साइबर अपराधमा यौन हिंसा बढी

काठमाडौं । क्याम्पस पढ्दै गरेकी कविता (नाम परिवर्तन) दुईवटा फेसबुक चलाउँदै आएकी थिइन् । एक दिन साँझ विमल नामका युवकले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाए । स्मृतिले तत्काल एसेप्ट गरिन् म्यासेन्जरमा कुराकानी हुन थाल्यो । म्यासेन्जरमा भिडियो कल पनि बाक्लिँदै गएको थियो । फेसबुक मार्फत् उनीहरूबीचमा मायाप्रेम बस्यो । उनीहरू करिब एक वर्षसम्म पे्रम सम्बन्धमा रहेका थिए । पहिलो भेटपछि विमलको प्रेममा चुर्लुम्म डुबेकी ती युवतीले विमललाई अथाहा विश्वास गर्न थालिसकेकी थिइन् । ती युवतीको फेसबुकसमेत विमलले चलाउन थालेका थिए । विमलले ती युवतीलाई नग्न तस्बिर पठाउन आग्रह गर्न थाले । उनले पनि विमलले भने बमोजिम गर्न थालिन् । उनका नांगा फोटाहरू विमलले मोबाइलमा संकलन गरेर राखेका थिए ।

उनको मोवाइलमा ‘अर्को केटाको फोटो भेटिएको’ निहुँमा विमलले फेसबुक अकाउन्ट प्रयोग गरेर नांगा फोटाहरू पोस्ट गर्दै आफूले भनेअनुसार नमानेमा आफन्तहरूलाई समेत त्यस्ता फोटा पठाइदिन्छु भन्दै ब्ल्याकमेल गर्न थाले । फेसबुक वालमा नांगा फोटो पोस्ट गर्दै विमलले मानसिक तनाव दिएपछि उनी प्रहरीको ढोकामा पुगिन् ।

नमिता (नाम परिवर्तन) को कथासँग स्मृतिको कथा करिब–करिब मिल्छ । फेसबुकमा एक दिन प्रवेश क्षेत्रीको नामबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनलाई त्यसरी रिक्वेस्ट पठाउने प्रदीप नामका युवा थिए । फेसबुकबाट सुरु भएको कुराकानी प्रेम सम्बन्धमा पुग्यो । फेसबुक प्रवेशले चलाउँदै आएका थिए । उनीहरूबीच सामान्य कुरामा विवाद भएको थियो । केही समय सम्पर्कविहीन जस्तै भए । त्यसको केही समयपछि नमिताको विवाह हुँदै थियो । सो कुरा थाहा पाएपछि प्रवेशले ब्ल्याकमेल गर्न थाले । त्यसपछि नमिता प्रहरिकोमा पुगेकी थिइन् ।

माथि उल्लेखित पछिल्लो समय एकपछि अर्को गरी बढ्दै गएको ‘साइबर क्राइम’का प्रतिनिधिमूलक घटना हुन् । विद्युतीय माध्यमबाट हामीले चलाउने फेसबुक, ट्विटर, भाइबर र विच्याट जस्ता सामाजिक सञ्जालको दुरूपयोग गर्दै पछिल्लो समय यस्ता घटनाहरू एकपछि अर्को गरी बढ्न थालेका छन् । साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन् । जसको चपेटामा नेपाल पनि परेको छ । प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ । साइबर अपराधका कारण विशेषगरी स्कुल कलेज पढ्ने युवती र अधबैँसे महिलाहरू बढी प्रताडित हुने गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिइका छन् ।

यसरी बढ्दै छ साइवर अपराध
आर्थिक वर्ष ०७३।७४ देखि र चालु आर्थिक वर्षमा भएका साइवर अपराधको तथ्यांक मात्रै विश्लेषण गर्ने हो भने साइबर अपराधको घटना दोब्बरले वृद्धि भएको देखिन्छ । ०७६।७७मा २५ वटा साइवरका घटना दर्ता भएको थियो । महानगरीय प्रहरी परिसर टेकुमा चालु आर्थिक वर्षको पाँच महिनामा ५० वटा घटना दर्ता भएको छ । गत आर्थिक वर्षका एक सय ५२ वटा घटना दर्ता भएको थियो । जसमा एक सय १५ पुरुष र सात जना महिला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

काठमाडौं केन्द्रित अनुसन्धान
साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा मात्र दर्ता हुन्छ । महानगरीय प्रहरी परिसर काठमाडौं, केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखामार्फत अनुसन्धान भएर काठमाडौं जिल्लामा बाहेक अन्यत्र साइबर अपराधको मुद्दा दर्ता नहुने भएपछि ठूलो संख्यामा पीडितहरू पीडा लुकाएरै बस्न बाध्य भएका छन् ।

बाहिरी जिल्लामा साइबर अपराधसम्बन्धी कुनै कसुर भएमा पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन मिल्दैन । किनकि जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दर्ता नै हुँदैन । जिल्लामा दर्ता नभएपछि पीडितहरू काठमाडौंसम्म पुग्ने झन्झट ब्यहोर्न चाहँदैनन् । त्यसको मारमा पीडितहरू पर्ने गरेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) को माध्यमबाट अश्लीलता प्रदर्शन गर्ने, गाली बेइज्जती गर्ने, सामाजिक सञ्जालमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखको अपमानजनक तस्बिर सेयर गर्ने, दताबिना नै चलेका अनलाइनहरूले कपोलकल्पित समाचार प्रकाशन गर्ने, अश्लीलता प्रदर्शन गरेर धम्की दिई यौन शोषण गर्ने, सामाजिक बेइज्जत गर्ने, गोप्य कुरा भंग गर्ने र नक्कली फेसबुक एकाउन्ट खोल्ने गरेको उजुरी काठमाडौं प्रहरी तथा केन्द्रीय अनुसन्धान ब्युरोमा पर्ने गरेका छन् । पछिल्लो समयमा हुने हरेक किसिमका अपराधमा समेत साइबरसम्बन्धी अपराध जोडिएर आउने गरको छ ।

यस्तो छ कानुनी कारवाही
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ को दफा ४४ देखि ५४ सम्म साइबर अपराधसम्बन्धी कानुनी व्यवस्था गरिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ दफा ४४ मा कम्युटर स्रोत संकेतको चोरी नष्ट वा परिवर्तन गर्नेलाई तीन वर्ष कैद वा दुई लाख जरिवाना गर्नसक्ने कानुनी व्यवस्था रहेको छ ।

कम्युटर धनीको अख्तियारी बेगर कसैको कम्युटर प्रयोग गरेर सूचना र तथ्यांकमा पहुँच बनाएमा कसुरको गम्भीरता हेरी दुई लाखसम्म जरिवाना वा तीन वर्ष कैद हुने कानुनी व्यवस्था रहेको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ को दफा ४७ मा कम्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धको सामग्री वा कसैप्रति घृणा फैलाउने, जातीय सम्बन्धमा खलल पार्ने किसिमको सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई हैरानी गर्ने जस्ता कसुर गरेमा एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया