भूकम्पपछिको साँखु

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि प्राचीन बस्ती साँखुको अवस्था उस्तै छ । प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको साँखु सहरको आशा गरेअनुसार पुनर्निर्माण हुन सकेको छैन । भूकम्पले ढलेको यहाँको प्राचीन बस्ती र सम्पदाले पूर्णता पाउन अझै कति वर्ष पर्खनुपर्ने हो त्यसको टुंगो छैन ।

०७२ सालको भूकम्पबाट साँखु बजारका मौलिकशैलीका धेरै घर र सम्पदा क्षतिग्रस्त भएका थिए । लिच्छविकालीन इतिहास बोकेको साँखुको भूकम्पपछि निर्माणकार्यले गति लिन नसक्नु दुःखद रहेको स्थानीय पवनलाल श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठका अनुसार अहिलेसम्म भत्किएका धेरै घर बनेका छैनन् । उहाँ भन्नुहुन्छ, ‘यहाँ पुनर्निर्माणको कामले गति लिनसकेको छैन । पुरानो शैलीमा बस्ती पुनर्निर्माण गर्न निकै कठिन छ । पहिलेको तुलनामा अहिले प्राचीन शैलीअनुसार घर बनाउन निकै महँंगो पर्ने हुँदा पनि यहाँको इतिहास लोप हुने अवस्थामा पुग्छ कि भन्ने डर छ ।’

साँखु करिब तीन हजार तीन सय वर्ष पुरानो बस्ती हो । यहाँको ऐतिहासिक, सांस्कृतिक पक्ष, बसोवास क्षेत्र, बज्रयोगिनी देवीको धार्मिक महत्व, शालीनदीको कथालगायतका विषयले इतिहास बोकेको छ । प्रा.डा. डिल्लीराज शर्मा र प्रा. डा. टेकबहादुर श्रेष्ठले ‘साँखु हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’ नामक पुस्तकमा पनि साँखुको ऐतिहासिक र सांस्कृतिक पक्षबारे धेरै कुराहरू प्रष्ट पार्नुभएको छ ।

जग्गा विवाद, पुरातत्व विभागको बेवास्ता, आर्थिक अभाव र नगरपालिकाको हेलचेक्र्याइँ यहाँको बस्ती पुनर्निर्माण नहुनुका कारण बनेका छन् । भूकम्प गएको दुई वर्षसम्म शंखरापुर नगरपालिकाले सहरको पुनर्निर्माण कसरी गर्ने भन्ने ढाँचासहित नक्शा तयार गर्न सकेन । त्यसपछि मात्रै ऐतिहासिक घरको पुनर्निर्माण पुरानै शैलीमा गर्ने निर्णय ग¥यो । ऐतिहासिक सहर भएकाले पुनर्निर्माण कुन शैलीमा गर्ने र कसले गर्ने भन्ने अन्योलले पुनर्निर्माणमा ढिलाइ भएको नगरप्रमुख सुवर्ण श्रेष्ठले स्वीकार गरे ।

पुरानै शैलीअनुसार घर पुनर्निर्माण गर्न हालको बजार मूल्यअनुसार प्रतिघर ५० देखि ९० लाखसम्म खर्च लाग्ने प्राविधिक तथा स्थानीयवासी बताउँछन् । लिच्छविकालीन झ्यालढोका निर्माण गर्न निकै महँंगो पर्ने हुँदा स्थानीयवासी मर्कामा परेका छन् । लिच्छविकालीन शैली अनुसार नै आवास निर्माण गर्नेलाई थप ५० हजार अनुदान दिने निर्णय गरेको भए पनि साँखुवासीले भने अहिलेसम्म उक्त रकम पाएका छैनन् ।

नगरपालिकाका इन्जिनियर मिलन फुयाँलका अनुसार पुरातत्व विभागले ५० हजार अनुदान सहयोग गर्ने बताए पनि कार्यविधि नबन्दा पीडितले अनुदान रकम पाउनबाट वञ्चित हुनुपरेको बताए । नगरपालिकाले भत्किएका घर पुरानैशैलीमा पुनर्निर्माण गर्ने भने पनि आर्थिक अवस्था कमजोर भएका बासिन्दाले भने ठूलो रकम खर्च गरेर घर बनाउन नसक्ने हुँदा साँखुको साख मेटिने हो कि भन्ने चिन्ता रहेको स्थानीय संगीता श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार, ‘प्राचीन शैलीअनुसार घर निर्माण गरिसक्दा एक करोड रूपैयाँ खर्च भयो ।

जग्गासमेत बेचेर पुरानै शैलीमा आवास पुनर्निर्माण गरे । हुनेले ऋण लिएर वा जग्गा बेचेर पुनर्निर्माण सुरु गरेका छन् तर नहुनेले अझै बनाउन सकेका छैनन् ।’ सरकारले उपलब्ध गराउने अनुदानले एउटा झ्यालढोका पनि नआउने हुँदा पुरानै शैलीमा निर्माण हुने घर लोप हुने अवस्थामा पुगेका छन् । सरकारले बिनाधितो ऋण वा सहुलियतपूर्ण ऋण वा व्यक्तिगत तवरमा हुने पुनर्निर्माणमा अतिरिक्त अनुदानको व्यवस्था गरिदिएको भए सहरको मौलिकता नमर्ने गरी पुनर्निर्माण गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

साँखुको इतिहास जोगाउन घरमा सटर हाल्न नपाइने, ढोका झ्याल काठकै पुराना शैलीको हाल्नुपर्ने, तेस्रो तलासम्म छत राख्न नपाइने, परम्परागत शैलीका घर पुरानै जगमा बनाउनुपर्ने नगरपालिकाले नीति बनाएको भए पनि सो अनुसारको घर निर्माण हुन नसकेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । पुरानैशैलीमा घर पुनर्निर्माण गर्ने स्थानीयवासीलाई अनुदानस्वरूप थप एक लाख दिने नगरपालिकाले निर्णय गरेको छ । तर, प्राचीन शैलीका घर बनाउन लाग्ने कूल लागतको तुलनामा यो सहयोग नगण्य हो । साँखुमा परम्परागत शैलीका एक हजार घर थिए जसमध्ये तीन सयमा आंशिक क्षति पुगेको थियो । बाँकी सात सय घर पूर्णरूपमा क्षतिग्रस्त भएको नगरपालिकाको तथ्यांकमा छ ।

नगरपालिकाले दिएको जानकारीअनुसार पुरानोशैलीका पूर्ण सातपमा क्षतिग्रस्त भएका ७ सय घरमध्ये ९० वटा निर्माणको चरणमा छन् भने ११ घर सम्पन्न भइसकेको छ । जनस्तरबाट मात्र नभई सरकारका तर्फबाटपनि यस्ता ऐतिहासिक संरचनाको जगेर्ना गर्ने काम तदारूकताका साथ भइदिए साँखुको वैभवपूर्ण सांस्कृतिक सम्पदालाई चिरकालसम्म बचाइराख्न सहयोग पुग्ने पुरातत्वविद् डा श्रेष्ठ बताउनुहुन्छ । भूकम्पमा परी शंखरापुर नगरपालिकामा मात्र २६ पुरूष र ७२ महिला गरी ९८ जनाको मृत्यु भएको थियो भने छ हजार ४५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।

प्रतिक्रिया