पंगेनिकै कार्यकालमा ठडियो प्रतिष्ठानको भवन

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आफ्नो केन्द्रीय भवन निर्माण सम्पन्न भएको छ । केन्द्रीय राजधानी टोखा नगरपालिका वडा नं– ७ तिलिङ्गाटार धापासीमा निर्माणधिन भवनको आइतबार उद्घाटन गरिएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उक्त भवनको उद्घाटन गरे । प्रतिष्ठानका वर्तमान अध्यक्ष बद्री पंगेनीको कार्यकालको अवधिमा भवन निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो ।

अध्यक्ष पंगेनीको नेतृत्वमा खडा भएको भवनले प्रतिष्ठान तथा नेपाली लोकदोहोरी क्षेत्रमा एउटा ठुलो इतिहास कायम गरेको छ । गत बैशाख २१ गते भवनको शिलान्यास गरी निर्माण कार्य सुरु गरिएको थियो । सुरु गरेको छोटो समयमै देश भरिकै लोकदोहोरी कलाकारहरुले आफ्नो साझा भवन पाएका छन् । गत बैशाखमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले उक्त भवनको शिलान्यास गरेका थिए ।

यसभन्दा अघि भाडामा केन्द्रीय कार्यालय चलाउँदै आएका कलाकारहरुले अब भने आफ्नै भवनमा कामकाज सुरु गरेका छन् । भवन निर्माणमा नेपाल सरकार, देशदेखि बिदेशमा रहेका सबै कलाकारलगायत विभिन्न ब्यक्तीहरुको सहयोगमा आर्थिक रकम जुटाएका थिए । भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर अधिकारीले कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै आफ्नै नगरपालिकामा भवन पनि निर्माण हुँदा खुशी ब्यक्त गरे ।

त्यसैगरी उनले सोही भवन निर्माणको लागि सरकारको तर्फबाट रु दश लाख बजेट पनि पारिदिएका थिए । कार्यक्रममा अध्यक्ष बद्री पंगेनीको प्रसंसा गर्दै उनले भने, ‘देशै भरिका कलाकारहरुको साझा भवन हाम्रो यही टोखा नगरपालिकामा खडा भएको छ, सुरु गरेको छोटो समयमै भवन निर्माण सम्पन्न गर्न बद्री जी को नेतृत्वमा सम्पूर्ण कलाकारहरु सफल हुनु भएको छ, आगामी दिनमा पनि मैले सक्ने ठाउँमा सहयोग गर्नेछु ।’

सोही क्रममा अध्यक्ष पंगेनीले भवन निर्माणमा आफ्नो नेतृत्व रहे पनि सबै कलाकारहरुको ठुलो योगदान रहेको बताए । विभिन्न माध्यमबाट आर्थिक रकम संकलन गरेर भवन निर्माण सम्पन्न गर्न महत्वपुर्ण भूमिका खेल्ने नेपाल सरकार, देशदेखि विदेशसम्म रहेका कलाकारहरु र विभिन्न व्यक्तिहरुलाई उनले धन्यवाद दिए । संस्थामा केही उदाहरणीय काम गर्छु भन्ने उदेश्यका साथ प्रतिष्ठानको छैठौं महाधिवेशनबाट अध्यक्षमा लडेर चुनाव जितेका पंगेनी संस्थाप्रति लागिपरेका थिए ।

उनको कार्यकाल भने यही मङ्सिर आठ गतेबाट सकिँदै छ । प्रतिष्ठानको ७औँ केन्द्रीय महाधिवेशन मङ्सिर ६, गतेदेखि सुरु भएर ८ गते पोखरामा सम्पन्न भएपछी अध्यक्ष पंगेनीले बिश्राम लिनेछन् भने संस्थाले अर्को नयाँ अध्यक्ष पाउनेछ । उद्घाटन कार्यक्रममा वरिष्ठ गायक नारायण रायमाझी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, इन्द्र जिसी, प्रेमराजा महत, अम्बर बिरही गुरुङलगायत धेरै कलाकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया