पढाइ पूरा नभई वार्षिक परीक्षामा सहभागी

जुम्ला । पढाइ पूरा नहुँदै जुम्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने गरेका छन् । जुम्लामा रहेका अधिकांश विद्यालयमा पढाइ नसकिँदै विद्यार्थीले वार्षिक परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । समयमै पाठ्यपुस्तक नपुग्नु र पुगे पनि नियमित शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेका कारण विद्यार्थीले पढाइ पूरा नहुँदै परीक्षा दिनुपर्ने बाध्यता रहेको हो । मुख्य विषयका पढाइ आधा पढ्दै विद्यार्थी परीक्षामा सहभागी हुनुपर्ने अवस्था रहेको छ ।

हिमाली जिल्ला जुम्लामा यही मङ्सिर महिनाको पहिलो सातादेखि सामुदायिक विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्दै आएका छन् । कानका सुन्दरी मावि लुडकुमा अध्ययनरत विद्यार्थीले आधा ‘कोर्ष’ पढेर परीक्षामा सहभागी हुनुपरेको गुनासो गरेका छन् । उक्त विद्यालयमा आजबाट वार्षिक परीक्षा सञ्चालन गरिएको छ । विज्ञान र लेखा विषयबाहेक अन्य विषयको कोर्ष पूरा नहुँदै वार्षिक परीक्षामा सहभागी हुनुपरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी पुजनकुमार उपाध्यायले बताए ।

पूरा कोर्ष पढ्न नपाई परीक्षामा सहभागी हुनुपर्दा आधा प्रश्न छोड्नुपरेको उनले गुनासो गरे । विद्यालयमा शिक्षक नियमित उपस्थित नभएका कारण आधा कोर्ष मात्र पढाइ भएको उनको भनाइ छ । अघिलो वर्ष लेखा र विज्ञान विषयको मात्रै कोर्ष पूरा भएको थियो । उनले भने, ‘यो वर्ष पनि सोही विषयबाहेक अरु विषयका आधा कोर्ष पढेर परीक्षामा सहभागी हुँदैछौँ ।’ अर्का विद्यार्थी प्रेमप्रसाद उपाध्यायले परीक्षामा अलमलिने गरेको बताए । केही प्रश्नहरु नपढेको पाठबाट आउने गरेको उनले गुनासो गरे । कोर्ष पूरा नहुँदै दिएको परीक्षाको परीक्षाफल राम्रो नहुने चिन्ताले पिरोल्ने गरेको उनको भनाइ छ ।

यता कानकासुन्दरी मावि लुडकुका प्रधानाध्यापक लोकेन्द्रप्रसाद उपाध्यायले शिक्षकको अनुपस्थितिले पूरा कोर्ष पढाइ नभएको बताए । विभिन्न कामले शिक्षकहरू बिदामा बसेका कारण विद्यार्थी आधा पढ्दै परीक्षामा सहभागी हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । कुनै पनि वर्ष जुम्लामा पूरा कोर्ष पढाइ भएको ‘रेकर्ड’ छैन ।

कुनैकुनै विषयका कोर्ष पूरा भए पनि, मुख्य विषय गणित, अङ्ग्रेजी, विज्ञानलगायतका गाह्रो विषयका कोर्ष पूरा हुने गरेका छैनन् । अभिभावकले पनि आफ्नो छोराछोरीको पढाइ कस्तो भइरहेको छ भनेर विद्यालयमा आएर चासो नदिएका कारण समयमै कोर्ष पूरा नभएको शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्कर बहादुर भण्डारीले बताए ।

कोर्ष पूरा नभई जुम्लामा वार्षिक परीक्षा हुने गरेको कुरा स्वीकार गर्दै भण्डारीले दरबन्दीअनुसारका शिक्षक नभएका कारण पनि समस्या भएको बताए । स्थानीय सरकार र विद्यालय व्यस्थापन समितिले बेलाबेला अनुगमन गरी कोर्ष पूरा गराउन शिक्षकलाई सुझाव दिनुपर्ने भण्डारीको भनाइ छ ।

प्रतिक्रिया