जातीय मुक्ति की घृणाको खेती ?

डा. निर्मलमणि अधिकारी

ब्राह्मणको लागि त पढ्नुबाहेक अरू विकल्प नै थिएन । तत्कालीन सामाजिक मान्यता अनुसार ऊ न व्यापार गर्न सक्थ्यो, न त पैसा कमाउन लाहुरे हुन नै सक्थ्यो । अरू त अरू, आफ्नो हलो आफैँले जोत्नेसमेत स्वीकृति थिएन उसलाई । आर्थिक हिसाबबाट हेर्दा अधिकांश ब्राह्मणहरूको स्थिति कमजोर रहेको थियो । अनि के गरोस् त, पढ्नु मात्रै उसँग भएको एक मात्र विकल्प थियो । केही पढ्यो–लेख्यो भने मात्र उसको मानभाउ हुन्थ्यो, नत्र त उसले जति कष्ट कसैले पाउँदैनथ्यो ।

पृथ्वीनारायण शाहले यदि जन(विश्वास आर्जन गर्न नसकेको भए आफ्नो पुख्यौली स्थललाई नभएर पछि जितिएको ठाउँमा राजधानी राख्ने थिएनन्, किनकि, राजधानी असुरक्षित ठाउँमा राखिँदैन । उनले सबैथरीलाई उपयुक्त अवसर र स्थान दिएका थिए, तर पृथ्वीनारायण शाहका सन्दर्भमा कुरा गर्दा यो तथ्य पनि ख्याल राख्नु पर्दछ कि उनको जीवन एक योद्धाको जीवन भएको हुँदा सधैँ अनिश्चितता र गतिशीलता रहेको थियो । उनको पूरै जिन्दगी युद्ध वा त्यसको तयारीका क्रममा भागदौडमा बितेको थियो र उनको देहावसान पनि भागदौडबाट उम्केर सुस्ताउन नभ्याइकनै भयो ।

नेपालको राष्ट्रिय एकीकरण रूपी महायज्ञ उनकै जीवनकालमा सम्पन्न भई, यदि उनलाई युद्धरत नरही स्वाभाविक तवरले शासनरत रहने समय मिलेको भए हाम्रो मुलुकले थुप्रै क्षेत्रमा सुधार तथा विकासको अवसर पाउने थियो भन्ने कुरा स्पष्ट छ । यो देशको दुर्भाग्य होकि उनको त्यति छिट्टै देहावसान भयो र उनले राज्यको ‘थिति’ बसाउन समय पाएनन् । यस दुर्भाग्यको दीर्घकालीन असर परेको छ । पृथ्वीनारायणको देहावसानपश्चात् नेपाली समाज नायकहीनताको स्थितिमा पुगेको हुँदा भुरे–टाकुरे भारदारी गुटका आधारमा सत्ताको खेल खेल्न थालेको देखिन्छ । जब देशमा भारदारी षड्यन्त्रका आधारमा शासन चल्न थाल्यो, तब सारा राज्य संयन्त्र गडबडायो । गुटका आधारमा कसैले स्थान र अवसर पाउने, अनि कसैले नपाउने हुनथाल्यो । त्यो गुटीय हानथापका बेलामा जातीय आधारमा भन्दापनि गुटीय आधारमा पुरस्कृत वा दण्डित गरिनेहुँदा थुप्रैले अनेक किसिमका उतार–चढाव भोग्नुपरेको इतिहासमा उल्लेखित छ । यसबाट क्रमशः देश झन् झन् अव्यवस्थित हुँदैगयो । जसको चरम परिणति राणाको जहानिया शासनका रूपमा भयो । राणा शासनकाल अघिनै देशभित्र भन्दा देश बाहिर जीविका खोज्न जाने प्रचलन सुरु भइसकेकै थियो, त्यो क्रम राणाकालमा अझ बढ्यो ।
त्यसवेला कतिपय जातीय समुदाय जस्तै राई, लिम्बु, मगर, गुरुङ आदिलाई ब्रिटिस सेनामा जान प्रोत्साहित गर्ने परिस्थिति सिर्जित भयो र त्यहाँ कमाइ पनि आकर्षक भएकाले उनीहरू त्यतातिर लागे । यसको चरम परिणति के भयो भने कालान्तरमा अहिले ‘जनजाति’ भनेर चिनाइने जातिका पुष वर्गको लक्ष्य भनेकै लाहुरे बन्नुमा केन्द्रित हुनपुग्यो । आज यतिको शिक्षाको प्रचार प्रसार हुँदाको स्थितिमा त लाहुरेको ‘क्रेज’ कायमै छ भने उतिवेला कस्तो हुँदो हो ? अनुमान गर्न सकिन्छ । यसकारणले गर्दा उनीहरूले पढ्नेतिर र देशभित्रका प्रशासनिक पदका लागि भन्दा पनि बढी जोड आफूलाई लाहुरे बनाउनेतर्फ दिने र त्यसकै लागि तयारी गर्न थाले । शैक्षिक क्षेत्रलाई बेवास्ता गर्नाले शैक्षणिक संस्थान तथा प्रशासनिक क्षेत्रमा उनीहरूको भागिदारी नहुने जस्तो परिस्थिति आयो । जबकि, विदेशमा बल, वीरता, शौर्यबाट उनीहरूले ठूलो इज्जत कमाए । विश्वमा ‘गोर्खा’हरूको रवाफ तिनै वीरहरूको देन हो ।

