सिटी बसपार्क सञ्चालमा ढिलाइ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गरिएको सिटी बसपार्क अभैm सञ्चालनमा आएको छैन । अत्याधुनिक सुविधासहितको सिटी बसपार्क निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा पनि सञ्चालनमा नआएको हो । बसपार्क सञ्चालनमा नआउँदा यातायात व्यवसायी, चालक र सर्वसाधारण सबैलाई सास्ती हुँदै आएको जनगुनासो आएपछि आउँदो पुस महिनादेखि सञ्चालनमा ल्याउने तयारी भइरहको छ ।

१५ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीले पटकपटकको म्याद थपसँगै चार वर्ष लगाएर अत्याधुनिक संरचना सहितको बसपार्क गएको जेठमा सम्पन्न भएकोे थियो । बसपार्क सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकाले कार्यविधि त पारित गरिसकेको जनाएको छ । तर, विभिन्न कानुनी बाधाका कारण सञ्चालन हुन नसकेको नगरपालिकाले जनाएको थियो । नगर कार्यपालिकाको बैठकले कार्यविधि पारित गरेसँगै अब पुसबाट यो बसपार्क सञ्चालनमा आउन लागेको हो ।

सिटी बसपार्क १५ महिनामा बनिसक्नुपर्नेमा चार वर्ष लागेको र निर्माण सकिएपछि पनि सरोकारवाला र जिम्मेवारहरूको ध्यान नजाँदा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको थिएन । अब भने बसपार्क सञ्चालनका लागि टेन्डर आह्वान हुनेछ । निजी फर्ममार्फत बसपार्क सञ्चालन गर्ने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

निर्माण कम्पनी चाङ्मिला÷नरसिंह जेभी र नगर विकास समितिबीच ०७२ माघमा सम्झौता भएको थियो । कर्णाली प्रदेशको राजधानी बनेसँगै वीरेन्द्रनगरमा सुविधा सम्पन्न बसपार्क नहँुदा सुर्खेतबाट सञ्चालित बस, यातायात कर्मचारी तथा यात्रु लगायतले अनावश्यक सास्ती भोग्नुपर्ने बाध्यता थियो । तोकिएको समयमा काम नहुँदा बसपार्कको लागत अनुमानभन्दा ६२ लाख रुपैयाँ बढी खर्च भएको छ ।

७ करोड ४४ लाख रुपैयाँको लागतमा बसपार्कको निर्माण कार्य सकिएको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । उनका अनुसार नगर विकास कोषको ७ करोड ४५ लाख रूपैयाँ ऋण अनुदानमा बसपार्क निर्माण गरिएको हो । बसपार्क सञ्चालन भएपछि वीरेन्द्रनगर नगरपालिकाले कोषको ऋण रकम तिर्ने सम्झौता छ ।

उक्त बसपार्कमा ६४ व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टर लगायतका संरचना छन् । बसपार्कको कुल क्षेत्रफल ४ हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको छ । बसपार्कमा साना–ठूला गरी १ सय २० बस अट्न सक्ने क्षमता रहेको छ ।

तर, वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेसँगै र दिनानुदिन थपिँदो सवारी साधनको संख्यालाई हेर्दा बसपार्क साँघुरो हुने देखिन्छ ।सिटी बसपार्कमा यातायात व्यवसायीहरुलाई टिकट काउन्टर राख्ने कोठाहरू गोलाप्रथाबाट बाँडिएको छ । जिल्लामा रहेका विभिन्न ११ वटा यातायात प्रालीलाई काउन्टर राख्न कोठा उपलब्ध गराइएको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया