सन्ध्यामा सीमा चर्चा

काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४०१ औँ शृंखलामा ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयमा परिचर्चा गरिएको छ । कार्यक्रममा ९२ वर्षीय भैरव रिसालले सीमा अतिक्रमण र सीमा सुरक्षाका बारेमा बताउँदै २०१८ सालमा जोनल अफिसर (अहिलेको जनगणना अधिकृत) भएर सुदूरपश्चिममा म गएको जनाए । उनले भने, ‘म हाकिम भएर गएको त्यो ठाउँमा मसँग ८ जना खरिदार गएका थिए । ती सबै मरिसके । त्यहाँ गएपछि खरिदारले मुखिया नियुक्त गथ्र्याे र मुखियाले गणक नियुक्त गथ्र्याे । तिनै गणकले लिम्पियाधुराको जनगणना गरेर ल्याएका हुन् र मैले प्रतिवेदन बुझाएको हुँ ।

त्यो सिंगो क्षेत्र लिम्पियाधुरा हो । कालापानी, लिपुलेक भनेका लिम्पियाधुराअन्तर्गतकै अलग–अलग टुक्रा हुन् । त्यो वेलाको जनगणनामा त्यस्तै तीन सय घर र करिब १,५०० मानिस बसेको जनगणना हामीले गरेका र सरकारलाई बुझाएको थिएँ तर त्यो अभिलेख अहिले सुरक्षित प्राप्त भइरहेको छैन ! अति विकट र चिसो भएका कारण कालापानीमा वस्ती बस्न सक्तैन । सुगौली सन्धीले कालीपारि नेपालले दाबी गर्दैन भनेको छ तर हामीले कालीवारिकै भूमि पनि लिनसकेका छैनौँ !’ उनले राज्यले सुविधा दिएका कारण कालापानीमा भरातीय बस्नसकेको जिकिर गर्दै भारतले त्यहाँ दुई रुपैयाँ किलो चामल र तीन रुपैयाँ किलो चिनी उपलब्ध गराएको बताए ।

उनले भने, ‘तर, हाम्रो सरकारले त्यहाँ पुग्ने गोरेटो बाटो पनि बनाएको छैन, मानववस्तीका लागि आधारभूत संरचनासमेत बनाउनसकेको छैन ! यो पक्षमा ध्यान दिएको भए भारतीय सुरक्षाकर्मी बस्नसक्दा हाम्रा पनि त बस्थे नि । त्यो क्षेत्रबाट बहादुर सिंह अइतवाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएर आएपछि उनले विकासका लागि आवाज उठाए ।’ उनले धेरैपछि माननीय प्रेमसिंह धामीले पनि आवाज उठाए पनि राज्यले बेवास्ता गरेको बताए । उनले भने, ‘मैले जनगणना गरेको समयमा नेपालमा ३५ जिल्ला थिए, हिन्दुस्थानमा कम्पनी सरकार थियो ।

सुगौली सन्धिपछि लिम्पियाधुरा क्षेत्रका वासिन्दाले जमिनको तिरो नेपाल सरकारलाई नै बुझाएको प्रमाण हामीसँग छ । ३७ वर्षअघि ‘उच्चस्तरीय प्राविधकस्तरीय सीमा समिति’ बनेको हो तर त्यसले विवाद टुंग्याउने प्रयत्न गरेको भए पनि सम्भव भएन ।’ उनले अहिले काली नदी कुन हो भन्नेमा नै भारतले विवाद गरिरहेको सुनाउँदै त्यो वेलामा सुगौली सन्धिमा काली नदीको उत्पत्तिस्थल उल्लेख गरिदिएको भए अहिले समस्या नहुने जिकिर गरे ।

वरिष्ठ पत्रकार रिसालले पानी धेरै भएको, लामो बहाव, जलाधार क्षेत्र बढी हुनुले नदीको अर्थ बुझाउने जनाउँदै भने, ‘काली (कुटियानी) लिम्पियाबाट बगेको हो भन्ने यथार्थलाई भारतले नस्वीकारेर अर्काे कृत्रिम लिपुखोला तयार पारी अहिले विवाद खडा गरेको छ, बदमासी गरेको छ ! केही केही नेपालीलाई सुगौली सन्धिताकादेखि नै भारतले खरिद गर्ने गरेको पनि हामीले पाएका छौँ !’ उनले नेपाल सरकारले स्पष्ट सीमासहितको नक्सा उपलब्ध गराई आधारप्रमाणका माध्यमबाट बलियो दबाब दिएर जमिन फिर्ता गर्नुपर्ने धारणा राखे । उनले भने, ‘स्रष्टाले पनि सिर्जनाका माध्यमबाट कडा दबाब दिनुपर्छ ।

हाम्रा पितापुर्खाले बहादुरी देखाएर जोगाएको मुलुकको माटो सबैले मिलेर जोगाउनुपर्छ । बेसर्मी छिमेकीसँग सचेत हुनुपर्ने गम्भीर वेला आएको छ ।’ उक्त कार्यक्रममा डम्बर पहाडी, मुकुन्द न्यौपाने, भोलानाथ सुवेदी, रमेश पोखरेल, प्रमोद स्नेही, नेत्रप्रसाद गौतम, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, प्रशान्त खरेल, राम विनय, दुर्गा रिमाल, रामचन्द्र दाहाल, अनिता लामा, भावना न्यौपाने, ललिता दोषी, नन्दु उप्रेती, डा.गोविन्दप्रसाद आचार्य, बेनीबहादुर थापा, अच्युत घिमिरे, विधान आचार्य, सरस्वती चिमौरिया, यदुनाथ वसन्तपुरे, चूडा निर्भीक, राममणि ढुंगेल, प्रा.डा.खेम दाहाल, नारायणप्रसाद निरौला, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, मिसन अधिकारी, सन्तोष सिंखडा र सुनिल पौड्याल लगायतका स्रष्टाले आआफ्ना कविता, गीत, गजल, हाइकु वाचन गरेका थिए । सन्ध्याका अध्यक्ष राम विनयले सीमा सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सबै देशभक्त नागरिक, स्रष्टा तथा राजनीतिक दल एकठाउँ आउनुपर्ने भनाइ व्यक्त गरे ।

प्रतिक्रिया