‘कालापानी हाम्रै हाे’

काठमाडौं । कालापानीसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्रीले सो भूमि विवाद भारतको भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान भनेपछि भारतको यो भनाइ आएको हो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले भारतीय मिडियाहरू तरंगित भएका छन् । उनको भनाइलाई पनि प्राथमिकता दिएर छापेपछि उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले कालापानी भारतमै पर्ने दाबी गरेका हुन् । यद्यपि उनले कुन आधारमा भारतको हो भनेर केही खुलाउन भने सकेका छैनन् ।

भारतीय सञ्चारमाध्यम अमर उजालासँग कुरा गर्दै मुख्यमन्त्री रावतले भनेका छन्, ‘कालापानी क्षेत्र भारतको हिस्सा हो र त्यो सधैँ भारतमै रहन्छ ।’ भारतको राजनीतिक स्तरबाट आएको यो पहिलो अभिव्यक्ति हो । अहिलेसम्म भारतले विवादित कालापानीका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

जम्मु र कश्मीरलाई छुट्टै राज्यको मान्यता दिएपछि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूभाग समेटिएपछि व्यापक विरोध प्रर्दशन भइरहेको छ । नेपालमा पछिल्लो पटक भारतविरोध प्रर्दशनले दिनदिनै प्राथमिकता पाइरहेका छन् । प्रधानमन्त्री ओलीले समेत कालापानी, लिपुलेक र लिम्पियाधुरा आपूmहरूको भूमि भएकाले त्यहाँबाट छिमेकीले आफ्ना सेना फिर्ता लैजानुपर्ने बताएका थिए ।

सोही कुरालाई लिएर मुख्यमन्त्री रावतले कालापानी भारतको भएको दाबी गरेका हुन् । उनले नेपालले उठाईरहेको कुरा चिन्ताजनक भएको पनि प्रतिक्रिया दिएका छन् । यद्यपि यो विषयलाई वार्ताको माध्यमबाट समाधान गर्ने प्रतिक्रिया दिए । ‘जुन विषय नेपालले उठाइरहेको छ । त्यो वार्ताको माध्यमबाट समाधान खोजिनेछ,’ मुख्यमन्त्री रावतले भनेका छन् ।

उनले नेपाल भारतको मित्रराष्ट्र भएकाले वार्ताकै माध्यमबाट समस्या समाधान निस्कने आशा व्यक्त गरेका छन् । उनले नेपालको कार्य संस्कृतिप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीको अभिव्यक्तिको पनि विरोध गरेका छन् । ‘नेपालको कार्यसंस्कृति यस्तो होइन कि ऊ यसरी वार्ता गरोस्’, मुख्यमन्त्री रावतले भने ।

भारतले लामो समयदेखि नेपालको कालापानी क्षेत्रमा ओगटेर आफ्ना सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरेको छ । भारतले नेपालका गुन्जी, नाबी र कुती गाँउमा अतिक्रमण गरेको हो । स्थानीयले बताएअनुसार त्यहाँका बुढापाकाको अझै पनि नेपाली नागरिकता रहेको छ । तर, अधिकांश युवापिँढीले भने भारतीय नागरिकता(आधारकार्ड) बनाएका छन् । भारततर्फबाट सेवासुविधा लिन सजिलो भएपछि उनीहरूले सो गरेको स्थानीयको भनाइ छ ।

भारतले भने अहिलेसम्म नेपालको भूमि नमिचेको मात्र आधिकारिक रूपमा बोलेको छ । उसले कालापानीको विषय उजार नगरेपनि भारतले जारी गरेको नक्सामा भारतीय भूभागमात्र स्पष्ट रहेको उल्लेख गर्दै आईरहेको छ । नेपाल र भारतबीच कयौँ ठाउँमा सीमा विवाद रहेका छन् । जसलाई समाधान गर्न सचिवस्तरीय टोली बनाएर काम भईरहेको छ । तर, सो टोलीलाई सुस्ता र कालापानीको अधिकार दिइएको छैन । यता, सरकारले पनि सो भूमि फिर्ता ल्याउने पटक पटक बताउँदै आए पनि कसरी ल्याउने भनेर योजना बनाउन सकेको छैन ।

प्रतिक्रिया