आस्थाका आधारमा काम गर्दिनँः ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले राजनीतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगर्ने बताएका छन् । नवनियुक्त मन्त्री ढकाल र राज्यमन्त्री नवराज रावतले बिहीबारै पदभार ग्रहण गरेका हुन् ।

पदभार सम्हाल्दै मन्त्री ढकालले सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा सर्जन पठाउने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री ढकालले पदभार ग्रहण गरेलगत्तै बिहीबार स्वास्थ्य सचिव खगराज बराल र गुणस्तर तथा अनुगमन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहले अस्पताल र औषधिको गुणस्तरको रणनीति बनाउन फाइल उठाएका थिए ।

उनीहरूले रणनीति बनाउनका लागि कार्यदल बनाउने निर्णय स्वास्थ्यमन्त्रीका हैसियतमा गराउन खोजेका थिए । यता मन्त्री ढकालले तत्काल नबुझिने र कार्यान्वयन गर्न समय लाग्ने विषयमा थप अध्ययन जरुरी रहेको भन्दै फाइल नै फर्काएका थिए । उनले पहिलो निर्णय आफूले बुझिने नभएको भन्दै हस्ताक्षर नगरेपछि दोस्रो फाइल ल्याउन निर्देशन दिएका थिए ।

सोहीबमोजिम स्वास्थ्य सचिवले फाइल तयार पारेपछि सुर्खेतमा रहेको प्रादेशिक अस्पतालमा संघबाट दुई जना सर्जनलाई पठाउने निर्णय गरेका छन् । कर्मचारी समायोजनका क्रममा संघमा रहेका सर्जनहरूलाई प्रदेशमै रहेर काम गराउने निर्णय गरेका हुन् । स्वास्थ्य मन्त्रालय ११औँ तहका जनरल सर्जनद्वय डा. हरि सापकोटा र गणेश थापालाई प्रदेश अस्पतालमै रहेर काम गराउने मन्त्रीस्तरीय निर्णय गरिएको हो । उनीहरू संघमा समायोजन भएपनि कर्णालीमा सर्जनको अभाव भएकाले त्यहीँ बसेर काम गराउने निर्णय गराइएका हो ।

त्यस्तै मन्त्री ढकालले आफूले स्वास्थ्यलाई संवेदनशील मन्त्रालयको रूपमा लिएकोले हरेक निर्णय गर्नुअघि त्यसले जनस्तरमा पार्ने प्रभाव र हुने उपलब्धि बुझेर मात्रै गर्ने बताएका छन् । उनले भने, ‘म आफूले स्पष्ट नबुझी र त्यसको प्रभाव थाहा नपाई कुनै पनि निर्णयमा हस्ताक्षर गर्दिनँ ।’ उनले आफ्ना लागि स्वास्थ्य मन्त्रालय नयाँ भएकाले बुझेर मात्र कामको प्राथमिकता तय गर्ने बताएका हुन् । उनले भने, ‘स्वास्थ्य प्रत्यक्ष जनतासँग जोडिएको संवेदनशल मन्त्रालय हो, त्यसैले यसमा शुरुमा मैले केही बुझ्नैपर्छ ।

सचिव लगायत महाशाखा र शाखा प्रमुखहरूलाई बोलाएर छलफल गर्छु, सबै कुरा बुभ्mछु र त्यही अनुसार अघि बढ्छु ।’ उनले छलफलका लागि बिहान ८ बजे नै कार्यालय आउन पनि निर्देशन दिएका छन् । १० बजेपछि सेवाग्राही आउँने हुँदा उक्त समयभन्दा पहिल्यै बसेर छलफल गर्नको लागि चाँडै आउन निर्देशन दिएका हुन् । स्वास्थ्यको प्रणाली बुझ्नुपर्ने भएकाले केही समय छिट्टै मन्त्रालयमा हाजिर हुन भनेका हुन् । आफूले जति छिटो बुझ्यो, त्यति नै मन्त्रालयको काम कारबाहीमा सहज हुने बताएका छन् ।

उनले मन्त्रालयअन्तर्गतका सबै कार्यालयको समस्या स्थलगत रूपमै बुझ्ने बताएका छन् । ‘वीर अस्पतालको समस्या त्यहीँ गएर सुन्ने हो, पाटनको पाटनमै गएर बुझ्ने हो । उनले भने, ‘त्यसो गर्दा त्यहाँको माहोल र समस्या थाहा हुन्छ ।’ स्थलगत अनुगमन गरेर मात्रै आगामी कार्ययोजना बनाउँदै अघि बढ्ने बताएका छन् । स्वास्थ्यमा भएको खास समस्या बुझेर सबैका कुरा सुनेर त्यसबाट आएको सुझाव सूत्रवद्ध गर्दै अगाडि बढ्ने सुनाए ।

त्यस्तै एक अर्को प्रसंगमा मन्त्री ढकालले राजनीतिक आस्थाका आधारमा काम गराउँछु भन्ने सोच लिएर मन्त्रालयमा नआउन आग्रह गरेका छन् । ‘राजनीतिक आस्थाका आधारमा काम लिएर आउने सोच नबनाउँदा हुन्छ । उनले थपे, ‘हामी सबैले मिलेर समान ढंगले गुणस्तरीय काममा जोड दिने हो ।’ उनले कर्मचारीको समायोजनको काम टुंगोमा पु¥याउन अगुवाइ गर्ने पनि बताएका छन् । सिंहदरबार बाहिर रहेको मन्त्रालयको जटिल समस्या समाधान गर्न भनेर सरकारले आफूलाई पठाएको भन्दै उनले स्वास्थ्यका समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताए ।

कानुन मन्त्रालयमा बसेर स्वास्थ्यको ऐन–कानुन बनाउने काम गरेकाले नीतिगत निर्णय गर्ने विषयमा द्विविधा नहुने उनको भनाइ छ । ‘स्वास्थ्यसँग कानुन–नियम अनुसार निर्णय गर्ने कुरामा मलाई कुनै अप्ठ्यारो छैन । तर यो मन्त्रालयको ठूलो संरचना जनतासँग जोडिएकोले अपेक्षा ठूलो छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कानुन मन्त्री रहेका ढकाललाई स्वास्थ्यको जिम्मेवारी दिएका थिए । यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रुपमा रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया