पन्ध्रौँ शताब्दीदेखि चल्दै ‘भुस पोल्ने पर्व’

‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यौ कि देखेनौ’ शंखु (मूल) घरलाई फेरो मार्दै गाउँलेहरू गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजिकैको शंखुबारी पुग्छन् । शंखुुबारीको बीचमा रहेको ठूलो ढुंगालाई सहकालका देउता मानेर पुज्छन् । यो बाग्लुङमा मानिने एक प्रकारको पर्व हो जसलाई ‘भुस पोल्ने पर्व’ भनिन्छ ।

गुरूबा र गाउँका अगुवाले ढुंगाको छेउमा लिंगो ठड्याउँछन्, धूपबत्ती गर्छन् र त्यही जाँड चढाउँछन् । प्रकृतिका देउता ‘शंखुु’ को प्रतीकस्वरूप मूल घर र बारीलाईसमेत शंखुु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शंखुुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवाको बोलावट भएपछि युवतीहरू पनि कोदालोसहित शंखुुबारी आउँछन् ।

पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शंखुुबारीमा मेलो खन्न सुरु गर्छन् । यसलाई परम्परागतरूपमा ‘छापे खन्ने’ भनिन्छ । मेलो सकिएपछि युवायुवतीहरू एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन्, उनीहरूले खेती लगाएको सन्देश दिन्छन् ।

यो दृश्य हो बागलुङ, ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने ऐतिहासिक भुस पोल्ने पर्वको । पन्धौँ शताब्दीतिर चलेको मानिने यो पर्वको वर्णन यत्तिमा मात्र समेटिन्न । यो पर्वसँग जोडिएको छ, लामो कथा र गाथा । अर्गलमा बर्सेनि कात्तिक २४ गतेदेखि भुस पोल्ने पर्व सुरु हुन्छ । पर्वको रौनक भने कात्तिक अन्तिमसम्मै चल्ने गरेको छ ।

सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरूले पर्वको चलन बसालेका हुन् । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको स्थानीय बिर्बलाल घर्तीमगरले बताए ।

मगर भाषा तथा संस्कृति सम्बद्र्धन समितिका सचिवसमेत रहेका उनले व्यवस्थित खेती प्रणाली सुरू भएसँगै पर्वको थिति चलेको उल्लेख गरे । ‘भुस पोल्ने पर्व श्रम र उत्पादनसँग जोडिएको छ, यो प्रकृतिको पनि पूजा हो’, उनले भने । घर्तीमगरका अनुसार पर्वको पहिलो दिन कात्तिक २४ गते शंखुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पात, पतिंगर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भन्ने गरिन्छ ।

शंखुुघरका मूल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शंखुबारीमा पूजाआजा गरिन्छ । शंखुबारीमा उब्जेको जौ बाली शंखु (मूल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । झण्डै २५ वर्षदेखि स्थानीय अम्मरबहादुर थापामगरको घरलाई गाउँलेले शंखुुघर मान्दै आएका छन् ।

गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शंखुघर नामकरण गर्ने गरिएको छ । पहिले गाउँको मुुखियाको घरलाई शंखुुघर मान्ने चलन थियो । पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रूपमा बरखी (दुःख) उम्काउने चलन छ । कात्तिक २४ अघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा गर्दे आएका छन् ।

कात्तिक २४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने चलन रहिआएको छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाई दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।

मृतकको परिवारका तर्फबाट पनि सोहीअनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको स्थानीय अगुवा सूर्यबहादुर घर्तीमगरले बताए । यो वर्ष पर्वको मुख्य दिन २६ गते छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मिएका घरमा पुत्रबढाइँ सुरु भएको उनले बताए ।

‘पुत्र बढाइँको कार्यक्रम कात्तिकभित्रै गर्नुपर्ने चलन छ’, उनले भने, ‘पुत्र बढाइँ र सरस्वती पूजा गरेपछि बल्ल भुस पोल्ने पर्व सकिन्छ ।’ पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । उनले जंगली युगबाट कृषि युगमा प्रवेश गरेको दिनलाई शाखा–पुर्खाले भुस पोल्ने पर्वका रूपमा मनाउँदै आएको उल्लेख गरे ।

