० मा भारतको काश्मीरमा बस्ने नेहरू परिवारमा जन्मेका खप्डतबाबा १९८६ मा नेपाल आएका थिए । उनले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबिबिएस र बेलायतबाट शल्य चिकित्साबारे अध्ययन गरेका थिए । काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शन अध्ययन गरेपछि गहन साधनाका लागि उनले नेपालको खप्तड लेक राजेका थिए ।

उनका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन पुस्तकहरू प्रकाशित छन् । प्रकाशन हुन नसकेका उनकै हस्तलिखित अरू थुपै कृतिहरू विभिन्न मन्दिरहरूमा रहेका छन् । खप्तड बाबाको ०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो । खप्तड बाबाले भने झै खप्तड भू–स्वर्गभन्दा कम नभएको यहाँका स्थानीयवासीको दाबी छ । खप्तड क्षेत्रमा पर्यटकहरू भित्र्याउन अहिले सुदूरपश्चिमेलीहरू रातदिन खटिरहेका छन् ।


गलैँचा बिच्छाएझैँ लाग्ने विशाल हरिया फाँटहरू, मनै लोभ्याउने रंगीचंगी फूल, आश्चर्य लाग्ने त्यहाँको मौसम सायदै पृथ्वीका कुनै कुनामा भेटिएलान् । बाइस पाटन ५२ झोती भएको नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड क्षेत्र ।

हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रूपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य पनि भएको डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए । उनले भने–‘सुदूरपश्चिम आउने पर्यटकका लागि खप्तड नपुगी नहुने ठाउँ हो । खप्तड पुग्दा मनका अशान्ति सबै हराउनेछन् ।’

चार रैथानेसहित १३५ प्रजातिका फूल खप्तडमा नियाल्न सकिन्छ । यहाँ २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुंगी हेर्न पाइन्छ । विश्वमै दुर्लभ मानिने हरियो छेपारो खप्तडमा पाइन्छ । बाह्रै महिना पानीको सतह एकनासको हुने विशेषता रहेको १५० मिटर लामो ५० मिटर चौडा दह पनि यहाँ छ । सहस्रलिंग, नागढुंगा, ताल, दुर्लभ बझांगी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार हुन् । प्रकृतिले खप्तड धनी छ नै । धार्मिक रूपले पनि यो त्यतिकै प्रसिद्ध छ ।

पूर्वीचौकी गाउँपालिकाका कांग्रेस नेता रामप्रसाद उपाध्यायले भने –‘खप्तड क्षेत्र जति प्राकृतिक रूपमा धनी छ, त्यत्ति नै धार्मिक रूपमा पनि ओजपूर्ण छ । खप्तड पुगे घर फिर्ता हुन मन लाग्दैन ।’ खप्तडको त्रिवेणी मन्दिर धार्मिक रूपले अत्यन्त महत्वपूर्ण मानिन्छ । गंगादशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरूको ओइरो लाग्ने गर्छ । त्यो सँगै खप्तड बाबाको कुटी छ यहाँ । समुद्री सतहदेखि करिब दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ ।

कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचंगी फूलहरूसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषय पनि भएको डोटीका नेकपाका नेता तथा संघीय सांसद प्रेमबहादुर आलेमगरले बताए । खप्तड पुगी प्राकृतिक सुन्दरताको आनन्द लिने मात्र होइनन्, धार्मिक आस्था राख्नेहरू पनि अधिक छन् । त्रिवेणी, खापरदह, सहस्रलिंग, नागढुंगा, गणेशस्थान जस्ता सांस्कृतिक महत्व बोकेका धार्मिक स्थलहरू पनि खप्तडमा रहेका छन् । गंगादशहराको वेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ । पर्यटनका दृष्टिले खप्तड अत्यन्त उर्बर क्षेत्र भएको स्थानीयवासीको दाबी छ ।


यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, बाजुरा र डोटीको आर्थिक रूपले सबल बन्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर खड्काले बताए । उनले भने –‘खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ । अरूभन्दा खप्तडको विकास गर्न सके राम्रो ।’ खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटनसँगै अनुसन्धानकर्ताका लागिसमेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताए ।

उनले भने, ‘खप्तडमा पर्यटन प्रवद्र्धन गर्न सकिए अर्बौं रुपैयाँको कारोबार हुनेछ ।’ पर्यटनबाहेक खप्तडको जडीबुटी र वनस्पति अर्को आयस्रोत हुन् । जंगली विषदेखि संजीवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्र आउनुभएका अनुसन्धानकर्ता नारायण रूपाखेती बताउछन् । खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रूपमा समेत काम गरिसक्नु भएका रूपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने पनि सिंगो सुदूरपश्चिम धानिने दाबी गरे । खप्तडको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन गरिएको थियो ।

त्यसयता झण्डै २२ करोड रुपैयाँ विकास समितिमा आइसकेको छ तर, अहिलेसम्म पर्यटकलाई खाने बस्नेसमेत खासै व्यवस्था हुन सकेको छैन । खप्तडको बिचपानी र पाटनमा दुई वटा विश्राम गृह बनाइएको भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किनुभएका सञ्चारकर्मी मोहन शाहीले बताए । हरेक समिति र त्यहाँका कर्मचारी बर्सेनि आर्थिक अनियमितताको आरोपले मुछिँदै आएका छन् । खप्तड मध्यवर्ती क्षेत्र विसं ०६१ सालमा गठन भएको हो । खप्तडको मध्यवर्ती क्षेत्रअन्तर्गत चार जिल्लाका तत्कालीन २१ गाविस रहेका छन् । निकुञ्जको आम्दानी न्यून छ । निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले भने –‘पर्यटकबाट केही आम्दानी हुन्थ्यो, त्यो पटक्कै छैन । अरू आयस्रोत अहिले निकुञ्जसँग छैन ।’ निकुञ्जबाट आएका वन्यजन्तुले अन्नपात खाइदिने, मान्छेमाथि आक्रमण गर्ने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीयवासी निरास छन् ।

निकुञ्ज भएकाले आफ्ना बस्तुभाउहरूको चरिचरनमा पनि समस्या भएको स्थानियवासी धनबहादुर विष्टले दुःखेसो गरे । उनले भने ‘निकुञ्जका जनावरले हाम्रा खेतीपाती र अन्नबाली सबै खाई दिन्छन्, राहत पाइँदैन । हाम्रा चौपायालाई निकुञ्जमा चर्ने अनुमति छैन । हामीलाई समस्या छ ।’

प्रतिक्रिया