शतबीज छर्ने धार्मिक पर्व बालाचतुर्दशी

विश्वनाथ खरेल

श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ । बालाचतुर्दशी पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो । वैदिक सनातन धर्मावलम्बीहरूले यसलाई बढो हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ । धार्मिक आस्था तथा परम्पराको विश्वासको आधारमा नै शतबीज छर्ने कार्य गर्ने गरिन्छ ।

वैदिक सनातन धर्मालम्बीहरूको प्रमुख चाडपर्वमध्ये बालाचतुर्दशी पनि एक हो । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका तिथिमा यो पर्व मनाइन्छ । यस वर्षको पर्व मंसिर ९ गते सोमबारको दिन सम्पन्न भएको छ । शतबीज छर्नु यो पर्वको मौलिकस्वरूप हो । नेपालका शिव मन्दिर रहेका क्षेत्रमा शतबीज छर्नेहरूको ज्यादै घुइँचो लाग्ने गर्दछ । पशुपतिनाथ मन्दिरमा त यस दिन खुट्टा राख्न पनि मुस्किल हुने गरी भीड लाग्छ । यसै क्षेत्रमा रहेको मृगस्थली बनमा हजारौँ मानिसहरूले शतबीज रोपण गर्ने गरेका छन् । हाम्रो संस्कृति गाथामा एउटा भनाई छ “स्वधर्मे निधनं श्रेय ः परधर्मो भयावह । ” यसैले न हो वास्तविक विश्व विजेताहरू साम्राज्य बीजय हेरी सांस्कृति विजयलाई बढ्ता महत्व दिइन्छ । तसर्थ नेपाली समाजमा वर्षभरिमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो समाजमा, धार्मिक आस्था अनुसार मनाइने यस्ता चाडपर्वमा बालाचतृर्दशीको पनि आफ्नौ किसिमको महत्व बोकेको छ ।

बालाचतृर्दशीको पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल महात्म्य तथा शिवपुराणहरूले वर्णन गरेका छन् । हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरूप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिँड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा पं्राणी मात्रको जीवनयापनको लागि चाहिने अन्य दान गर्ने मानव जातिले छरेको एक गेडा अन्न बराबर एक तोला सुनदान गरेको पुण्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ । शतबीज त्यस वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी वन क्षेत्रमा छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ । शतबीज छर्ने पर्वको परम्परा कहिलेबाट बस्यो भन्ने जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक वनमा आई अत्यन्त आकर्षक मृगरूप धारण गरी वर्षांै वर्ष बितेको पत्तै भएन । माता पार्वतीलगायत समस्त देवीदेवताहरूलाई ज्यादै पिर पा¥यो । भोलेबाबा कहाँ हुनुहुन्छ भनी दिव्य दृष्टिले हेर्दा त भगवान् मृगरूप धारण गरी पशुपति क्षेत्रमा बन विहार गरी रहनुभएको देवी पार्वतीले थाहा पाउनुभयो । शिवरूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले थाहा पाउनुभयो, शिवरूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको बीज छर्नुभयो । केही हप्तापछि छरिएका बीउहरू उम्रिएर हरियो घाँस भएपछि घाँस देखेर मृगहरू लेभिएर आउन थाले आएका मृगमध्ये मृगरूपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरूवात भएको शतबीज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति बन्यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहने छ ।