यता नेवार समुदायका व्यक्तिहरू व्यापार–व्यवसायमा प्रतिस्पर्धा गर्नकै निम्ति भए पनि नयाँ शिक्षा तथा प्राविधिको सिकाइमा लागे । त्यसैले मारवाडी आउनुअघि नेपालका सर्वाधिक धनी व्यक्तिहरू नेवार नै थिए र अहिले पनि मानव विकास प्रतिवेदनअनुसार नेपालमा सबभन्दा उच्च मानव विकास स्तर नेवार समुदायको नै छ । क्षेत्रीहरूले आफूलाई स्वतः शासक जाति ठान्ने गरेकाले होला त्यतिखेर पढाइमा खासै जोड नदिएको देखिन्छ । तर, ब्राह्मणको लागि त पढ्नुबाहेक अरू विकल्प नै थिएन । तत्कालीन सामाजिक मान्यताअनुसार ऊ न व्यापार गर्न सक्थ्यो, न त पैसा कमाउन लाहुरे हुन नै सक्थ्यो । अरू त अरू, आफ्नो हलो आफैंले जोत्नेसमेत स्वीकृति थिएन उसलाई । आर्थिक हिसाबबाट हेर्दा अधिकांश ब्राह्मणहरूको स्थिति कमजोर रहेको थियो । अनि के गरोस् त, पढ्नु मात्रै उसँग भएको एक मात्र विकल्प थियो । केही पढ्यो–लेख्यो भने मात्र उसको मानभाउ हुन्थ्यो, नत्र त उसले जति कष्ट कसैले पाउँदैनथ्यो । यसरी बाध्यात्मक तवरबाटै पनि ब्राह्मणहरू शिक्षाको क्षेत्रमा दत्तचित्त रहे । अहिलेको परिस्थिति हेरेर कहाँ हुन्छ र ? त्यतिखेर त ‘पढे लेख्यो कौने काम हलो जोत्यो खायो माम’ भन्ने चलन थियो नि त । कुनैवेला सबभन्दा अनुत्पादक मानिएको शिक्षाक्षेत्रमा निरन्तर लागिरहेको फलस्वरूप पछि गएर ऊ अगाडि प¥यो ।

