अतिक्रमणविरुद्ध साहित्यकार

काठमाडौं । नेपाली भूमिमाथि भारतीय अतिक्रमणको विरुद्धमा स्रष्टाले सिर्जनामार्फत विरोध जनाएका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५औँ शान्ति काव्य प्रवाहमा कविले नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै विरोध गरेका हुन् । उनीहरूले कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान मागसमेत गरेका छन् ।

कार्यक्रममा कविहरूले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेका थिए । काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित ‘मेरो सम्झना’ मा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले विमोचन गरे । सो अवसरमा कवि ज्ञानुवाकर पौडेल, डा. जीवन अधिकारी, रत्ननिधि रेग्मी, डा बमबहादुर थापा जिताली, रामबहादुर पहाडी, गंगा कर्माचार्य, त्रिभुवनचन्द्र वाग्ले, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा वनवासी, पुनम घिमिरे, विमला दाहाल, प्रकाशमणि दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, अतृप्त पाण्डेय, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गा किरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, रवीन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रवीन्द्र ढुंगेल, टेकबहादुर लौडारी, समाजका केन्द्रीय सदस्य सरस्वती ढकाल, संस्थापक सभापति पहाडीसहित ३८ कविले कवितावाचन गरेका थिए ।

यसैबीच नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर भारतले हालै सार्वजनिक गरेका नक्साले नेपालको सार्वभौमिकतामाथि हस्तथेप गरेका प्रगतिशील लेखक संघ नेपालले जनाएको छ । संघका केन्द्रीय अध्यक्ष डा.जीवेन्द्रदेव गिरीले नेपाली सार्वभौमिकतामाथि भारतले ठाडो हस्तक्षेप गरेको बताए । भारतीय हस्तक्षेपका विरुद्ध पछिलललो समय स्रष्टाहरू सिर्जना चरणबद्धरूपमा विरोधमा निस्कन थालेका छन् ।

सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधी लेखकीय मोर्चाका रूपमा स्थापित प्रगतिशील लेखक संघले ‘सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरू २०७६’ अभियानको घोषणासहित आइतबार रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शन गर्न लागेको प्रलेसका उपमहासचिव आरसी न्यौपाने बताए । उनले भारतले नेपाली भूमिमाथि हस्तक्षेप गरेका कारण स्रष्टाले सिर्जनामार्फत विरोध गरेको जिकिर गरे । संघका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कविता, गीत, नृत्यसहित आफूहरू सीमा अतिक्रमणको विरोधमा उत्रन लागेको जानकारी दिए । केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनसांस्कृतिक महासंघ नेपालले रत्नपार्कमा सांस्कृतिक तथा साहित्यिक प्रस्तुतिमार्फत अतिक्रमणको विरोध गरेको थियो ।

प्रतिक्रिया