बढ्दै बालअधिकार हननका घटना

काठमाडौं । नेपालमा बालबालिकामाथि यौनजन्य हिंसा दिनानुदिन बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जबरजस्ती करणी बेचबिखन, बालविवाह, घरेलु हिंसालगायतबाट बालबालिका प्रभावित भएको प्रतिवेदनले देखाएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा बालअधिकार हननको घटना बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको हो । ‘नेपालमा बालबालिकाको स्थिति’ प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५÷७६ मा जबरजस्ती करणीबाट देशभर एक हजार चार सय २० बालिका पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । गतवर्ष नौ सय ९५ वटा उजुरी दर्ता भएको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा चार सय २५ ले बढेको नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७६ ले देखाएको छ ।

यसरी प्रदेशगत रूपमा हेर्दा प्रदेश–१ मा सबैभन्दा बढी तीन सय सय ५४ यौन हिंसाका उजुरी दर्ता भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ८३ वटा उजुरी दर्ता भएको छ । दुई सय ८८ बालबालिका हराएको र एक सय ९५ फेला परेको तथ्यांकमा उल्लेख छ । बेचबिखन,बालविवाह, घरेलु हिंसाबाट चार सय ८१ जनाबालबालिका प्रभावित भएका देखिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले नेपालमा वर्सेनी बाल अधिकार हननका घटना बढ्दै गएको जानकारी दिइन् । उनले हाल दुई हजार तीन सय ३० जना बालबालिका हराइरहेको उल्लेख गर्दै उनीहरूको अवस्थाबारे सरकार समेत बेखबर रहेको बताइन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यसबारे गैरसरकारी संस्थाहरूले पनि वास्ता नगरेको आरोप लगाइन् ।

आयोगले बाल अधिकार हननका घटना हुन नदिन अर्बांैको डलर देश भित्र्याए पनि उनीहरूको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको उनको टिप्पणी थियो ।

प्रतिक्रिया