लताको स्वास्थ्यमा सुधार

मुम्बई । ‘सर्वश्रेष्ठ गायिका’ को सम्मान पाएकी भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बताएको छ ।

श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई एक साताअघि मुम्बईस्थित ब्रीच केन्डी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । केही दिनअघि केही समाचार माध्यम तथा सामाजिक सञ्जालमा उनको निधन भएको समाचार भाइरल भएको थियो । परिवारका एक सदस्यका अनुसार ती समाचार गलत थिए ।

९० वर्षीया गायिका लता बिरामी भएपछि विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गरिएको थियो । उनले यसै वर्ष आफ्नो ९० औँ जन्मदिन मनाएकी थिइन् । उनले सन् २००१ मा सर्वोच्च भारतको नागरिक भारतरत्न सम्मान पाएकी थिइन् । उनले ३६ भारतीय भाषामा आफ्ना गीतहरू रेकर्ड गराएकी छन् । उनका नाममा अन्य कैयौँ प्रख्यात अवार्डहरू पनि छन् । सन् १९४८ देखि १९७४ बीच उनले २५ हजारभन्दा धेरै गीत गाएकी थिइन् । उनले हालसम्म ३० हजारभन्दा बढी गीत गाइसकेकी छन् ।

प्रतिक्रिया