प्रत्येक वर्ष शतबीज भन्नाले सात किसिमका चिजका गेडागुडीहरू भन्ने बुझिन्छ । यी शतबीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सरस्र्यू, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्दछन् । शतबीज छर्न नेपाल अधिराज्यका विभिन्न भागहरू लगायत मित्रराष्ट्र भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । त्रयोदशीका दिन महाद्विप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिँड्छन् । यस दिन टाढा जान असमर्थ कतिपयले नजिकको तीर्थ स्थल मन्दिर, देबालयमा गई शिव प्रार्थना गरी रातभर जाग्रांम बस्ने प्रचलन पनि जनसमुदायमा बिद्यमान छ । शतबीज छरिसकेपछि खीर, फलाहार, दही, च्यूरा, पुलाउ इत्यादी मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा विद्यमान छ । यसरी हाम्रो समाजमा दुई थरी विश्वास बोकेका मानिसहरूको शतबीज छर्ने प्रचलन छ । एकथरी अधिल्ला वर्षहरूमा आफ्नो परिवारजनको स्वर्गारोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबीज छँदै चिरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशा गर्दछन् । सार्वजनिकरूपले शतबीज छर्ने अधिल्लो दिन अर्थात मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई किमति गरगहना पहिराइन्छ । सक्कली एकमुखे रूद्राक्ष, नागमणिजस्ता वस्तुहरू ढुकुटीबाट झिकिन्छन् । त्यसरी झिकिएका वस्तुहरू मार्ग कृष्ण औँसीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबीज छरिन्छ । जसलाई “कएन्या” भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबीज छर्ने कार्य समाप्त हुन्छ । बालाचर्तुदशीको दिनदेखि पशुपतिनाथलाई तचातो स्नान गराउँछ । तातो पानीले गराइन्छ । चैत्र कृष्ण चनुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ । शतबीज छर्दा महत्व बुझनेहरू सबेरै बाग्मतीमा नुहाएर “सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधते” भनी मन्त्र पढ्दै शतबीज छदर्छन् । यसर्थ हरेक साल शतबीज छर्नेहरूको धुइँचोसँगै काठमाडौं उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो । यसपटक पनि जाडो त अवश्य बढ्ला नै तर मुलुकको वर्तमान शान्तिको स्थितिको कारण गर्दा श्रद्धालुहरूको घुइँचो विगतका वर्षहरूको तुलनामा बढ्ने अनुमान गरिएको छ । यस दिन बौद्धवलम्बीहरू स्वयम्भूमा शतबीज छर्न धाउने गर्छन । पितृहरूको नाममा लामा, शेर्पा, तामाङ, गुरूङ आदि जनजातिहरूले अन्न, फलफूल छर्ने गरको भन्ने उनीहरूको भनाइ छ – बज्राचार्यले जनजातिहरूको भनाई उद्धृत गर्दै भन्नुभयो । सो दिनमा देवताहरूको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनिहरूको छ । देवताहरूको पनि देवता पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्वपूर्ण मन्दिरहरूमा पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ । तसर्थ, मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाश डाँडाको मृगस्थलीमा मानिसको रेलो लाग्न थाल्छ । पसलेहरू सकेसम्म राम्रो ठाउँ ओगटे र पाल हाली बजार बसाल्न थाल्छन् । अनि अरू यात्रुहरू जहाँ–जहाँ मिल्छ त्यहीँ त्यहीँ आफ्ना डफ्फाका साथ आसन बसाउँछन् साँझ पर्दा सम्ममा कैलाशको चौरमा खुट्टो राख्न पनि मुस्किलले पाइने स्थिति हुन्छ । साँझ परेपछि धार्मिक अनुष्ठान सुरु हुन्छ । एकातिर परिवारका मुली वा जिम्मेवार व्यक्तिहरू पशुपतिको मूल बत्तिबाट पितृका नाउँको दियो वा महादीप, जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भर्ने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन् । अनि केही धार्मिक प्रवृत्तिका रसिक पाकाहरू पनि बैंसको स्मृतिमा भजन, चुड्का, कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन् ।

समग्रमा भन्नुपर्दा पशुपतिक्षेत्रमा त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रातझैँ सुनिन्छ । कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुक जस्तो गाढा अंधकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहे झैँ देखिन्छ । अनि चतुर्दशीको दिनचाँहि बिहान सबेरै महादीप वा दीप लगेर बागमतीमा सेलाइन्छ र मानिसहरू नुवाइधुवाइ पशुपतिनाथको पूजा गरी शतबीज छर्ने कार्य गर्दछन् । यसरी शतबीज छरी सम्पूर्ण अनुष्ठान गरिएको हुन्छ । त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भड्किरहेका आत्मा भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ र श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ । बालाचतुर्दशी पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो । वैदिक सनातन धर्मावलम्बीहरूले यसलाई बढो हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ । धार्मिक आस्था तथा परम्पराको विश्वासको आधारमा नै शतबीज छर्ने कार्य गर्ने गरिन्छ ।

प्रतिक्रिया