खैराला गाउँमा गाडी पुग्दा खुसियाली

धनगडी । कैलालीको चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार क्षेत्रमा ट्रयाक खुलेको ११ वर्षपछि पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ ।

सुगम जिल्ला मानिने गर्भा दरबार क्षेत्रमा पहिलो पटक ट्रयाक खुलेसँगै गाडी पुगेपछि त्यहाँका स्थानयमा खुसियाली छाएको छ । भौगोलिक विकटताको समस्या झेल्दै आएका स्थानीयले पहिलो पटक सडक सञ्जालसँग जोडिँदै गाडी पुगेपछि हौसिएका छन् ।

गाडी पुगेपछि आवागमन र मालसामान ढुवानीको लागि सहज हुने भएकोले सर्वसाधारण खुसी भएका स्थानीय दुर्गा कँडेलले बताए । पूर्वपश्चिम राजमार्गको चौमाला सडक खण्डदेखि उत्तरी चुरे पहाड गर्भा दरबारसम्म पैदल हिँडेर एक दिन लाग्ने गरेकोमा सडक सञ्जाल जोडिएपछि अब दुई घण्टामै पुग्न सकिने भएको छ ।

चौमाला बजारदेखि झण्डै २२ किलोमिटरको दुरीमा रहेको गर्भा दरबार क्षेत्रसम्मको नेपाल सरकार र गाउँपालिकाको गरी झण्डै तीन करोडको लागतमा निर्माण गरिएको गर्भा दरबार रहेको वडाका वडाध्यक्ष कृष्ण मल्लले बताए ।

गाउँमा पुगेको सडकमा गाडी गुड्नथालेपछि त्यहाँ उत्पादित सुन्तला, अदुवा लगायतका कृषिजन्य वस्तुहरूले मूल्य पाउन थालेको मल्लले बताए । गत वर्ष ६० रुपैयाँ प्रति किलो सुन्तलाको मूल्य भएकोमा यस वर्ष बारीमै प्रतिकेजी सयमा बिक्री भएको स्थानीयले बताएका छन् ।

मोटर बाटोको ट्रयाक खुलेपछि गर्भादरबारसम्म साना सवारी साधन सजिलै गुड्न थालेका छन् । सडकको ट्रयाक खुलेपछि शुक्रबार गाउँपालिकाको अनुगमन टोलीले स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सडकको ट्रयाक खुलेपनि सडकका केही मोड जटिल भएकाले त्यसको स्तरोन्नती गर्नुपर्ने अवस्था देखिएको अध्यक्ष धनबहादुर रोकामगरले बताए ।

अनुगमन टोलीमा उपाध्यक्ष दीपादेवी साउँद, वडाध्यक्षहरू टेकबहादुर शाह, प्रेम साउद, नरबहादुर तामाङ, तारासिंह साउद, चुरे निर्माण सेवाका चक्रबहादुर बोगटी, प्राविधिक चन्द्रदेव भट्ट, पर्यटन व्यवसायी श्यामबहादुर महरा, पत्रकार लगायतको सहभागिता थियो ।

यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो क्षेत्रलाई प्रमुुख पर्यटकीय गन्तव्य स्थल बनाउन चुरे गाउँपालिकाले कार्ययोजना बनाउन जुटेको छ । यस क्रममा उक्त क्षेत्रको ऐतिहासिकता झल्किने खालको वृत्तचित्र(डकुमेन्ट्री) लगायतका प्रचार– प्रसार सम्बन्धी गतिविधि गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा बताउँछन् ।

बोहराले भने—‘ भ्रमण वर्षलाई लक्षित गरी चुरे गाउँपालिकामा रहेको आकर्षक कम्पासे धुरा,रातो माटो भएको नाङ्गो पहाड(रातो पहिरो),लगायतका पर्यटकीय क्षेत्रको प्रचार– प्रसारमा समेत जोड दिएका छौँ ।’

प्रतिक्रिया