भयो के भने विश्व आधुनिकीकरणतर्फबढ्दै जाँदा त्यसको असर नेपालमा पनि प¥यो । विश्व समुदायसँग सम्पर्क गर्न, अनि युगअनुकूल राज्य सञ्चालन गर्न त शिक्षित व्यक्ति नै चाहियो । बदलिँदो परिस्थितिले गर्दा अघि निचोरिएको ब्राह्मण अहिले स्वतः अगाडि प¥यो । यति अगाडि कि शासक जातिका रूपमा रहि आएको क्षत्रीय र आर्थिक क्षेत्रमा एकलौटीजस्तै अधिकार जमाएका नेवारहरूभन्दा पनि अगाडि आयो ब्राह्मण । क्षेत्रीचाहिँ नेवारभन्दा पनि पछाडि धकेलियो । हुन त अहिले ब्राह्मण–क्षेत्रीलाई एकमुष्ट गाली गर्ने गरिन्छ, जसले गर्दा क्षेत्रीहरूको यथार्थ स्थिति जनसमक्ष आएको छैन । नेपालको प्रशासनमा जनसंख्याको आधारमा क्षेत्रीले जति भाग पाउनुपर्ने हो, त्योभन्दा कम नै पाएको छ । तर, ब्राह्मण र नेवारहरूले सर्वाधिक स्थान ओगटेका छन् । त्यो किन त ? त्यो जातीय पक्षपातका कारणले कदापि होइन । हिजो ब्राह्मणलेचाहिँ अरू विकल्प नपाएर र नेवारले चाहिँ व्यावसायिक गुणवत्ताको निमित्त शिक्षा क्षेत्रमा बढीभन्दा बढी परिश्रम गर्नुको फल हो यो त ।
खासगरी, २००७ सालपछिका वर्षहरूमा देशको राजनीति तथा प्रशासनमा शिक्षित–प्रशिक्षित व्यक्तिहरूको माग बढ्दै गयो र सोहीअनुरूप ब्राह्मण र नेवारहरूको भागमा (उनीहरू शिक्षित(प्रशिक्षित भएकाले) स्वतः बढी पर्दै गयो । क्षेत्रीहरू पनि पहिलेदेखि नै शासनमा रहेको हुँदा उच्च तहमा उनको प्रतिनिधित्व कायम रहने नै भयो । शिक्षाको महत्व बुझेर नेवार तथा क्षेत्रीले त्यसमा अरू जोड दिएपछि ब्राह्मणको भाग घटेर नेवार र क्षेत्रीको भाग बढेको देखिन्छ । उदाहरणार्थ, विसं ०३५–३६ मा लोकसेवा आयोगको शाखा अधिकृत र लेखा अधिकृत पदको परीक्षामा उत्तीर्ण भएकामध्ये ६४ प्रतिशत ब्राह्मण, १९ प्रतिशत नेवार र १० प्रतिशत क्षेत्री भएकोमा विसं ०४५–४६ माचाहिँ अधिकृत पदमा ४८ प्रतिशत ब्राह्मण, २६ प्रतिशत नेवार र १५ प्रतिशत क्षेत्रीले ठाउँ ओगटेका रहेछन् । यसले यही प्रमाणित हुन्छ कि कुनै जाति वा समुदायमा कति शिक्षित सक्षम जन छन् उति नै अनुपातमा भाग मिलेको रहेछ ।

कतिपय जातिवादीहरूले पञ्चायती व्यवस्थालाई गाली गर्ने क्रममा उक्त व्यवस्था ‘खस जातीय एकाधिकारवादी’ अथवा ‘बाहुनवादी राज्यसत्ता’ भनेर भन्ने गरेको अवस्थामा ब्राह्मणहरूको भागिदारी घट्दो क्रममा रहेकोबाट के स्पष्ट हुन्छभने त्यतिखेर जातीय आधारमा कुनै भेदभाव थिएन । अनि, प्रजातान्त्रिक भनिने र खुल्ला प्रतिस्पर्धा हुने बहुदलीय व्यवस्थामा खुल्ला प्रतिस्पर्धा गर्नुपर्दा ब्राह्मणहरूले आफूलाई सक्षम साबित गरिरहेको यथार्थता देख्दा राज्यसत्ता वा प्रशासनिक क्षेत्रमा उनीहरूले पाएको अत्यधिक भागिदारी जातीय आधारमा होइन कि योग्यताको आधारमा हो भन्ने प्रमाणित हुन्छ । त्यसो हुँदा समस्याको जड जातीय आधारमा होइन कि अन्य आधारमा खासगरी शैक्षिक गुणवत्तामा छ भन्ने त आंकडाले नै प्रमाणित गरिरहेको छ ।
(डा. अधिकारीको केही वर्ष पहिलेको एक कार्यपत्रबाट)

प्रतिक्रिया