‘कात्तिक २४ गते अर्गलको शंखुुबारीमा भुस पोलेपछि ताराखोलाकै हिल र तारागाउँमा भुस पोल्ने गरिन्छ,’ उनले भने, ‘२६ गते अर्गलमा छापे खनेपछि सोही दिन राति हिल र २७ गते बिहान तारागाउँमा खन्ने चलन छ ।’ उनका अनुसार त्यसवेला अर्गलमा भुस पोलेको धुवाँ देखेपछि गाउँभरिका किसानले खेती गर्न सुरु गर्थे ।

पछिल्लो समय भुस पोल्ने पर्वको प्रवद्र्धन गरिरहेको अर्गल खेलकुद विकास मञ्चका संस्थापक सचिवसमेत रहेका सूर्यबहादुरले भुस पोल्ने पर्व आदिवासी जनजातिहरूको ऐतिहासिक दिन भएको धारणा राखे । ‘युग फेरिएको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाइने गरिएको छ,’ उनले भने ।

भुस पोल्ने पर्व अर्गलको मात्र नभई सिंगो ताराखोलाकै साँस्कृतिक तथा ऐतिहासिक धरोहरका रूपमा रहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गाउँपालिकाले पर्वका अवसरमा २६ गते मंगलबारका दिन सार्वजनिक विदासमेत दिइएको थियो । अध्यक्ष घर्तीमगरले परम्परागत मेला, पर्व र संस्कृतिको जगेर्नाका लागि आवश्यक सहयोग गर्न गाउँपालिका सधैँ तयार रहेको उल्लेख गरे ।

‘संस्कृतिको संरक्षण र पुस्तान्तरण हाम्रो मुख्य चुनौती हो,’ उनले भने– ‘हाम्रा पर्व, मेलाबारे खोज, अध्ययन गर्ने, वृत्तचित्र बनाउने काम सुरू भएको छ । तालिमलगायत प्रवद्र्धनात्मक कार्यक्रमको पनि योजना छ ।’ उनका अनुसार गाउँपालिकाभित्र एक वर्षमा १ सय ४५ दिन विभिन्न पर्व तथा मेला हुने गर्छ ।

यसपालिको भुस पोल्ने पर्व अवलोकनका लागि मंगलबार अर्गल पुगेका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताराखोला संस्कृति र प्रकृतिले धनी रहेको बताए । ‘यहाँका बासिन्दा जति मेला, पर्वमा रमाउनुहुन्छ, त्यति नै श्रमजीवी पनि हुनुहुन्छ,’ मन्त्री लम्सालले भने, ‘पर्यटकीय सम्भावनाका दृष्टिकोणले पनि ताराखोला अगाडि छ ।’ उनले स्थानीय ठाउँको समेत प्रशंसा गरे ।

उनले प्रदेश सरकारले संस्कृति संरक्षणको अभियानसमेत चलाएको उल्लेख गरे । प्रदेशका ११ वटै जिल्लामा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका गन्तव्य पहिचान गर्ने र तिनको प्रवद्र्धन गर्ने काम भइरहेको मन्त्री लम्सालले बताए । ताराखोलामा प्रचलित मेला, पर्वलाई पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ थियो ।

ताराखोला क्षेत्रमा ऐतिहासिक भुस पोल्ने पर्वसँगै सिस्नो खोस्ने, असारे, भदोरैजस्ता मेला÷पर्व प्रचलित छन् । त्यहाँका मगर समुदायले सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परालाई धान्दै आएका छन् । पन्धौँ शताब्दी ताका पाल्पाको अर्गलीबाट आएका मगरहरू अर्गलमा र डोल्पाको भोटबाट आएका मगरका पुर्खा तारागाउँमा बसोवास गरेको पाइन्छ ।

बा¥ह मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पोल्ने पर्व पनि लिएर आएको गाउँका अगुवाहरू बताउँछन् । वास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरू अर्गलमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ ।

पछिल्लो समय भुस पोल्ने पर्वकै अवसरमा अर्गल खेलकुद विकास मञ्चले खेलकुद तथा सांस्कृतिक कार्यक्रमसमेत राख्दै आएको छ । रैथाने मगरहरूको मौलिक पर्वमा विविधता थप्ने प्रयास गरिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताए । अर्गलमा पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगरको बसोवास रहेको छ ।

प्रतिक्रिया