मदिरा पिउन सीमा क्षेत्रमा भारतीयको भीड

वीरगञ्ज । भारतको बिहारमा मदिरा प्रयोग तथा बिक्रीवितरणमा प्रतिबन्ध लागेपछि मदिरा पिउन भारतीयहरूको पर्साको सीमावर्ती क्षेत्रमा भीडभाड बढ्दै भएको छ । पर्साको सीमा क्षेत्रमा रहेका रक्सी भट्टीहरूमा दैनिक रूपमा विहानदेखी अबेर रातीसम्म भीडभाड हुने गरेको कारण ती स्थानलगायत आसपासका वासिन्दा प्रभावित हुने गरेको पर्सा सीमावर्ती क्षेत्रका स्थानीयले गुनासो गरेका छन् ।

पर्साको ग्रामीण भेगमा पर्ने सीमावर्ती क्षेत्रमा खोलिएका मदिरा पसलका कारण चोरी, लुटपाट र अन्य आपराधिक घटना बढेपछि प्रदेश–२ सरकारले त्यसमा कडाई गर्ने निर्णय गर्दै गत जेठ महिनामा सीमा क्षेत्रमा खोलिएका मदिरा पसल बन्द गर्न निर्देशन दिएको भए पनि सीमावर्ती क्षेत्र र आसपास रहेको रक्सी भट्टीहरूमा अझ पनि भारतीय तथा नेपालीहरूको ओइरो लाग्ने गरेको पर्सा जानकीटोल निवासी अरुण यादवले बताए । भारतसँग सीमा जोडिएका पर्साको ग्रामीण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो लाग्ने गरेको कारण शान्ति सुरक्षामा समेत असर परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

रक्सी भट्टी बन्द हुनुको साटो दिनप्रतिदिन रक्सी भट्टीको संख्यामा वृद्धि हुँदै गएको र यसले एकदमै नकारात्मक असर परेको पर्सा पोखरिया पिपराविर्ताकी रिता देवीले बताइन् । उनले नेपाल तथा भारत जहाँका मानिसले पनि रक्सी सेवनपछि मात्तिने गरेका कारण बाटो हिँड्न असुरक्षित महसुस हुने, विभिन्न अपशव्द सुन्नुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।

भारतीयहरू घुमफिर तथा विभिन्न बाहानामा सीमा नाकाका पसलहरूमा मदिरा सेवनका लागि मात्रै आउने गरेको र मदिरा सेवनका लागि सीमानाका आसपास रहेका होटलहरूमा समेत वास बस्ने गरेका छन् । विहारका ग्राहकलाई लक्षित गरेर सीमा क्षेत्रमा खोलिएका रक्सी पसल बन्द गर्न प्रदेश सरकारले सीमा नाकाबाट एक किलोमिटरभित्र रहेको रक्सी पसल हटाइने निर्णय गरेको महिनौँ बित्दा पनि प्रभावकारी नदेखिएकोले यसको न्यूनिकरणका लागि विशेष ध्यान दिन सीमानाका आसपासका बासिन्दाले आग्रह गरेका छन् । सीमानाकामा मदिरा नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको र अनुमति बेगर खोलेका होटलहरू बन्द गराउनेतर्फ लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए ।

प्रतिक्रिया