अकालमै मृत्युको चौथो कारण सिओपिडी

काठमाडौं । विश्वमा दीर्घकालीन रोग श्वास प्रश्वास साँघुरिने ‘क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज’ (सिओपिडी) बाट वार्षिक ३१ दशमलव ७ लाख मानिसले ज्यान गुमाइरहेका छन् । ‘सबै मिली दीर्घ श्वास प्रश्वास रोग अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ बुधबार मनाइएको विश्व सिओपिडी दिवसका अवसरमा उक्त जानकारी दिइएको हो ।

त्यस्तै अकालमै ज्यान जाने मध्येको चौथो कारण सिओपिडी बनेको वीर अस्पतालका चेस्ट युनिट प्रमुख डा. अशेष ढुंगानाले बताए । दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा विशेषज्ञहरुले सन् २०३० सम्म अकालमा मृत्यु हुने तेस्रो प्रमुख कारण बन्न सक्ने अनुमान गरेका छन् । कार्यक्रममा डा. ढुंगानाले विश्वभर २५ करोड मानिस सिओपिडीबाट प्रभावित भएको बताए ।

उनले नेपालमा १० जना मानिसमध्ये एक जनामा सिओपिडी दम भएको विज्ञहरूले उल्लेख गरे । नेपालमा करिब १२ प्रतिशत जनसंख्यामा सिओपिडी रहेको एक अनुसन्धानले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भारका विषयमा गरेको देशव्यापी अध्ययनले सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा रहेको देखाएको छ । परिषद्ले ४ वटा नसर्ने (सिओपिडी, मधुमेह, मिर्गौला र मुटु) रोगका विषयमा देशव्यापी रूपमै १३ हजार २ सय जनामा अनुसन्धान गरेको थियो । परिषद्ले सबै प्रदेशका मानिसमा अनुसन्धान गरेको हो ।

चार रोगमध्ये सबैभन्दा बढी सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशत, मधुमेह ८ दशमलव ५, मिर्गौला ६ प्रतिशत र मुटुरोग २ दशमलव ९ प्रतिशतमा रहेको अनुसन्धानले गरेको अध्ययनमा छ । अनुसन्धानमा श्वासप्रश्वास सम्बन्धी रोग सिओपिडीको भार सबैभन्दा कम गण्डकी प्रदेशमा ६ दशमलव शून्य प्रतिशत र सबैभन्दा बढी कर्णाली प्रदेशमा २५ दशमलव १ प्रतिशत भेटिएको छ ।

डा. ढुंगानाका अनुसार सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको जीर्ण प्रकारको श्वासनली साँघुरिने रोग हो । सीओपीडी रोग लाग्नुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदूषण, घरको धुँवा, रसायानिक पदार्थ मिसिएको धुँवाको मुस्लोले यो रोग गराउँछ । त्यसैले लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धुँवा तथा वायु प्रदूषणमा रहने व्यक्ति (ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन् । यस समस्याबाट जोगिन धूमपानदेखि टाढै रहनुपर्ने वीर अस्पतालका निमित्त निर्देशक डा. विष्णुदत्त पौडेलले जानकारी दिए ।

कार्यक्रममा प्रदूषणबाट जोगिन बाहिरी वातावरणमा निस्कँदा मास्क लगाएर मात्र निस्कन चिकित्सकले सुझाव दिएका छन् । सिओपिडी दम एउटा श्वासप्रश्वाससँग सम्बन्धित दीर्घकालीन रोग हो ।

सरकारले नसर्ने रोग नियन्त्रण कार्यक्रमका लागि वार्षिक ८ करोड खर्च गर्दै आएको छ । प्रदेशअनुसार १ करोडका दरले ७ करोड र केन्द्रमा ९५ लाख विनियोजन भएको स्वास्थ्यसेवा विभागले जनाएको छ ।

करिब ३४ लाख नेपालीमा सिओपीडी रोग रहेको अनुमान गरिएको छ । यसमध्ये सही उपचारपद्धतिको अवलम्बन गर्नेको संख्या ५० हजार मात्र रहेको तथ्यांकले देखाएको छ । सिओपिडीको उपचारपद्धतिबारे जनमानसमा व्याप्त भ्रमका कारण बिरामीको ठूलो हिस्सा उपचारपद्धतिमा समेटिन नसकेको विशेषज्ञ चिकित्सकहरुको भनाइ छ । डा. ढुंगानाका अनुसार सिओपिडीको सबैभन्दा प्रभावकारी उपचारपद्धति इन्हेलर हो । उनले भने, ‘इन्हेलर पद्धतिमा श्वासप्रश्वासको माध्यमबाट सिधै फोक्सोमा औषधि पु¥याइन्छ । कुल बिरामीको ३ प्रतिशत मात्रै यो उपचारपद्धतिमा आबद्ध छन् ।’

नेपालमा प्रत्येक तीन जनामध्ये एक जनाले धुम्रपान गर्छन् । विश्वको पाँचौँ वायु प्रदूषण भएको देश नेपालमा वर्षेनी १० हजार नेपालीले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन् ।

प्रतिक्रिया