दाङमा उपनिर्वाचनको लागि सुरक्षा रणनीति तयार

दाङ । जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ ।

उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । कूल २६ मतदानस्थललाई संवेदनशील र दुई मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ । सोही संवेदनशीलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालनसँगै कार्यसम्पादनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।

दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाइने उनले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ९ख० मा ३२ र घोराही उपमहानगरपालिका वडा नं १६ मा दुई गरी ३४ मतदानस्थल तथा प्रदेशसभामा ७७ र घोराही–१६ मा पाँच गरी ८२ केन्द्र निर्धारण गरिएका छन् । वडा नं १६ मा अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यसैबीच जिल्ला सुरक्षा समितिले निर्वाचन हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न शुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दङ्गीशरणका मतदानस्थलको अनुगमन गरिएको छ । मङ्सिर १४ नजिकिँदै गर्दा जिल्ला सुरक्षा संयन्त्रले दाङमा निर्वाचन हुने केन्द्रको स्थलगत अनुगमन तथा अवलोकनलाई तीव्र पारेको छ ।

प्रतिक्रिया