‘कौन बनेगा करोडपति’ बन्द हुँदै

एजेन्सी, मुम्बई । बलिउड अमिताभ बच्चनद्वारा सञ्चालित लोकप्रिय टिभीको गेम सो ‘कौन बनेगा करोडपति’ को ११औँ सिजन चार दिनपछि बन्द हुने भएको छ । १३ हप्तासम्म चलेको उक्त सोले दर्शकको ज्ञान वृद्धिसँगै मनोरञ्जन प्रदान गरेको थियो । सोको सुरुमै यसको पूरै योजनाबारे आधिकारिकरूपमा कार्यक्रम राखेर घोषणा गरिएको थियो । सोका सञ्चालक अमिताभले सुरुमै सो १३ हप्ता चल्ने जनाएका थिए । उनले भनेका थिए, ‘कौन बनेका करोडपति’ को यसपटकको यात्रा १३ हप्ता चल्नेछ र यो सिजनमा कुल ६५ एपिसोड हुनेछन् ।’

यसपटकको सोमा एकहप्तामा चारजना सहभागीले मात्रै आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाएका थिए । त्यसमध्ये शुक्रबारको सो कर्मवीर एपिसोडका लागि रिजर्व गरिएको थियो । यसमा वास्तविक जीवनका सफल व्यक्तिले प्रश्नको उत्तर दिएको देखियो । उक्त सोमा देशमा विभिन्न कारणले चर्चित र परिचित व्यक्तिलाई बोलाइएको थियो । यस एपिसोडका पाहुना राष्ट्रिय प्रकोप उद्धारबलका जवानहरू रहेका थिए ।

त्यस्तै, सोमा बलिउडका चर्चित कलाकारहरू पनि सहभागी भएका थिए । अभिनेत्री तापसी पन्नुदेखि अभिनेता इमरान हासमीसम्मले कार्यक्रममा सहभागी भएर आफ्नो प्रतिभा देखाएका थिए । तापसीले कर्मवीर सोमा सहभागिता जनाएकी थिइन् । जसमा आदिवासी संगठनका संस्थापक डा. अच्युत सामन्त सहभागी थिए । उनले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । यसपटक सर्वाधिक ७ करोड राशि राखिएको भए पनि १६ प्रश्नको सही उत्तर दिँदै कुनै पनि सहभागी सो रकम हात पार्न सकेनन् ।

प्रतिक्रिया