अतिक्रमणविरुद्ध संस्कृतिकर्मी

काठमाडौं । भारतले नेपालको भूमि अतिक्रमण गरेको विरुद्धमा नेपालका कलाकार, साहित्यकार, नाट्यकर्मी, संगीतकर्मी, चलचित्रकर्मी लगायतका संस्कृतिकर्मी एकजुट भएका छन् ।

बिहीबार नेपाल ल क्याम्पसमा सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान नेपालले आयोजना गरेको कार्यक्रममा उनीहरूले भारतले सार्वजनिक गरेको नक्शामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र समेटिएकोप्रति विरोध जनाउँदै अविलम्ब फिर्ता गर्न आग्रह गरेका छन् ।

गत सोमबार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जनसांस्कृतिक महासंघ नेपाल, प्रतिपक्षी नेपाली कांग्रेसको नेपाल सांस्कृतिक संघ, समाजवादी फोरमको समाजवादी सांस्कृतिक महासंघ र जनमोर्चा नेपाल सम्बद्ध रक्तिम सांस्कृतिक अभियानको अग्रसरतामा ‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ गठन गरिएको थियो ।

भेलामा संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बाँस्कोटाले सीमा अतिक्रमण अत्यन्तै संवेदनशील विषय भएको बताए । उनले छिमेकीले छिमेकीलाई गर्ने व्यवहार गर्न भारतलाई आग्रह गरे । उनले भने, ‘छिमेकीको यो दुस्प्रयासमा सारा नेपाली एकजुट भएर सजगताका साथ पाइला चाल्नुपर्दछ ।’

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल आमा अफ्ठयारोमा परेको बेला सबै नेपाली एकसाथ भएर सीमा रक्षार्थ लाग्नुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष राधेश्याम लेकालीले भारतले सीमा अतिक्रमण गरेका लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका देशका अन्य स्थानमा पनि समाधान खोजिनुपर्नेमा जोड दिए । उनले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

कवि भूपाल राईले संस्कृतिकर्मीको हतियार भनेकै उनीहरूका सिर्जना भएको बताउँदै भने, ‘सर्जकले आफ्ना सशक्त सिर्जनामार्फत आवाज बुलन्द गर्नुपर्दछ ।’ लेखक तथा कवि तेजविलास अधिकारीले देश दुखिरहेका बेला सबै स्रष्टा सामूहिकरूपमा अभियानमा आवद्ध भएर दबाब दिनुको विकल्प नभएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले देशभक्तिपूर्ण यो आन्दोलनमा देशका सबै राजनीतिक दल, जनता, संस्कृतिकर्मी एकठाउँमा भएका बेला सरकारले सीमा समस्या हल गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक दललाई सांस्कृतिक रूपमा बलियो बनाउँदै देशको विकास र समृद्धिमा अग्रसर हुन र राष्ट्रियताका पक्षमा खरो उत्रिन संस्कृतिकर्मीले पहल लिनुपर्दछ ।’

नेकपाका केन्द्रीय सदस्य गोपाल ठाकुरले देशको सीमा बचाउन सबै दल, नागरिक तथा संस्कृतिकर्मी एकठाउँमा उभिनुपर्ने धारणा राखे । प्रगतिशील लेखक संघ (प्रलेस) का उपमहासचिव आरसी न्यौपानेले ऐतिहासिक प्रमाणका आधारमा सरकारले कुटनीतिक पहलमार्फत सीमा समस्या हल गर्नुपर्ने बताए । उनले नेपालका लेण्डुप दोर्जेका कारण सीमा समस्या आएको जिकिर गर्दै भने, ‘यो न्यायिक आन्दोलनलाई निष्कर्षमा पु¥याउन कला, साहित्यमार्फत अभियान छेडिनुपर्दछ ।’

उक्त कार्यक्रममा नेपाल सांस्कृतिक संघका महासचिव कलाकार शिवशंकर रिजालले भारतले नेपालका थुप्रै स्थानमा भूमि अतिक्रमण गरेको बताउँदै मिचिएको भूमि फिर्ता ल्याउन सरकारले पहल लिनुपर्ने धारणा राखे ।

लोकतान्त्रिक कलाकार शिवशंकर रिजाल, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, कलाकार भरत केसी, कलाकार नवल खड्का, नाट्यकर्मी पुर्खाजीत राई, जनवादी गायक रामेश, माधव प्रधान, कलाकार मोहन निरौला, कलाकार रामेश्वर बुर्लाकोटी, नौमति बाजा अभियानकी संयोजक जानुका पौडेल, गायिका मधु गुरुङ, किराी सांस्कृतिक परिवारका अध्यक्ष राकेश किराती, चलचित्रकर्मी शंकर पाण्डे, कलाकार प्रदीप देवान, पोषण अधिकारी, प्रेमनाथ अधिकारी, चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, कवि तथा कलाकार डम्बर पहाडी, रक्ति सांस्कृतिक अभियानका सचिव हेमराज आश्रम, नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापा, समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष घनराज सुब्बा लगायतका संस्कृतिकर्मीले सरकारले कुटनीतिक तथा राजनीतिक संवादमार्फत सीमा समस्या हल गर्न आग्रह गरे ।

नेकपाका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका संयोजक खगेन्द्र राईले अतिक्रमित नेपालको भूमि भारतले अविलम्ब फिर्ता गर्नुपर्ने बताउँदै मातृभूमिको रक्षार्थ सबै संस्कृतिकर्मी गोलबन्द हुँदै सांस्कृतिक जागरण ल्याउनुपर्ने बताए । उनले सीमा समस्या कुटनीतिक पहलद्वारा सरकारले हल गर्नुपर्ने बताए ।

अभियानका संयोजक समेत रहेका राईले आइतबार पत्रकार सम्मेलन गर्ने, ९ गते भारतीय दूतावासमा विरोध पत्र दिने, सरकार तथा सबै राजनीतिक दललाई ज्ञापन पत्र दिने तथा सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रममार्फत स्रष्टाले विभिन्न विरोधका कार्यक्रम गर्ने जनाए ।

प्रतिक्रिया