हुलाकी सडक : एकातिर बन्दै, अर्कोतिर भत्किँदै

लहान । सिरहामा रहेको कमलादेखि बलानसम्मको हुलाकी सडकमा अपग्रेडिङको काममा व्यापक लापरवाही भइरहेको खुलासा भएको छ । सडक अपग्रेडिङको लागि स्वच्छद रोशन महादेव खिम्ती प्रालिले १ अर्ब ३५ करोड ३० लाख २२ हजार ०७० रपैयाँमा निर्माणका लागि ठेक्का लिएको छ । ठेक्का बमोजिम काम नगरेको स्थानीय विवेक यादवले भने हिलोकिचरसहितको ढलान गर्दा पुल कमजोर बन्दै गएको छ ।

चाहेको मात्रामा सिमेन्ट प्रयोग नगरिएकोले निर्माण कार्य कमजोर रहेको गुनासो गरेको छ । योसँगै इँटाको ठाउँमा ढुंगा प्रयोग गरिएकोले एकातिर निर्माण कार्य भइरहेको छ भने अर्कोतिर भत्किन थालेको अवस्था छ । हुलाकी सडकको वरियारपट्टीस्थित निर्माण सम्पन्न नहुँदै वाल भत्किन थालेको स्थानीय सुनील साहले भने गुणस्तरहीन सामग्री प्रयोग गरेर कन्ट्रक्सनले विकास निर्माण कार्यलाई प्रभावित बनाइरहेको छ ।

औरहीको दरहैयास्थित हुलाकी सडकमा पुल निर्माण गर्दा कमसल सामग्रीको कारण पुलमाथिको वाल भत्किन थालेको छ । सडक निर्माणको बेला समयसमयमा पानीको फोहोरा हाल्नुपर्ने तर बेवास्ता गरी काम गर्दा धुलोले स्थानीय प्रभावित बनेको छ । यसबारे निर्माण कार्यका ठेकेदार अच्युत राउतले भने, ‘यो काम विनाइस्टिमेटमै भइरहेको छ । हामी डिजाइनअनुसार काम गर्छौं । जहाँ भत्किएको छ, त्यहाँ हामी फेरी बनाउने काम गर्ने योजनामा छौँ ।’

काम कम भुक्तानी बढी
हुलाकी सडकअन्तर्गत सिरहाको नवराजपुर गापा–४ स्थित कल्याद खोलामा निर्माण भइरहेको पुलको लागत ४ करोड ६४ लाख १० हजार ८ सय ६० रुपैयाँको रहेको छ । सो ठेका सूर्य विकास जेभी कन्ट्रक्सन लहान सिरहाले लिएको छ भने अहिलेसम्म एउटा पिलर मात्र खडा गरिएको छ । जसमा ५० लाख जतिको काम भएको अनुमान गरिएको छ । जहाँ ठेकेदारले १ करोड १५ लाख भुक्तानी पाइसकेको छ । कामभन्दा बढी रकम निकासा गरेकोले निर्माण कार्य यतिबेला रोकिएको स्थानीय रविन यादवले बताए ।

प्रतिक्रिया