सकियो लुम्बिनी न्युज फेस्टिभल

बुटवल । १ देखि ३ मंसिरसम्म लुम्बिनीमा जारी लुम्बिनी न्युज फेस्टिभल सकिएको छ । ‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका साथ पत्रकारिताको इतिहासमा पहिलोपटक आयोजना गरिएको लुम्बिनी न्युज फेस्टिभल–२०७६, १६ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको हो । लुम्बिनी प्रेस क्लबको आयोजनामा भएको फेस्टिभलमा देशभरका तीन सयभन्दा बढी विभिन्न सञचार गृहहरूका प्रमुख, सम्पादक तथा पत्रकारले सहभागिता रहेको थियो ।

उक्त फेस्टिभलमा पत्रकारिताका चुनौती र भविष्यको बाटो, संघीयतामा रेडियो, संघीयतामा न्यु मेडिया, पत्रकारितामा स्टोरी टेलिङ, लुम्बिनी सम्पदा, समृद्धि र समाज, लुम्बिनी भ्रमण वर्ष २०७६ र प्रचारप्रसारको प्रभाव, पत्रकारितामा के लेख्ने र कसरी लेख्ने, संघीयतामा टेलिभिजन, संघीयतामा समावेसी सञ्चारजस्ता विभिन्न १७ वटा सेसनहरू सञ्चालन गरिएको थियो । भने न्युज फेस्टिभलका क्रममा रामग्राम र तिलौराकोटको अध्ययन अवलोकन गरिएको थियो ।

सूचनाको हकसम्बन्धी कानुनलाई प्रेस जगतमा सीमित नराखी जनताका अन्य मौलिक अधिकारको प्राप्ती तथा जनअधिकारको रूपमा परिमार्जन गरी सूचनालाई पहुँचसँग, पहुँचलाई विकाससँग, विकासलाई समृद्धीसँग गास्ने मूलआधार बनाउनुपर्ने फेस्टीभलको निष्कर्ष रहेको छ । त्यसैगरी सञ्चार माध्यमले आमजनमानसको सोचमा प्रभाव पार्ने, पारदर्शिता सिर्जना गर्ने र चेतना बढाउने तथा सामाजिक कुरितिसँग लड्न सक्ने क्षमता राख्ने कुरामा कुनै विवाद नभएको र नेपालमा राजनीतिले समाजका अन्य कुराभन्दा प्राथमिकता पाउँछ सञ्चार क्षेत्र पनि यसबाट भिन्न नभएको उल्लेख गरिएको छ ।

निष्कर्ष पत्रमा नेपालको राष्ट्रियता, एकता, भौगोलिक अखण्डता तथा सार्वभौमिकता प्रति सदैव राष्ट्रिय सहमति कायम गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक वर्ग, बुद्धिजीवी, पत्रकार, गैरसरकारी संस्था एवं सर्वसाधारण नेपालीलाई आह्वान गरिएको छ । सरकारद्वारा सञ्चालित सञ्चार माध्यमहरूको पुनर्संरचना गरी ग्लोबल तथा नाफामुखी मिडियाको दुष्प्रभाव र एकाधिकार घटाउने, अर्को प्रभावकारी उपाय साना, स्थानीय सामुदायिक तथा जनताद्वारा सञ्चालित मिडियाहरूलाई संरक्षण र प्रोत्साहन गर्ने नीति अबलम्बन गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई महोत्सवले आग्रह गरेको छ ।

न्युज फेस्टिभलमा पत्रकारहरूले भोग्नुपरेको समस्या, पत्रकारहरूको पारिश्रमिक, संघीय संरचनामा सञ्चार गृहहरूको भूमिका र न्यु मिडियाको रूपमा आएको अनलाइन पत्रिकाहरूको भविष्य र विश्वसनीयताको बारेमा समेत सञ्चार क्षेत्रमा लामो अनुभव प्राप्त गरेका विज्ञ र सञ्चार गृहहरूका सम्पादक तथा प्रमुखसँग छलफल तथा अन्तरक्रियाबाट अन्तिम निष्कर्ष पत्र तयार गरिएको हो ।

प्रतिक्रिया